धर्म निरपेक्ष भनेको के हो ?

– जयराज पन्त

OMआज अनेकौँ मित्रहरूको आग्रह, आफ्नै पनि अभिरुचि, देशको वर्तमान परिप्रेक्ष्य जस्ता विविध कारणबाट अभिप्रेरित भई नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा लेखिएको धर्मनिरपेक्ष भन्ने कुराको व्याख्या गर्न लागेको छु। यसमा भनिएका कुरा कसैप्रति पनि दुराग्रह राखेर वा कसैको प्रतिवाद गर्ने उद्देश्य लिएर लेखिएका होइनन्।

धर्म भनेको धारण गरिने आचार व्यवहार हो। यसले समाजलाई एकताबद्ध पार्न र सुसङ्गठित तुल्याउन मद्दत गर्दछ। यो समाजको शान्ति, सुव्यवस्था र कल्याणका लागि समाजले नै निर्माण गरेको आचार संहिता हो र संविधान जस्तै नियम हो। कानुन, मर्यादा, नियम, उदात्त भावना, सदाचार, पवित्र काम, सेवा, नैतिक मूल्य, राम्रो काम, शास्त्रले निर्देश गरेको आचरण, नियम, न्याय, सत्य, मानव प्रकृति र प्रकृतिको स्वभावलाई पनि धर्म भनिन्छ। जाडो, गर्मी, वर्षा हुनु पनि धर्तीको धर्म हो। प्रत्येक व्यक्तिमा रहेको विशिष्ट मानवीय प्रतिभा बाहिर ल्याउन अभिप्रेरित गर्ने आधार धर्म हो। कर्तव्य पालन धर्म हो। जिम्मेवारी संवहन धर्म हो। धर्मलाई मानवीय आदर्शको संरक्षक व्यवस्था भनिन्छ। सङ्केत, विश्वास र संस्कारबाट बनेको यो त्यस्तो प्रणाली हो जसले समाजलाई एकताबद्ध पार्न र सुसङ्गठित तुल्याउन मद्दत गर्दछ। व्यवहार प्रमाणबाट सिद्ध हुने भएकोले यसलाई शास्त्र वा विज्ञान पनि भनिन्छ।
निरपेक्ष भनेको अपेक्षा नगर्नु, वास्ता नराख्नु, चासो नदिनु, सम्बन्ध नराख्नु, नचाहिनु र अनुपयोगी हुनु हो। यस शब्दले वास्ता नगरिएको ठाउँ, नचाहिएको सामग्री, काम नलाग्ने वस्तु, अर्थहीन ज्ञान, गलत उपाय, अनुशासनहीन आचरण, अस्वीकृत नीति भन्ने अर्थ पनि जनाउँछ। धर्म र निरपेक्ष शब्दलाई जोड्दा जे अर्थ निस्कन्छ धर्म निरपेक्षता भनेको त्यही हो। धर्म नभएको त पशु पनि हुँदैन। समाजमा सुव्यवस्था नहुने हो भने मनपरी काटमार, लुछाचुँडी, हत्या, अपहरण, चोरी, डकैती, बलात्कार, अशान्ति, अविवेक, अन्याय, अत्याचार जस्ता दुष्कर्म फैलने डर हुन्छ। यस प्रकारका दुराचार हटाएर समाजलाई मान्छेका अनुकूलको बस्ने ठाउँ बनाउने काम धर्मले गर्दछ ।

नेपालको संविधानको मस्यौदा तयार पार्दा देशभरिका स्वनामधन्य ६०१ जना अनुभवी, विद्वान्, ज्ञानी, परिपक्व, चर्चित र आआफ्ना विषय तथा क्षेत्रका महान् साधक मानिने महानुभावहरूले यस शब्दावलीमा कसरी सहमति जनाए भन्ने कुरा बुझ्न सकिएन। यस्तो हुनु गरिमामय महर्षि, तपस्वी, वाणी साधक, सरस्वतीका सन्तानको यस देशका निम्ति सुहाउँदो भएन। शब्द चयन गर्नुभन्दा पहिले त्यसले व्यक्त गर्ने अर्थको सतही र गहिराइ दुवै पक्षको ख्याल गर्नु पर्दछ। यस्तो शब्द चयन सरासर आपत्तिजनक छ। यो भाषामाथिको खेलबाड हो र प्राज्ञिक जगत्को धज्जी उडाएको प्रमाण हो।

कतिपय सम्प्रदायका कट्टर व्यवहारले समाजमा देखाएका आपत्तिजनक क्रियाकलापबाट प्रभावित भएर जर्मनीमा सन् १८४६ मा जर्ज ज्याकब होली ओकले राज्यको नीति र सुव्यवस्थामा धर्मका नाममा हुने अस्थिरताले प्रभाव पार्न नसकोस्, राज्यले यस प्रकारका व्यवहारमा दबाब नदेओस् र यस्तो विषय व्यक्तिगत स्वतन्त्रतासित सम्बद्ध होस् भन्ने उद्देश्यले सेकुलारिज्मको अवधारणा प्रस्तुत गरेका हुन्। सेकुलारिज्म भन्नु र धर्म निरपेक्षता भन्नुभिन्न कुरा हो। सेकुलारिज्मको सही अर्थ धर्म निरपेक्षता होइन। धर्मनिरपेक्ष शब्द संविधान जस्तो आदर्श ग्रन्थमा राखिनु हुँदैन।

पेंगन, युनानी, ग्रिक, मय, मिस्र, आर्य जस्ता विश्वका प्राचीन सभ्यताका धरोहरहरू के कति कारणले समाप्त गरिएका थिए भन्ने घटनाका कुरा यस्तो स्थितिमा बिर्सन हुँदैन। यहाँ कसैप्रति आक्षेप वा असहमतिभन्दा पनि यथार्थ कुराको चर्चा गर्न लागिएको हो। नेल्सन मन्डेलाले धर्म गुरु बनेर एउटा आग्रह बोकी हाम्रो देशमा प्रवेश गरेकाहरूले हामीसित भएका जग्गाजमिन, धनसम्पत्ति, राज्य शक्ति, सामर्थ्य, स्वाभिमान, आत्मनिर्भरताका स्रोत र साधन लगायतका यावत् सम्पदा हात पारी हाम्रो हातमा केवल साम्प्रदायिक दस्ताबेज थमाएर हामीलाई सम्पूर्ण दृष्टिले हरिकङ्गाल बनाए भनी जुन मार्मिक अभिव्यक्ति प्रकट गरेका थिए हामी त्यसले सिकाएको पाठप्रति उदासीन बन्दै आफू उभिएको धर्ती भत्काउनतिर लाग्दै छौँ। धर्मनिरपेक्षता भनेको त्यस्तै परिणाम निम्त्याउने बाटो हो।

हामी क्षणिक रूपमा लाभ हुने कुराबाट हौसिएर आन्दोलन गर्दछौँ, क्रान्ति गर्दछौँ र परिवर्तन गर्दछौँ । त्यस प्रकारका अभियान समाप्त भएको केही समयपछि फुर्सद लिएर पछुतो गर्दछौँ किनभने हामी आफैँले गर्दै गरेका कामको परिणाम सोच्दैनौँ। कुनै समय कैलास नेपालमा पर्दथ्यो। हामीले बडो उदार भएर त्यसलाई जसले लग्छ लगोस् भन्यौँ। आज हामीसित त्यस विषयको पीडादायी पश्चात्ताप मात्र बाँकी छ। २०६२/२०६३ को जन आन्दोलनकोजन आन्दोलनको६३ को जन आन्दोलनको जोसमा हामीले बहसमै नआएका धेरै कुरा आवेश र केही व्यक्तिको क्षणिक स्वार्थमा लागेर एक पटक पनि नसोची हाम्रा आधारभूत मान्यताका कुरा समाप्त पार्यौँ। आज त्यसो त गर्न हुँदैनथ्यो भन्दै रोइरहेछौँ। यस्तो हुनु भनेको समयमा बुद्धि नपुर्यामउनु हो, इतिहासबाट पाठ नसिक्नु हो र मूर्खता पनि हो।

यतिका कुराको भुक्तभोगी भई सकेपछि पनि आज फेरि त्यस्तै इतिहास दोहोर्याखउने काम हामीबाट हुन लागेको छ। यस्तो हुनु दुर्भाग्य हो। अब त कम्तीमा यस प्रकारका अक्षम्य अपराध नगरौँ। संविधान नीति, नियम, पद्धति, सुव्यवस्थाको निर्देशक लिखत भएकोले स्वयंमा धार्मिक दस्ताबेज हो। संविधान जस्तो मूल्यवान् तथा स्तरीय राष्ट्रिय ग्रन्थमा प्रयोग गरिने भाषा अनर्थबोधक र आपत्तिजनक हुनु हुँदैन। फलाना ठाउँमा त यस्तो छ भनेर अरूले गरेका गल्तीलाई नजिर बनाउनु पनि बुद्धिमानी होइन । त्यसैले यस काममा भाषाका मर्मज्ञको सहयोग लिनु नितान्त जरुरी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु