कथाकार विश्वेश्वरप्रसाद कोइराला

-मदनमणि दीक्षित

legend-living_20110212091056सिगमन्ड फ्राइडले मानिसको मनोविश्लेषणको वैज्ञानिक पद्धतिको स्थापना गरे । त्यसमा उनलाई जुङ र एडलरको सहयोग थियो ।

फ्रायडवादको मानसिक विकृतिहरू तथा मानवीय चरित्र र व्यवहारहरू उपचेतन र अवचेतनमा थिचिएर बसेको यौनवृत्ति या यौनआकांक्षाद्वारा निरुपित वा नियन्त्रित हुने गर्छन् भन्ने स्थापना गर्‍यो । यो स्थापना मानव प्रकृतिका एकाङ्की परिभाषामात्र हो ।

यौन उच्छृंखलता, कामुकता वा अतिकामेक्षा सामाजिक वा मानसिक अवस्था हुन् । ती अवस्थाको कारणबारे फ्रायडवादले केही मद्दत पुर्‍याउँछ । तर साहित्यमा यौनलाई ल्याउनु अथवा यौनलाई बढी स्थान दिएर अश्लीलता स्तरसम्म उच्चारणसित फ्रायडवादको केही सम्बन्ध छैन । त्यसैकारणले ‘कर्णेलको घोडा’, ‘पवित्रा’, ‘मधेसतिर’, ‘होड’ अथवा ‘श्वेत भैरवी’ पढेर ती लघुकथाका रचनाकार श्री विश्वेश्वरप्रसाद कोइरालालाई अरू जुनसुकै नाम दिए तापनि फ्रायडवादी भन्ने संज्ञा दिन मिल्दैन ।

हो, त्यस्ता नारी चरित्रहरूलाई श्री कोइरालाको अचेतन वा उपचेतनले साहित्यमा किन ठाउँ दिलाए अथवा श्री विश्वेश्वरप्रसाद कोइरालामा यौनलिप्सा के कारणले प्रखर रह्यो भन्ने प्रश्नहरूले केही हदसम्म फ्रायडका सिद्धान्तका आधारमा केलाउने नसकिने होइन ।

यस सम्बन्धमा ‘सुम्निमा’ भन्ने उहाँको उपन्यासका नारी पात्रहरू त्यो कल्पित प्राचीन युगमा त्यस्ता यौन मनोवृत्तिका देखाइनुमा स्वाभविकता छैन । प्राचीन समाजका यौनजीवनका इच्छा र वृत्तिका दमनहरू तथा कुण्ठा र ग्रन्थीका उत्पत्तिहरू आजको समाजमा झैं हुन सक्दैनन् । किनभने, ती मनस्थितिहरू समाजद्वारा निर्धारित आचारशास्त्रको सामाजिक प्रतिपक्षबाट जन्मिने गर्दछ । सुम्निमा समाजबारे सत्यासत्य जेसुकै कल्पना गरे पनि त्यो समाज आजको समाज होइन भन्ने कुरा निर्विवाद छ । सुम्निमाको समाजमा ‘ब्लुफिल्म’, सिनेमा पत्रिका र नग्नपोस्टरहरू व्यापारिक आधारबाट जन्मिएका थिएनन् । न त डिल्डो, ढाल र गुलाबको समाज नै थियो त्यो ।

‘कर्णेलको घोडा’ की कर्णेलनी नेपाली समाजकी युवती होइनन् । त्यस्तै श्वेतभैरवी एउटी निकै खोजेर मात्र पाइने र डसाडेका पुस्तक पढेर सृष्टि गरिने कथाकी केटीमात्र हुन सक्छे । पवित्रा रोगी अवस्थामा छिन् । आयोडिनको कमीले गलगाँढयुक्त छिन् । त्यो रोगले मानसिक क्षमतालाई त्यहीमात्र सीमित तुल्याउँछ । बूढी पवित्राको मनोदशालाई श्री कोइरालालाले एउटा कल्कलाउँदो युवकप्रति कामेच्छाका रूपमा प्रस्तुत गर्नु आफ्ना पात्रहरूसित स्नेह होइन कि अत्याचार गर्नु हो ।

श्री विश्वेश्वरप्रसाद कोइरालाको सामाजिक दर्शन र सदाचार मान्यताका विकृति द्रष्टा रहेको हुँदा उहाँको कलमबाट त्यस्ता नारी पात्रहरू जन्मँदै गए । उहाँले नारीलाई ढोग्या तथा पुरुष यौनतृप्ति साधनका रूपमा ग्रहण गर्नुभयो । त्यसैले गर्दा उहाँले धेरै पात्रलाई कामज्वाराक्रान्त देखाउनुभयो (मधेसतिर) ।

ती सबैको उहाँको कारण उहाँकै कलमबाट चित्रित भएका छन् । होडमा उहाँले सबै स्वास्नीमानिस उस्तै हुन् । शक्तिहीन अस्थायी उमंगमा बगी हिँड्ने… तिनीहरूको स्त्रीयोचित गुण भनी ठान्छु । तिनीहरूको समाजमा स्थान नै किन छ ? तिनीहरूको जिम्मेवारी के छ ? लोग्नेमानिसको सुखमा सायर हुनु तिनीहरूको कर्तव्य हो ? निर्धो हुनु, चरित्रहीन हुनु । कसो श्री कोइरालाले आधुनिक– पश्चिमा आर्थिक कारणले विवाह गर्न नसक्ने युवकहरूले यौनतृिप्त निम्ति बजारबाट २५/३० डलरमा किनेर ल्याउने नायलनकी मनतातो पानी भरेर यौनतृप्ति निम्ति पुष्ट नारी आकृतिमा परिणत गर्न सकिने ब्याट्रीचालित यौनांग भएकी पुतलीजस्ती नारीबारे भनेर भन्नुभएन । नारी समुदायलाई नै चरित्रहीन ठान्ने मनोविकृति नीत्शे वा माइन काम्फसम्ममा छैन । दोस्रो महानयुद्धताका त्यस्ती सिन्थेटिक नारीको सके आविष्कार पनि भएको थिएन, श्री कोइरालाले ती कथाहरू लेखेर नारीबारे त्यस्ता वाक्य प्रयोग गर्नुहुँदा ।

हो, माथि उद्धृत वाक्यहरूको लगत्तै पछि उहाँले ‘अरू शब्द नपाएर चरित्रहीन भनेको, नत्र चरित्रहीन भन्न त हुँदैन’ पनि लेख्नुभएको छ । म क्षमा प्रार्थी छु, उहाँको यो पछिल्लो वाक्यलाई अहिले तरबार नपाएकोले छुराले चिरेको भनी सान्त्वना दिन खोजेजस्तो मात्र ठान्छन् । मेरो विचारमा श्री कोइरालाले त्यो कथामा गर्नुभएको सम्बोधनले नारीलाई सुरुका वाक्यभन्दा पनि झन् तल्लो अवस्थामा ओह्रालेको छ । नारीको मातत्व र वात्सल्यपूर्ण रूपले के आधिकारिक परिभाषा र मान्यता पाउने थियो होला ? उहाँलाई समाजवादी भन्नेहरूले श्री कोइरालाका माथि उद्धृत वाक्यहरूबारे जवाफ दिनुपर्छ । वधुशिक्षाबारे भानुभक्त आचार्यले जति आलोचना आजसम्म पनि खप्नु परिरहेको छ । भानुभक्तले त्यो रचना लेखेर नारीमा सुधारको सम्भावनालाई देखाएका थिए तर कोइरालाले त्यो सम्भावना वा खाँचोसम्म देख्नुभएन ।

नारीका सम्बन्धमा उहाँका प्रजातान्त्रिक दृष्टिकोण के रहेछन् त ?
उहाँले आफैं जवाफ दिनुभएको छ । होडमा अन्त्यमा नारीसित पति भएर उहाँ सोध्नुहुन्छ– त्यो भए तिमी पनि स्त्री जातिका सम्बन्धमा मैले जस्तो विचार प्रकट गरे, त्यसलाई समर्थन गछ्र्यौ? र पत्नी भएर आफैं जवाफ दिनुहुन्छ– गर्छु बाबा गर्छु । त्यो कथा पढ्दा जुद्धशमशेरले टाउकोमा श्रीपेच लगाएर आफ्नी कुनै कामुक सुसारेलाई नङ्ग्याएर काखमा राखी कुरा गरे जस्तो मलाई लाग्यो ।

तथापित नेपाली नारीको एउटा अंगले कोइरालालाई आफ्नो नेता मान्दै आयो भन्ने कुराले त्यो कथा पढे पछि मलाई झन् पीडा दियो । सिगमण्ड फ्रायडले नारीप्रति त्यस्तो दर्शन दिएको मलाई थाहा छैन । श्री कोइराला फ्रायडवादी कसरी ? नेपालको रुढीवादी पछौटे जहानियाँ शासनको समाजमा जन्मिएर प्रजातन्त्रका नाममा पश्चिमका प्रथम महायुद्धपछि नैतिकताको क्षेत्रमा झन् संटकग्रस्त हुन पुगेको नयाँ मानव र नयाँ समाजको सृष्टि गर्नमा असहाय सावित भइसकेको हुँदा नै श्री कोइरालामा त्यस्तो सामाजिक दर्शनले ठाउँ पायो ।

कथा लेखन क्षेत्रमा श्री कोइराला यो शताब्दीको सुरुको युरोपेली साहित्यबाट प्रभावित हुनुहुन्छ भन्ने शंका मलाई लाग्छ । उहाँको बहुचर्चित दोषी चस्मा एन्टन चेखबको जहानियाँ शासनकालीन नेपाली संस्करण हो यो कथामा चेखबको उपस्थिति छर्लङ्ग छ ।

कोइरालाका हरिदत्त, प्रेम, पुस्तक, स्वेटर र सिपाही भन्ने कथाहरू नेपाली भाषामा लेखिएका विशुद्ध उत्तर भारतीय इतिवृत्त हुन् । मधेशतिर र रिक्सा तान्नेलाई नेपाली सामाजिक रूप दिन उहाँले निकै ध्यान दिनुभयो तर आफू बसेको दार्जिलिङ्गका वा वाराणसी प्रवासका वातावरणहरूमा अल्झिनबाट जोगाउन सफल हुनुभएन ।

श्री विश्वेश्वरप्रसाद कोइराला कथाहरूमा मानवीय समस्याहरूले भन्दा व्यक्तिका निजात्मक वृत्तिहरूले प्राधान्य पाएका छन् । सन् १९४४ सम्ममा लेखिएका दोषी चस्मा संग्रहलाई आद्योपान्त पढ्दा उहाँको सरल नेपाली भाषाले बाहेक ममा कुनै पनि संघर्ष, आह्वान वा संकटले उहाँको कलममा ठाउँ पाएन । उहाँले कथा लेख्दा युरोपलाई फासीवादले प्रकाण्ड नरसंहारमा डुबाएर मानवीय स्वाधीनतालाई इतिहासको सबैभन्दा ठूलो हाँक दिएको थियो । समाजवादविरुद्ध विश्वका सरकारहरू सोझै वा परोक्ष तवरमा लागेको थिए । स्वयंम नेपालमा जुद्धशमशेरको बिगबिगी थियो । चार देशभक्तलाई सानो कारणमा प्राणदण्ड दिइएको थियो र बीसौंजना आजीवन कारावासमा र सयौंजना जेलमा हालिएका थिए । नेपाली युवकहरू पश्चिममा डेजर्ट फक्स रोमेलका सांक भनीनव पूर्वीया मोर्चामा कबर्मामा रोजै सैकडौंका संख्यामा मरिरहेका थिए । ती कुनै दिन यस्ता बितेनन् । जहिले नेपालका पर्वतका कुना कुना राजधानीका दर्जनौ घरमा आमा, पत्नी, पिता वा दाजुभाइ आफ्ना कारण लडाइँमा मरेकाहरूबारे चिठी पाएर रुवावासीमा नलाग्दा होऊन् ।

विश्वसँगै नेपाल पनि अन्धकारमा डुबेको थियो । आफ्ना कथाहरूमा त्यो समयमा विश्वेश्वरप्रसाद कोइराला नारी समुदायको सदाचारमाथि हिलो छ्याप्दै कामद्वेगको आनन्द लिइरहनुभएको थियो ।

तथापि, लेखकका रूपमा श्री कोइरालाले त्यहीबेला नै पनि राम्रो नेपालीलाई जन्माइसक्नुभएको थियो । उहाँका तीन कथामा भाषाका हिन्दी पुट छन् तर नगन्य । उहाँको कलमको र भाषाको नेपालीपन र सरलता आज चालीस वर्षपछि पनि उत्तिकै अनुकरणीय छन् । प्रस्तुतीकरणमा मैले युरोपेली प्रभावलाई अनुभव गरे तापनि कथामा पात्रत्वको विकासमा उहाँ सिद्धहस्त देखिनुभएको छ । अत्यन्तै जेलिएका भाव र मनोदशालाई पनि उहाँको आठदस शब्दका सरल वाक्य र सरल शब्दद्वारा प्रकट गर्न सक्नुभएको छ । पाठक र उहाँका पात्रहरूबीच भाषा र शब्दका व्यवधान किञ्चित पनि छैनन् ।

व्यक्तित्वको विकासमा पर्यवसान साह्रै सरल किसिमले भएका छन् यद्यपि उहाँका पात्रहरू नेपाली निम्ति पूर्ण अस्वाभाविक हुन् । कथा लेखनमा यी गुणहरूमा झन्डै सबै कथामा समानरूपले प्रभावित छन् ।

एउटा दूर्बीनबाट वा झ्याल खोलेर एकैछिनका निम्ति देखिने एउटा घटना अथवा एउटा निश्चित मनस्थितिको विवरण वा समाजका समानता प्रवाहहरूमध्ये एउटा रोजिएको किसिमले चित्रण अर्थात् समग्रमा कलाकारले आफ्नो क्यानभासमा अंकित गरेर फ्रेम हालिदिए जस्तोलाई म लघुकथा भन्छु, त्यस्ता कथाहरू नै श्री कोइराला कथा । तर मेरा लघुकथा भन्छु, त्यस्ता कथाहरू नै श्री कोइरालाका कथा । तर मेरा यी परिभाषा रचनाको आधारमा मात्र हुन् यी जगमाथि थरीथरीका महल बन्न सक्छन् त्यसमा भने कोइराला पछि पर्नुभएको छ ।
कोइरालाका कथाहरूमा उत्तर भारतीय पात्र र पर्यावरणको समेत प्रचुर प्रभाव रहे तापनि र ती कथा भारतमै बसेर लेखिएको भए तापनि समसामयिक हिन्दी कथा साहित्यको स्तरमा उहाँका कथा छैनन् नै ।(साभार : ‘विश्वेश्वरप्रसाद कोइराला समालोचना र विचारमा’ बाट)

Comments

comments

सम्बन्धित शिर्षकहरु