‘अमेरिकामा दिइएको जस्तो टीपीएस सुविधा दिन मिल्दैन’

सिड्नी, अष्ट्रेलियामा अमेरिकामा दिइएको जस्तो टेम्पोररी प्रोटेक्टेड स्ट्याटस टीपीएस अध्यागमन दिन नसकिने प्रष्ट पारिएको छ । अष्ट्रेलियाका अध्यागमन तथा  सीमा सुरक्षामन्त्री पिटर डट्टनले विनाशकारी भूकम्प गएपछि नेपालीलाई अमेरिकामा दिइएको जस्तो टीपीएस सुविधा दिन नसकिने बताएका हुन् । बुधबार सिड्नीको कोग्रामा आयोजित एक कार्यक्रममा मन्त्री डट्टनले अमेरिकाको जस्तो टीपीएस सेवा सुविधा नदिइने जिकिर गरे ।

लिबरल फ्रेण्डस अफ नेपालको संयोजनमा नेपाली समूदायका प्रतिनिधिहरूसँगको खुला अन्तरक्रिया उनले भने, ‘हामी मानवीय संकटमा रहेका व्यक्तिको समस्या फुकाउन सक्छौँ । तर, यस्तो व्यक्तिहरूका लागि अहिले नै रहेका प्रावधानहरूका आधारमा मात्रै अघि बढ्न सकिन्छ ।’

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वनले अन्य समूदायका व्यक्तिहरूले आफन्तलाई अष्ट्रेलिया बोलाउँदा सहज रूपमा भिसा उपलब्ध गराउने तर नेपालीले आफन्त बोलाउँदा विभिन्न हैरानी व्यहोर्नु परेको दुखेसो पोखेकी थिइन् । यस सम्बन्धमा मन्त्री डट्टनले कुनै समूदायलाई हेरेर भिसा दिने अधिकारीले निर्णय गर्ने नभई व्यक्ति व्यक्तिबीच उसका समग्र पृष्ठभूमि, आर्थिक अवस्था लगायतको छानविनबाट निर्णय गर्ने बताए ।  कार्यक्रममा उपस्थित लिबरल फ्रेण्डस अफ नेपाल न्यू साउथवेल्स, साउथ सिड्नी संयोजक विवेक थापाले अष्ट्रेलियामा रहेका नेपालीहरूको एकिन संख्या आधिकारिक रूपमा उपलब्ध गराउन पनि मन्त्रीलाई आग्रह गरे  । त्यस्तै उनले पहिलो पटक अष्ट्रेलियाको भूमिमा टेक्ने नेपालीका विषयमा पनि सरकारी तवरमै स्पष्ट पार्न आग्रह गरे । जवाफमा मन्त्री डट्टनले तथ्य संकलन गरी जानकारी गराउने प्रतिबद्धता जनाएका थिए ।

एमपी निक भाभ्रासीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी विनोद पौडेलले अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरूले आपूmसँगै परिवार ल्याउँदा तत्कालको फाइदा हेरेर छुट्टा छुट्टै बिमा गर्ने गरेको तर जब बिमाको दाबी गर्दा भने समस्यामा पर्ने भएका कारण यसका लागि सुरूमै कपल भिसाको प्रावधान लागू गर्न सुझाए । अन्तरक्रियामै सहभागी नेपाली समूदायका प्रतिनिधि चुरामणि बेल्बासेले पनि नेपालबाट अभिभावकहरू यहाँ आउने बेलामा उनीहरूको बिमा अनिवार्य गर्नुपर्ने उल्लेख गरे । त्यस्तै उनले यस्तो नगरेको अवस्थामा अचानक बिरामी हुँदा पूरै परिवार नै समस्यामा  पनि उजागर गरेका थिए । लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितले यस किसिमको अन्तरक्रियाले सरकारी तवरमा समेत नेपाली समूदायका विषयमा जानकारी पुग्ने र नीति निर्माण तहमा समेत आफ्ना कुराहरू राख्न मद्दत मिल्ने प्रतिक्रिया दिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु