सङ्घीय समाजवादी फोरमद्वारा ‘गाउँ केन्द्रित’ आन्दोलन सुरु

खोटाङ, किरात प्रदेश सुनिश्चितताको माग गर्दै आन्दोलनमा उत्रिएको सङ्घीय समाजवादी फोरम नेपालले खोटाङमा ‘गाउँ केन्द्रित’ आन्दोलन सुरु गरेको छ ।

प्रस्तावित किरात प्रदेशभित्र बिहीबार बन्द आह्वान गरेको सङ्घीय समाजवादीको किरात प्रदेश समितिले आफ्नो आन्दोलनलाई ‘गाउँ केन्द्रित’ गरेको हो ।

आगामी असोज १४ गतेसम्म गाउँ केन्द्रित शान्तिपूर्ण सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने पार्टीका केन्द्रीय सदस्य सनबहादुर राईले बताए ।

खोटाङ र भोजपुर सिङ्गै तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सङ्खुवासभा, धनकुटा, सुनसरी, सिन्धुली, रामेछापलगायतका किरात समुदायको बसोबास रहेका स्थानलाई समेटेर किरात स्वायत्त प्रदेश स्थापनाको मागमा सङ्घीय समाजवादीले आन्दोलन चर्काउँदै लगेको छ ।

सङ्घीय समाजवादीले हप्ता दिनको अवधिमा किरात स्वायत्त प्रदेशको पक्षमा जनमत सिर्जना गर्न गाउँगाउँमा पर्चा, पम्प्लेट बाँड्ने, प्रत्येक हाट लाग्ने हटिया, गाउँ तथा इलाकामा जुलुस प्रदर्शन गर्दै कोणसभा आयोजना गर्ने जनाएको छ ।

प्रस्तावित किरात प्रदेशभित्रका सबै जिल्लामा सँगसँगै कार्यक्रम सुरु गरिएको सङ्घीय समाजवादी किरात प्रदेश समितिले जनाएको छ । पहिलो संविधानसभाको राज्यको पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनःसंरचनासम्बन्धी उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदनले रेखाङ्कन गरेअनुसार पूर्वी नेपालको भू–भागलाई समेटेर किरात प्रदेश स्थापना गर्नुपर्ने सङ्घीय समाजवादीको माग छ ।

ऐतिहासिक ग्रन्थ, सामग्री, लेखोट तथा दस्तावेजमा समेत नेपाललाई किरात देश भनिएको, वर्तमान नेपाल राज्य निर्माणअघि पूर्वी क्षेत्रलाई किरात मुलुक भन्ने गरिएको तथा यस क्षेत्रलाई हालसम्म पनि वल्लो किरात, माझ किरात र पल्लो किरात भन्ने गरिएको तथ्यका आधारमा यस क्षेत्रलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने पार्टीका केन्द्रीय सदस्य राईले बताए ।

किरात एउटा जाति मात्र नभै देश, भूमि, जाति, सभ्यता र संस्कृतिको एकीकृत रुपलाई किरात भनिएको केन्द्रीय सदस्य राईले स्पष्ट पारे।

छ वर्षअघि एमाओवादीका तत्कालीन पोलिटब्युरो सदस्य गोपाल किरातीले पनि यस क्षेत्रका जिल्लालाई समेटेर किरात गणराज्य घोषणा गरे । पार्टीले खोटाङ र भोजपुर सिङ्गै तथा ओखलढुङ्गाको ३२ गाविस, उदयपुरको २९ गाविस, सङ्खुवासभाको १८, सोलुखुम्बुको १७, धनकुटाको १४, सुनसरीको ३, सिन्धुलीको ३ गाविस तथा रामेछाप र दोलखाका केही गाविसलाई समेटेर किरात प्रदेश नामाकरण गर्नुपर्ने माग छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु