स्थानीयले प्रतिकार गरेपछि सुनौली नाका केही खुकुलो

रुपन्देही,  नेपालको संविधान जारी गरिएको प्रक्रियाप्रति असन्तुष्टि पोख्दै नेपाल–भारत सीमा नाकामा यातायात ठप्प पारेको भारतले स्थानीय बेलहियावासीको दबाबमा सुनौली नाका केही खुकुलो पारेको छ ।

आइतबारसम्म तीन÷चार घन्टामा एउटा मात्र गाडीको सामान जाँच गराएर नेपाल पठाउँदै आएको भारतीय पक्षले आज भने सीमा नाका केही खुकुलो पारेको बेलहियास्थित बेलहिया भन्सार कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख लावण्यकुमार ढकालले आज दिउँसोदेखि सीमा नाकामा केही सहजता आएको र दिउँसो २ः३० बजेसम्ममा ४० भन्दाबढी मालबाहक गाडी भन्सार प्रवेश गरेको बताए । उनका अनुसार अहिले प्रवेश गरेका गाडीमा तीनवटा ग्यास र एकवटा तेल बोकेका छन् । बाँकीमा टायल्स, फलफूल, आलु प्याजलगायतका सामान रहेका छन् । तेल र ग्यासका अन्य गाडी पनि आउने तरखरमा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवम् प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।

देशकै दोस्रो ठूलो नाका सुनौलीलाई ठप्प पार्ने उद्देश्यले चार दिनदेखि संयुक्त मधेसी मोर्चाका नेता र कार्यकर्ताले दशगजा क्षेत्रमा प्रदर्शन गरिरहेका थिए भने भारतीय पक्षले सुरक्षाका कारण देखाउँदै सीमा नाका ठप्प पारेको थियो ।

नाका बन्द हुँदा नेपालमा उपभोग्य सामग्री र पेट्रोलियम सामग्रीको अभावसँगै कालो बजारी सुरु भएको छ ।

मधेसी मोर्चाले दशगजा क्षेत्रमा पाल टाँगेर अवरोध गरेपछि बेलहियाका स्थानीयवासी युवाले मोर्चाको विरोधमा आज प्रदर्शन गरेका थिए । नाकाबन्दीको विरोधमा गरिएको प्रदर्शनमा सयौँ सर्वसाधारणको सहभागिता रहेको बताइएको छ ।

स्थानीयवासीले प्रदर्शन गर्न थालेपछि मधेसी मोर्चाका नेता कार्यकर्ता दशगजा छाडेर गएको प्रहरीले जनाएको छ ।

नाका खुलेपछि एक घन्टाको अवधिमा ४० भन्दा बढी मालबाहक गाडीहरु नेपाल प्रवेश गरेको प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु