भूकम्पपछिको पर्यटनः सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक

????????????????????????????????????

काठमाडौँ, नेपालमा भूकम्पपछिको पर्यटनको पुनरुत्थान’ विषयमा मंगलबार आयोजित कार्यशालामा भूकम्पपश्चात् पनि नेपालको पर्यटकीय क्षेत्र सुरक्षित र उत्तिकै हेर्न लायक भएका कारण त्यसको सकारात्मक सन्देश प्रवाह गर्नु अपरिहार्य भएकोमा जोड दिइएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यशालामा वक्ताले भूकम्पले नेपालका केही पर्यटकीय पूर्वाधार क्षति गराए पनि भूकम्पपश्चात् केही सञ्चारमाध्यमबाट भूकम्पले नेपाल पूर्णरुपमा ध्वस्त बन्यो भन्नेजस्ता भ्रामक समाचार सम्प्रेषण गरेकाले नकारात्मक सन्देश दिएको बताए ।

कार्यशालामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालका केही पर्यटकीय क्षेत्र तथा सम्पदा भूकम्पले प्रभावित भए पनि धेरै ठाउँ सुरक्षित रहेको बताए।

“नेपालका धेरै सांस्कृतिक तथा धार्मिकस्थल पर्यटकलाई स्वागत गर्न आतुर छन्,” उनले भने, “हिमालय पर्वत पर्यटकको स्वागतको पर्खाइमा छन्, यहाँका नदीनाला, राष्ट्रिय निकुञ्ज तथा आरामदायी होटलसमेत अतिथिको सत्कारको प्रतिक्षामा छन् ।”

उनले भूकम्पपछि केही समययता प्रभावित मुलुकको पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले नेपालको ८० प्रतिशतभन्दा बढी क्षेत्र भूकम्पको प्रभावबाट मुक्त भएको जानकारी गराउँदै महत्वपूर्ण र असाध्यै सुन्दर पर्यटकीय क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा रहेकाले यसको विश्वव्यापी प्रचार गर्नु आवश्यक भएको उल्लेख गरे ।

“नेपालका प्रमुख ३५ वटा पदयात्रा मार्गमध्ये दुईवटा मार्गमात्रै भूकम्पले प्रभावित भएका छन्,” उनले भने “भूकम्पपछिको नेपालको पर्यटकीय पूर्वाधार पूर्ववत् अवस्थामै छन् । यहाँ अहिले पनि सुरक्षित रुपमा मनमोहक दृश्यावलोकन गर्न सकिने सन्देश प्रवाह गर्नु वर्तमानको आवश्यकता हो ।”

नेपालका पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका सुन्दर सांस्कृतिक तथा प्राकृतिक क्षेत्र भूकम्पबाट प्रभावित नभएको बताउँदै उनले ७५ जिल्लामध्ये जम्मा ११ जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा भूकम्पको प्रभाव परेको जानकारी गराए ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक डा ऋषिराज अधिकारीले भूकम्पपश्चात् केही सञ्चारमाध्यमबाट भएको नकारात्मक समाचार प्रवाहका कारण नेपालको पर्यटन क्षेत्रलाई तत्कालीन अवस्थामा प्रभाव पारे पनि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था तथा सञ्चारमाध्यमबाट यसको वास्तविकतालाई उजागर गरे विस्तारै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गरे।

नेपाल टुरिस्ट गाइड एसोसिएसनका अध्यक्ष हरेराम बरालले भूकम्पपछि फैलिएको नकारात्मक सन्देशका कारण नेपाल आउने पर्यटकमा नकारात्मक असर पर्नसक्ने हुँदा तत्कालै पर्यटन सम्बद्ध सङ्घसंस्थाको पहलमा सम्पदा क्षेत्र पदयात्रा, जलविहार, हिमालय आरोहण तथा धार्मिक र सांस्कृतिक पर्यटनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए।

“पर्यटन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण व्यवसाय हो,” बरालले भने, “भूकम्पपछि विभिन्न कारणले प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन सबैको सकारात्मक प्रयास आवश्यक छ ।”

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सदस्य डा गणेश गुरुङले भूकम्पपछिका १४३ दिनसम्म पनि पर्यटन क्षेत्र प्रभावित भएकोप्रति गम्भीर बन्नुपर्ने बताए ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव ठाकुरराज पाण्डेले नेपालका हिमालय आफैँमा पर्यटकीय आकर्षणको केन्द्र भएका र भूकम्पले यी क्षेत्र प्रभावित नभएका कारण यसको सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे।

नेपाल पर्यटन बोर्डको बजार शाखा प्रमुख उज्वला दलीले नेपाल पर्यटन बोर्डले भूकम्पपछिको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन अन्य पर्यटन सम्बद्ध संस्थासँग सहकार्य गर्दै अघि बढेको जानकारी गराए।

होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रवेश अर्यालले भूकम्पले नेपालका केही होटेलमा मात्र प्रभाव पारेपनि अधिकांश होटल पूर्णरुपमा सुरक्षित रहेको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु