एमालेको नेतृत्व कांग्रेसले नस्वीकार्ने

sushil-koirala1असोज १७ । काठमाडौं,  प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बतायो । प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो । ‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’
प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६:२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।

कांग्रेसले एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अस्वीकार गरेपछि राष्ट्रिय सहमतिको सरकार नबन्ने निश्चित भएको छ । राष्ट्रपति डा। रामवरण यादवले शुक्रबार एक साताभित्र सहमतिको प्रधानमन्त्री चुन्न संसद्लाई आह्वान गरेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने प्रधानमन्त्री र अध्यक्षबीच भेट भए पनि कुनै ठोस छलफल नभएको बताए । ‘सामान्य भेटघाट भयो, कुनै ठोस कुराकानी भएको होइन,’ एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका खड्काले भने ।

सहमतिको गृहकार्य छैन
राष्ट्रपति डा। रामवरण यादवले सहमतीय सरकारका लागि शुक्रबार सात दिनको समय दिए पनि दलहरूले त्यसतर्फ घनीभूत छलफल सुरु गरेका छैनन् । एकातिर मधेसवादी दलहरू आन्दोलनमा रहेको र अर्कातिर प्रमुख तीन दलबीच नै सहमतिको सम्भावना क्षीण भएका कारण नेताहरू सहमतिको सात दिनको समय कटाएर बहुमतको सरकार निर्माणको प्रक्रिया सुरु भएपछि बल्ल छलफललाई तीव्रता दिने मुडमा छन् ।

यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा भएको सातबुँदे र २५ जेठमा १६ बुँदे सहमति गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँँ सरकार बनाउने ‘भद्र सहमति’ भए पनि ओली आफैँले आफ्नो नाममा सहमतिका लागि औपचारिक रूपमा कुनै पहल गरेका छैनन् ।

एमाले भ्रातृ संगठन युवासंघको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले राष्ट्रिय सरकारको सम्भावना नरहेको बताए । ‘वेटिङ’ प्रधानमन्त्रीका रूपमा हेरिएका ओली स्वयंले सहमतिमा सरकार नबन्ने र बहुमतीय प्रक्रियाबाट भए पनि चाँडै नयाँ सरकार गठन हुने बताउनुले राष्ट्रिय सहमतिको गुन्जायस नरहेको प्रस्ट हुन्छ । तर, एमालेकै उपमहासचिव विष्णु पौडेलले भने कांग्रेससँग मिलेर सरकार बनाउँदादेखि नै सहमतिको प्रयास भइरहेको बताए । राष्ट्रिय सहमति भनेर पाँच सय ९८ कै सहमति नहुन सक्छ, तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने कुरामा कांग्रेस, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक यसअघि नै सहमत भइसकेको पौडेलले दाबी गरे ।

सहमतिको सम्भावना नदेखेकै कारण हुनसक्छ, त्यस्तो खालको सहमतिको प्रयासमा समय खेर फाल्ने ‘मुड’मा नेताहरू देखिँदैनन् । ‘भद्र सहमति’का कारण पनि आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको एमाले र भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओली नयाँ सरकार गठनका लागि दलहरूसँग संवाद गर्न छाडेर अन्य कार्यक्रममा व्यस्त छन् ।

शनिबार युवासंघको बैठकलाई सम्बोधन गरेर उनी काभ्रेमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगे । बहुमतीय प्रणालीबाट मात्रै सरकार गठन हुने बुझेका उनले अनौपचारिक रूपमा भने पनि आफ्नो नाममा भोट माग्न थालिसकेका छन् । केही दिनअघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई उनको निवासमै भेटेर भोट मागेका उनले अरू केही साना दलका नेताहरूसँग पनि फोनमा एकसरो कुराकानी गरिसकेको स्रोतको दाबी छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावी प्रधानमन्त्रीका रूपमा ओलीको नाम प्रस्ताव गरिसकेको अवस्थामा ओली आफैँ भने सबैभन्दा बढी कांग्रेससँग सशंकित छन् । काभ्रेको कार्यक्रममा आफ्नो पार्टीलाई सरकारको नेतृत्व गर्न नदिन विभिन्न शक्तिकेन्द्रहरू लागेको बताएका ओलीले वातावरण बिग्रने डरले पनि को लागेका छन् भन्नेबारे कसैको नाम लिएनन् । विश्वस्त स्रोतका अनुसार ओलीले कांग्रेसभित्र मिलाउने जिम्मा महामन्त्री कृष्ण सिटौलालाई दिएका छन् । पछिल्लो समय देखिएको सिटौलाको मौनतालाई पनि ओलीसँग व्यक्तिगत रूपमा भएको ‘सहमति’सँग जोडेर हेर्न थालिएको छ ।

सहमतीय सरकार बन्दैन: देउवा
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि राष्ट्रपतिले आग्रह गरेअनुसार सात दिनभित्र राष्ट्रिय सहमतिको सरकार नबन्ने संकेत गरेका छन् । यसअघि दलबीच राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पदमा भागबन्डा नभएको भन्दै उनले सहमति जुटाउन सक्ने दलको नेताको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

‘दलबीच कुनै भद्र सहमति भएको थाहा छैन । पूर्ण सहमति कहीँ पनि हुँदैन । अधिकतम् सहमति गर्ने हो । जसको नाममा सहमति हुन्छ, उही प्रधानमन्त्री बन्छ,’ संविधान घोषणाको खुसीयाली र दसैँ, तिहार, छठ पर्वको शुभकामना आदान–प्रदान गर्न नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा देउवाले भने । उनले प्रधानमन्त्रीमा आफ्नो चर्चा भएकोबारे आफैँलाई थाहा नभएको बताए । ‘चर्चा हो कि हल्ला मलाई नै थाहा छैन,’ उनले भने । यद्यपि सरकारका विषयमा सभापति सुशील कोइरालासँग छलफल गर्न बाँकै नै रहेको उनले बताए । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु