भारतमा रेल दुर्घटना, २० जनाको मृत्यु

साउन २० । भारतको मध्यप्रदेशमा पर्ने हरदा जिल्ला नजिकै कामयनी एक्सप्रेस र जनता एक्सप्रेसका केही डिब्बा लिकबाट उछिट्टिँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । रेलमन्त्री सुरेश प्रभुले दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । छानबिनको जिम्मेवारी सेन्ट्रल जोनका सेफ्टी कमिश्नरलाई दिइएको छ । रेलमन्त्री सुरेशले घटनाका सम्बन्धमा आजै संसदमा जानकारी गराउँदैछन् ।

भारतीय रेलवे  बोर्डका प्रवक्ता अनिल सक्सेनाका अनुसार दुर्घटनामा मारिएका व्यक्तिका प्रत्येक परिवारलाई २ लाख, गम्भीर घाइतेलाई ५०÷५० हजार र सामान्य घाइतेलाई २५÷२५ हजार रुपैयाँ राहत दिइने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् । मोदीले ट्वीटमा भनेका छन्,‘ घाइतेहरुसँग मेरो प्रार्थना, मानिसहरुलाई सहयोग गर्न अधिकारीहरुले सम्भव भएसम्मको कोशिश गरिरहेका छन् । अवस्थाबारे ध्यान पु¥याइराखिएको छ ।’

हरदा जिल्लाबाट २५ किलोमिटर टाढा खिडकिया र भिंगरीबीच मंगलबार राति करिब ११.३० बजे दुर्घटना भएको हो । सिद्दिकीका अनुसार २ सयभन्दा बढी मानिसलाई सुरक्षित उद्दार गरिएको छ र राहत कार्य तीब्रतापूर्वक चलिरहेको छ ।
रेलवे बोर्डका एक अधिकारीले भने,‘ यहाँ एउटा नहर पर्छ जसको माथिबाट ट्रेन जान्छ । भारी बर्षाका कारण अचानक फ्ल्यास वाटर आउँदा करिब १५० मीटर ट्रयाकको तलबाट माटो बगाएको थियो ।’ उनले भने,‘ माटो बगाउँदा ट्रेन पल्टियो र माचक नदीमा खस्यो, अधिकांश मानिसको मृत्यु नदीमा डुबेर भएको हो ।’

उता रेलवे प्रवक्ता अनिल सक्सेनाका अनुसार, ‘ रेलको लिकमा पानी जमेको थियो र पुल डुबेको थियो । यसैकारण कामयानी एक्सप्रेसका अन्तिम ६ डिब्बा लिकबाट बाहिरिए । त्यतिनै बेला दोस्रो लिकमा जनता एक्सप्रेसको इन्जिन र चार वटा डिब्बा पनि लिकबाट बाहिरिए । ’

Comments

comments

सम्बन्धित शिर्षकहरु