सबैभन्दा उचो राष्ट्रिय झन्डा

f8fecfd91f5075d095749983668e7ffb_Lअसोज ५ । काठमाडौँ, काठमाडौंका इन्द्र उपाध्यायलाई राजनीतिमा खासै चासो छैन। चुनावका बेला आफ्नो मताधिकार प्रयोग गर्छन् र पुनः आफ्नो काममा व्यस्त रहन्छन्। त्यसैले कुनै पार्टीको झन्डा बोकेर उनी कहिल्यै सडकमा निस्किएनन्।

सोमबार उपाध्याय राष्ट्रिय झन्डा बोकेर टुँडिखेल आइपुगे। आइतबार जारी ‘नेपालको संविधान’ को स्वागतमा घरमै दीपावली गरेका उनी सोमबार टुँडिखेलमा आयोजित उत्सवमा स्वतस्फूर्त सहभागी भए।

‘लामो समयसम्म नेपाली समाजलाई पार्टीको झन्डाले विभक्त बनाएको देखेको थिएँ’ संविधानले उत्साहित उनले नागरिकसँग भने, ‘आज यहाँ राष्ट्रिय झन्डाले सबै पार्टीका कार्यकर्तालाई जोडेको देख्दैछु।’

उपाध्यायजस्ता थुप्रै नागरिक संविधानको स्वागतमा राष्ट्रिय झन्डासहित उपस्थित हुँदा टुँडिखेल चन्द्रसूर्य अंकित झन्डाले झकिझकाउ देखिन्थ्यो। देशले उत्सव मनाउँदै गर्दा यहाँ केटाकेटीदेखि बूढापाकासम्म साइज–साइजका राष्ट्रिय झन्डा हातमा हल्लाउँदै रमाइरहेका थिए।

‘यो कुनै पार्टीको होइन, समग्र नागरिकको साझा उपलब्धि हो’, ललितपुर धोबीघाटबाट टुँडिखेल आएका चुडाराज ढकालले भने, ‘त्यसैले मैले अँगाल्दै आएको राजनीतिक दलको झन्डाभन्दा प्राथमिकतामा आज नेपाली झन्डा नै पर्योए।’

भोजपुरबाट राजधानी आएका ढकालले अब मुलुकले समृद्धिको बाटो लिने आशा व्यक्त गरे। अहिले देखिएको जस्तै एकता आगामी दिन रहिरहे मुलुकले छिट्टै कायापलट गर्ने उनको विश्वास छ। ‘नेपालीको एकताले मात्र समृद्ध नेपालको आधार तयार हुनेछ,’ भने, ‘नेपाली जनताको एकतासामु ठूला शक्तिहरूको पनि जोड चल्दैन।’

विभिन्न राजनीतिक दलसँग आस्था राख्दै आएका कार्यकर्ताले पनि पहिलो प्राथमिकता राष्ट्रिय झन्डालाई नै दिएको देखियो। धेरैजसोले सबैभन्दा माथि राष्ट्रिय झन्डा टाँगेर त्योभन्दा तल आफू आबद्ध संघसंगठन र दलका झन्डा बोकेर हिँडेका थिए।

तिनैमध्ये एक थियो– पेसागत महासंघ आबद्ध कर्मचारीले बोकेको झन्डा। लामो डन्डीमा तलतिर पेसागत महासंघको झन्डा थियो भने त्यसभन्दा माथि पार्टीको झन्डा। सबैभन्दा माथि राष्ट्रिय झन्डा फरफराइरहेको थियो। ‘सबैभन्दा माथि राष्ट्रियता रहेको सन्देश दिन यसरी झन्डा टाँगेका हौँ पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले भने, ‘राष्ट्र रहे बाँकी सबै रहन्छ।’

उनीभन्दा केही पर युवाको एक समूह संविधानको चर्चा गर्दै रमाउँदै थियो। उनीहरूले आफ्ना अगाडि पार्टीको झन्डा भुइँमा राखेका थिए भने राष्ट्रिय झन्डा ठड्याएका थिए। पार्टीको झन्डा भुइँमा राखेर राष्ट्रिय झन्डा ठड्याउनु संयोग मात्र नभएर आफ्नो चाहना रहेको उनीहरूले सुनाए।

‘पार्टीको झन्डा पनि ल्याएका छौँ सानेपाबाट आएका दान थापामगरले भने, ‘यहाँ आएपछि पार्टीको झन्डा बिसाएर राष्ट्रिय झन्डा ठड्याउन मन लाग्यो।’ उनीसँगै रहेका सुरेन्द्र खनालले समग्र राजनीतिभन्दा राष्ट्रियता उच्च रहेको र सबै दल यसमा एकमत भएकाले अहिले मुलुकले जितेको बताए। ‘दलहरू विभक्त हुँदा पार्टीले जित्दोरहेछ,’ उनले भने, ‘सबै दल एक हुँदा मुलुकले जितेको छ।’

युवाहरूसँगै किशोरकिशोरी र बालबालिका पनि राष्ट्रिय झन्डा बोकेर सभामा आएका थिए। कसैले नेपालको झन्डा अंकित टिसर्ट लगाएका थिए त कसैले गालामा चन्द्रसूर्यको चिह्न पोतेका थिए।

‘आज निकै खुसी लागेको छ,’ कक्षा ९ की छात्रा सुप्रिया चौलागाईंले भनिन्, ‘सबै जना यसरी नै सधैं मिलिदिए हुन्थ्यो।’ नेपाली झन्डाका साथ आएका कक्षा ६ का विद्यार्थी अभिषेक उपाध्यायले नेपाली झन्डा प्यारो लाग्ने सुनाए। ‘मलाई मन पर्ने झन्डा यही हो,’ हातको झन्डा फहराउदै उनी हाँसे।

साना नानीहरू आफूभन्दा ठूलो झन्डा फहराउँदै गर्दा माहोल निकै उल्लासमय देखिन्थ्यो।

‘यो झन्डा कसको ‐कुन पार्टीको नि बाबु? चार वर्षीय बालक प्रचुर ढकाललाई जिज्ञासा राख्दा उनले भने, ‘यो मेरो झन्डा हो।’

कार्यक्रम स्थलमा नेपाली मात्र होइन, फलफूल पसले एक भारतीय नागरिकले पनि आफ्नो टोकरीमाथि नेपालको झन्डा राखेको देखियो। टोकरीमा राखिएको फलफूल र त्यसमाथि नेपाली राष्ट्रिय झन्डा राखेका लालबहादुर मण्डलले हाँस्दै भने, ‘जुन देशमा बसेको छु, त्यो देशले मलाई रोजगारी दिएको छ। उत्सव त मैले पनि मनाउनुपरिहाल्यो नि ।’समाचार आजको नागरिक दैनिकमा  छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु