सबैलाई समान बनाउने कडी ‘अवसर” नै होः महावाणिज्यदूत खड्का

अष्ट्रेलियाको न्यु साउथ वेल्सका लागि महावाणिज्यदूत दीपक खड्कासँग भूकम्प पछि नेपालको अवस्था, पुनर्निमाण प्रक्रिया र पुनर्निमाणमा उहाँको सक्रियताका विषयमा असनेपालन्यूज डटकमका प्रधानसम्पादक भीमसेन सापकोटाले गरेको कुराकानीः

भूकम्प पछि तपार्इंको नेपाल बसाई कस्तो रह्यो, प्रकोप पीडितहरूलाई कसरी सघाउनु भयो ?
वैशाख १२ को विनासकारी भूकम्प र त्यसयताका विभिन्न परकम्पका कारण नेपाल जुन रूपमा तहसनहस भयो भनेर बाहिर प्रचारबाजी भयो, एअरपोर्टमा ओर्लने वित्तिकै मैले त्यस्तो केही पाइनँ । अष्ट्रेलियामा तपाईं हामीले सोचेका थियौँ, नेपाल सबै सिध्धयो होला भनेर । तर, काठमाडौँमा पुगेपछि सवैकुरा ठीकै देखेर मन खुसी पनि भयो । काठमाडौँमा सोचे भन्दा निकै कम क्षति देखेँ मैले । नेपाल भूकम्पले क्षतिग्रस्त भयो भनेर हामीले बाहिर प्रचार गर्न र रकम संकलन गर्न त सक्यौँ तर नेपाल आउन चाहने मानिसहरूलाई काठमाडौँमा बस्ने होटल छैन, घुम्ने ठाउँ छैन भन्ने भ्रम हटाउन त्यो भन्दा बढी पैसा खर्च गर्नुपर्ने स्थिति बन्यो ।

त्यसपछि हामी भोलिपल्ट काठमाडौँबाट काभ्रे हुदै सिन्धुपाल्चोक गयौँ । तर, त्यहाँ प्रचार भए भन्दा बढी नै क्षति पायौँ । त्यहाँ बाटाको छेउछाऊ, माथिका बस्तीहरू खण्डहर बनेको, एउटा घर पनि सिधा र ठाडो देख्न नपाउने अवस्था देखियो । ४३ वर्ष पछि आफ्नो गाउँ पुग्दा पुरै परिवर्तन भएको पाएँ । म भूकम्पको डेढ महिनापछि त्यहाँ पुगेको थिएँ । भत्किएका घरहरू पनि पन्छाइसकिएको थियो । त्यहाँ त रूख र खेतबारीहरू मात्र थिए ।

भूकम्पले व्यापक क्षति पुर्यायो, गाउँको अवस्था नियाल्दा त्यो अकल्पनीय क्षति नै हो । तर, हामीले काठमाडौँ नै सकियो भन्ने किसिमको प्रचार गर्नुहुँदैन । त्यहाँको पर्यटन र अन्य कुराहरू यथावत रहेको सन्देश प्रवाह गर्न सक्नु पर्दछ ।

सञ्चार माध्यमहरूमा काठमाडौँको भत्किएका चिजहरू मात्र देखाइयो भन्न खोज्नु भएको हो?
अवश्य पनि । काठमाडौँ पनि नभत्किएको होइन भत्किएको छ । धरहरा, बसन्तपुर दरवार स्क्वायर देखि लिएर थुप्रै पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रहरूको विनास भएको छ । तर, त्यसलाई जोडेर प्रचार गर्दा अन्य नभत्किएका क्षेत्रहरू पनि बाँकी नरहेको सन्देश गयो । धरहरा देखि एभरेष्टसम्म सखाप भएको भान पर्यो मानिसहरूलाई । त्यसले अब नेपाल जानु हुँदैन भनेर कति पर्यटकहरूले भिसा रद्द गरेको समेत हामीले पाएका छौँ । यसले हामीलाई थप घाटा पुर्यायो नि ।

अहिले हामीले पर्यटनको प्रवद्र्धन गर्न जरूरी छ । मुलुकका विग्रे भत्किएका संरचना पुनर्निर्माणका लागि पहिले भन्दा बढी पर्यटक आकर्षित गराउनु पर्ने हुँदा हामी नकारात्मक प्रचारबाजी गर्नु हुँदैन । त्यसले पार्ने असरको बारेमा नजरअन्दाज गर्नु पनि हुँदैन । नेपालको विकासको महत्वपूर्ण खम्वा भनेको पर्यटन नै हो । खाली फण्ड कलेक्सनका लागि र सहयोग ल्याउनकै लागि भन्दा पनि हामीले भएका स्रोत साधनहरू मार्फत विकासको पहल गर्नु पर्दछ । हामीले भूकम्पले सामान्य मात्रै असर गरेका पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, लुम्बिनी लगायतका तिर्थस्थलहरू, अन्य प्राकृतिक सुन्दरताले प्रख्यात ठाउँहरूको प्रचार– प्रसार गर्नु पर्दछ ।

तपाईं ४३ वर्ष पछि गाउँ पुग्नु भयो, राम्रो आतिथ्य सत्कार पाउनु भयो होला हैन?
म गाउँमा पुग्नुको श्रेय पूर्व गृहमन्त्री माधव घिमिरेलाई दिन चाहन्छु । सवै मानिसहरूले बाटोको कारण देखाउँदै जान सकिँदैन होला भनेर अड्कल काटिरहेका थिए । हामी बाटोबाट ओर्लिएर चार घण्टाको पैदल हिँडेर भएपनि गाउँ पुग्यौ । त्यहाँ हामीलाई स्थानीयहरूले बाटोमा घैला, घल्चा, गाग्रीहरू राखेर स्वागत गर्न बस्नुभएको रहेछ । त्यसले हामीलाई बेग्लै प्रभाव पार्यो । सबैकुरा सकिइसक्दा पनि हाम्रा संस्कारहरू, सामाजिक सदासयताहरू जीवित देख्न पाउँदा हामी भावविह्वल पनि भयो । उहाँहरूसँग आफू बस्ने ठाउँ थिएन तर हामीलाई राम्रो पालमा राख्नु भयो । आफूलाई खाने कुरा थिएन, हामीलाई सकेसम्म मीठो मसिनो नै खुवाउने प्रयन्त गर्नुभयो ।

तपाईको गाउँमा अत्यन्त पिछडिएका थामी जातीहरूको बसोबास रहेको छ, थामी समाजमा भूकम्पको प्रभाव चाहिँ कस्तो पाउनु भयो त?
मेरा लागी अपसोचको कुरा रह्यो, मैले जुन लक्ष्यका साथ यहाँबाट उहाँहरूलाई केही सहयोग गर्छु भनेर गएको थिएँ । त्यो गर्न सकिनँ । मैले आफूँसँग भएको सिमित साधनले के नै गर्न सक्ने अवस्था हुन्छ र ? उहाँहरूको अवस्थामा खासै सुधार आउन सकेको रहेन छ । पहिलाको जस्तै सिमान्त अवस्थाबाट गुज्रिरहनु भएको रहेछ । भूकम्पले उहाँहरूलाई प्रताडित त बनाउने नै भयो त्यस बाहेकका कुराहरूले पनि उहाँहरूको जीवनस्तर खासै उकासीएको रहेनछ ।

अर्को कुरा त्यो गाउँमा भूकम्पले सबैलाई समान बनाइदियो । को गरीब, धनी, सम्पन्न बिपन्न भन्ने कुरा नै छैन अब त्यहाँ । सवै समान हैसियतमा आइपुगेका छन् । त्यसक्रममा मैले दोलखामा चारवटा पक्कि स्कूल बनाउने प्रतिवद्धता व्यक्त गरेर अष्ट्रेलिया आएको छु । हामीले खोपासाँगु, थामीसाँगु भोटेसाँगु र जिरी गाविसमा गरी चार स्थानमा विद्यालय र स्कूलको प्रशासनीक भवन बनाइदिन लागेका हौँ । त्यहाँ हामीले एककरोड पाँच लाख सम्म खर्च गर्ने योजना बनाएका छौँ ।

तपाईं आफू ईन्जिनियर पनि भएकोले संरचना तपाईंकै गाइडलाईनमा बन्छन् कि ?
महत्वपूर्ण कुरा के हो भने, म आफू पनि दुर्गम क्षेत्रमा जन्मिएका मान्छे । आजको विकास र परिवर्तनको युगमा पनि आफ्नो घर पुग्न झण्डै चार घण्टा पैदल हिँड्नु पर्छ । विकासको न्यूनतम कुराहरूबाट धेरैपछाडि छ । तथापी मेरा बुबाआमाले पढाइको महत्व बुझेर जुन किसिमले मलाई बाटो देखाउनु भयो, त्यसप्रति कृतज्ञ हुँदै उहाँहरूको सम्मानमा उहाँको नाममा ट्रष्ट स्थापना गरेर र नेपालका बहुचर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत सो कोषमा आवद्ध गराएर मैले योजना सम्पन्न गर्न लागेको छु ।

यसपटक जाँदा मैले ८ लाख रूपैयाँ लिएर गएको थिएँ । त्यसबाट केही सारीहरूपनि लगेको थिएँ । पछि यति धेरै मानिसहरू आउनु भयो कि मैले सवैलाई पुर्याउन सक्ने अवस्था नै बनेन । सारी नपुगेकालाई पैसा बाँडेर आएँ ।

राहत बाँड्न केही अफ्ठ्यारो झेल्नु पर्यो कि?
सरकारले जुन एकद्वा नीति अपनाएको ठीक कुरा हो । कसैले गर्दा सिमित समूह ठाउँलाई मात्र सहयोग पुग्छ । सरकारले गर्दा सबैलाई सहयोग पुर्याउन सजिलो पर्दछ । तर पनि सरकारले राहत बाँड्न जानेहरूलाई अफ्ठ्यारो पारेको मैले पाइनँ ।

सहयोग गर्न पाउँदा तपाईंको आफ्नो व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो?
म सँगै जन्मिएका, हुर्किएका मानिसहरू अझै त्यहाँ छन् । दुःख गरिरहेका छन् र पनि पेटभरी खान पनि पुगेको छैन । तर म भाग्यबस यहाँ सम्मआइपुगेँ । कतिपय सन्दर्भमा दुःख पनि लाग्छ । यो सवको कारण शिक्षा नै हो । शिक्षाकै अभावले उनीहरू पछि परे । म थोरै अघि देखिएँ । सवैलाई समान बनाउने कडि भनेको अवसर नै हो । अवसरले नै कसैलाइै सम्पन्न र कसैलाई विपन्न बनाउँछ । म अवसरकै कारण यहाँ सम्म आइपुगेँ । मैले फेरि गएर त्यहाँ अरूलाई अवसर सिर्जना गर्नुपर्दछ अनिमात्र मेरो क्षमताको सार्थकता रहन्छ ।
अवको तपाईंको सहयोग कस्तो रहन्छ ?
चाइनिजहरूले भन्ने गर्दछन्– ‘एक हजार किताव पढ्नु भन्दा दश हजार माइल हिँड्दा बढि ज्ञान प्राप्त हुन्छ ।’ जो नेपाली मुलुक बाहिर हुनुहुन्छ, उहाँहरूले धेरथोर बढि ज्ञान हासिल गर्नु भएको छ । उहाँहरूले आफ्नो सीप र क्षमताको प्रदर्शन गर्नु पर्दछ । नेपालको शिक्षण पद्धतिमा सैद्धान्तिक कुरा बढी समावेश छ । अष्ट्रेलियामा नेपाली दक्ष ईन्जिनियहरू हुनुहुन्छ उहाँहरूले नेपालमा पुनर्निर्माण प्राधिकरणमा उल्लेखनीय सहयोग पुर्याउन सक्नुहुन्छ ।

विभिन्न संघसंस्थाहरूले आर्थिक सहयोग सरकार मार्फत गर्न हिच्किचाइरहेका छन्, यसका तपाईंका राय सुझाव के छरु त्यसमा एनआरएनको भूमिका के हुन सक्छ ?
त्यसमा मेरो कुरा के छ भने, सरकार नै महत्वपूर्ण अंग हो । जुनसुकै योजना/कार्यक्रम सरकार मार्फत पठाउँदा राम्रो हुन्छ । आजै मात्र पनि मलाई एउटा संस्थाले नेपालमा सहयोग पठाउँदा कुन मार्फत पठाउने भनेर सल्लाह मागेको थियो । त्यसकारण हामीले जहाँ जहाँ सहयोग उठाउँछौँ त्यो सरकार मार्फतै बाड्दा ज्यादा प्रभावकारी हुन्छ । एनआरएनले अष्ट्रेलियाबाट मात्र नभई विश्वका विभिन्न मुलुकहरूबाट राम्रो सहयोेग संकलन गरेको छ । त्यसले नेपालको पुनर्निर्माणका लागि महत्वपूर्ण भूमिका निभाउन सक्छ । एनआरएनले आफैँ पनि त्यो लक्ष्य राखेको छ ।

उदाहरणको लागि संघसंस्था मार्फत राहत बाँड्दा उपत्यकाबाट नजिकका ठाउँहरूमा धेरै राहतको दोहोरियो र दुर्गम भेगमा राहतको समस्या भएको पाइयो । अतः पुनर्निर्माणमा यो समस्या नआवोस् भन्न सरकारकै स्वामित्वमा योजना तथा पुनर्निर्माण गर्दा ज्यादा प्रभावकारी किफायती हुन्छ ।

6 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु