पत्रकारिता सेवा हो, पैसा कमाउने पेशा होइनः वरिष्ठ पत्रकार अधिकारी

अष्ट्रेलियाको पहिलो नेपाली अनलाईन न्यूजपोर्टल असनेपालन्यूज डटकम सातौँ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारितालाई विश्वसञ्जालसँगै जोड्दै तथा डायस्पोराको आवाजलाई थप उजागर गर्न अहोरात्र संघर्षशील पनि छ । प्रवासी नेपाली समूदायको भावनाको समुचित प्रतिनिधित्व गर्दै तथा नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धन, विकास र उत्थानका लागि हामी निरन्तर क्रियाशील रहँदै आएका छौँ । यसै सन्दर्भमा नेपाली पत्रकारिता क्षेत्रको अवस्था, प्रवासी पत्रकारिताको अभ्यासका सन्दर्भमा असनेपालन्यूज डटकमका प्रधानसम्पादक भीमसेन सापकोटाले असनेपालन्यूज डटकमका सल्लाहकार तथा वरिष्ठ पत्रकार ध्रुव हरी अधिकारीसँग उहाँ अष्ट्रेलिया आउनु भएको सन्दर्भ पारेर गरेको महत्वपूर्ण कुराकानीः

अष्ट्रेलियामा कहाँ के गर्दै हुनुहुन्छ?
हाल अष्ट्रलियाको मेलवर्नमा छु । पारिवारिक भेटघाटका लागि आएको हुनाले व्यस्त देखिएको छु ।

अष्ट्रेलियाको बसाई कस्तो हुँदैछ ?
म यहाँ विशुद्ध पारिवारिक सन्दर्भले आएको हुँ । नेपालमा ठूलो भूकम्प गयो । त्यसपछि लगातार परकम्पहरू पनि थपियो । एउटा त्रासदीको अवस्था पनि उत्पन्न भयो । त्यति भयानक विपत्तिलाई नजिकबाट अनुभुत गर्ने मौका पाएँ । त्यसकारण गर्दा परिवारका सवै सदस्यहरू एक आपसमा भेटघाट गर्ने मौका पनि मिलेको थिएन । सन्दर्भ मिलेको कारण यहाँ आएको हुँ । परिस्थितिले छिट्टै धकेल्यो पनि भन्नु पर्छ ।

तपाईं त बरिष्ठ पत्रकार, पत्रकारिताको सिलसिलामा विश्वका विभिन्न मुलुकहरू पनि पुग्नु भएको छ, नेपालको भूकम्पलाई विश्वका सञ्चारमाध्यमहरूले चाँही कसरी लिएको पाउनु भयो?
विश्वका विभिन्न सञ्चारमाध्यमहरूले दुईवटा कोणबाट नेपालको मुल्यांकन गरेको र त्यही अनुसार विष्लेषण गरेको पाएँ । एउटा, नेपाल विगत ८/९ वर्ष देखि यता राजनीतिक संक्रमणमा छ । मुलुकमा राजनीतिक तरलता छ । संविधान निर्माण प्रक्रिया टुंगिएको छैन । यो परिस्थितिबाट नेपाल कसरी अगाडि बढ्छ भन्ने उनीहरूको चासो देखिन्थ्यो । त्यस्तै अर्को भूकम्पबाट नेपालले व्यहोरेको क्षति । त्यस सन्दर्भमा पनि उनीहरूले विभिन्न कोणबाट चर्चा परिचर्चा गरेको हामीले पायौँ । यि दुवै सन्दर्भ राम्रो त होइन । तथापी यिनै विषयले नेपाल अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा स्थान पाएको देखियो ।
नेपालको हित होस् भन्ने चाहने कतिपय राष्ट्रहरूले यो विषयलाई निकै गम्भीरतापूर्वक पनि लिए । कतिपयले त अफवाह फैलाउने दुष्प्रयास पनि गरे ।

त्यस अगाडि पनि अन्तार्राष्ट्रिय समाचार माध्यमहरूले नेपालको समाचार प्रक्षेपण नियमित रूपमा नगरेका भने होइनन् । परम्परागत रूपमा नेपाल सगरमाथा, लुम्विनी, गौतमबुद्धको देश भनेर चिनिने गथ्र्यो । त्यो अहिले पृष्ठभूमीमा मात्रै पर्यो । यसै गरी नेपालका पर्यटकीय सम्भाव्यताका क्षेत्रहरू भूकम्पको कारण ओझेलमा पर्ने अवस्था बन्न पुग्यो ।

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले नेपाललाई एसियाकै गरीब देश भनेर चित्रित गर्ने, त्यस्तै गोपनीयताको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएका नेपालका विभिन्न सम्पदाहरूको फोटाहरू ड्रोनका सहयताबाट खिच्ने आदि गरेर नेपाललाई यस पटक सहयोग भन्दा ज्यादा दुःख दिने कार्य पनि गरे भन्ने कुरा सुनियो नि ?
यो गम्भीर विषय हो । र, यो हाम्रो चासो र चिन्ताको विषय पनि हो । भूकम्प लगत्तै कतिपय देशहरूले नेपालले सहयोगको आह्वान गर्नु अगावै सहयोग पठाए । त्यसमा छिमेकी देश भारत निकै अग्रस्थानमा देखियो । बेलायतले पनि आफ्नो टोली पठाउनका लागि तयारी गरिराखेको थियो तर नेपालले कुनै रेस्पोन्स नगरेपछि ऊ अलिकति अप्रसन्न पनि भयो भन्ने सुनिएको छ । त्यसैबीचमा अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त भयो । दुर्घटनाग्रस्त भएको प्रमाणित नहुञ्जेल र वेपत्ता भइरहेको बखत मानिसहरूले अनेक अड्कल पनि काटे । निषेधित क्षेत्रमा उडेकाले समस्यामा पर्यो कि भन्ने पनि भयो । नेपालको सुरक्षामा संवेदनशील हुन नचाहने विदेशीहरूको एउटा प्रवृत्ति देखियो भने अर्को नेपालको सरकारको धेरै कमजोरी र लाचारीपना पनि । एक त राजनीतिक रूपमा पनि संक्रमणकालीन अवस्था अर्को अकल्पनीय भवितव्यका कारण त्यसको व्यवस्थापन जटिल हुने नै भयो । तर, भएका र चालू आफ्ना संयन्त्रहरूको चुस्त परिचालन गर्न पनि सरकार असमर्थ रह्यो ।

अर्को हामीलाई गरीब भनेर प्रचार गरियो । तर, हामीभन्दा गरीब अरूपनि छन् । छिमेकी देश भारतमा हाम्रो जनसंख्या भन्दा बढी भोका र नांगाहरू छन् । रेडक्रसले अन्तर्राष्ट्रिय तहबाट नेपालको भूकम्पको लागि ठूलो रकम उठायो । त्यो नेपालमा खर्च हुन्छ कि हुँदैन भन्ने शंका छ, त्यस्तै वल्र्ड भिजन भन्ने संस्थाले पनि व्यापक मात्रामा सहयोग रकम संकलन गरेको छ । त्यो कति संकलन भयो, नेपालको कुन क्षेत्रमा खर्च भयो कि हुँदैछ कि त्यसको जानकारी कसैलाई छैन । कतिपय अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको भूकम्पलाई मागि खाने र कमाई खाने भाँडाको रूपमा पनि उपयोाग गरेको छ भन्ने सुन्नमा आएको छ ।

यस्तो परिस्थतिमा ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने नेपाली सञ्चारमाध्यमहरूको भूमिका चाहिँ कस्तो रह्यो ?
समग्रमा नेपाली सञ्चारमाध्यमहरूको भूमिका उल्लेखनीय छ । आफ्नो क्षमता र साधनस्रोतले भ्याउने सम्म उनीहरूले काम गरेकै छन् । तर, नेपालमा राजनीतिकरण धु्रविकरण आदिले गर्दा सञ्चारमाध्यमहरू पनि को, कता, के, भन्ने कुरा पनि उठेको छ । सञ्चारमाध्यमहरूले सत्य र तथ्यमा आधारित भएर सूचना सम्प्रेषण नगर्दा कतिपयमा भ्रम समेत परेको छ । कतिपय अवस्थामा नेपालको सञ्चारमाध्यमहरू व्यवसायिक मर्यादा, निष्ठा र सीप अनुसार अघि बढन् नसकेको हामीले पाएका छौँ । अपुरो र अधुरो समाचार आउने कारण धेरै सञ्चार माध्यमहरूप्रति समूदाय विश्वसनीय हुन नसकेको पाइयो ।

अर्को, प्रवासमा बसेर जो पत्रकारिता गरिराख्नु भएको छ उहाँहरूको भूमिका पनि राम्रो देखियो । उनीहरूले आफ्नो पेशा व्यवसाय आदि भ्याएर पनि नेपाली समूदायहरूलाई सूचना सम्प्रेषण गर्न दत्तचित्त भएको पायौँ ।

नेपालको सञ्चार माध्यमहरूको अनुगमन गर्ने अख्तियारी पाएको प्रेस काउन्सिलको भूमिका चाहिँ कस्तो छ ?
महत्वपूर्ण सन्दर्भ उठाउनु भयो । प्रेस काउन्सिल नेपाल ऐन अनुसार स्थापित भएको संस्था हो । त्यसलाई बजेट सरकारी कोषबाट छुट्टिने गर्दछ । यद्यपी त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न सकेको छैन । सञ्चारमाध्यमहरूको प्रकाशन र प्रशारणको अनुगमन गर्नु उसको मुख्य दायित्व हो । तर त्यसको प्रयोग हुन सकिरहेको छैन । त्यसका विविध कारणहरू छन् । मुख्य कारण भनेको त्यहाँ पनि राजनीति नै हावी भएको छ । त्यहाँ योग्यता तथा पत्रकारिता क्षेत्रमा खारिएका भन्दा पनि पार्टीका बिल्ला भिरेका मानिसहरू प्रवेश भएको कारण हर प्रतिष्ठान र सञ् चारगृह प्रति उसले प्रभावकारी भूमिका देखाउन सकेको छैन । प्रेस काउन्सिल कार्यकर्ता भर्ती केन्द्र होइन, यो नेपाली सञ्चार जगतको व्यवसायिक विकास र स्तरोन्नतिको लागि गठन भएको सरकारको निकाय हो । त्यसकारण आशाधिकारी नभएको तथा व्यवासायिक दक्षता हासिल नगरेका मानिसहरूले त्यहाँ गएर खास काम गर्ने सक्ने अवस्था बन्दैन । प्रेस काउन्सिल नेपाली सञ्चार जगतको पहरेदार हुनु पर्नेमा आफैँ दिन प्रतिदिन कमजोर र धरासाही बन्दै गइरहेको छ ।

dhruba-hari-adhikariविषयगत सीप र दक्षता भएका व्यक्तिहरू पाखा लगाइएको कारण त्यस्तो अवस्था आएको हो?
पछिल्लो समय नेपाली सञ्चार क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । पहिलाको भन्दा धेरै सहज बन्दैछ । तथापि यस्तो सजिलो अवस्थामा पनि मिडियाहरूको सुपरिवेक्षण हुन नसक्नु दुःखद् कुरा हो । मिडियामा विश्वसनियता भन्ने कुरा ज्यादा कमजोर बन्दै गइरहेको छ । त्यसकारण पत्रकारिता क्षेत्रमा आवद्ध मानिसहरूले नै यसको क्षेत्रको व्यवसायिक विकासमा जोड दिनु पर्दछ । प्रेस काउन्सिलको भूमिका निष्पक्ष र प्रभावकारी बनाउन क्रियाशील हुने दायित्व पनि उनीहरू कै हो ।

पत्रकारिता विश्वसनियता नभएर या लगानीकर्ता हावी भएर सञ्चार जगत विटुलीएको हो ?
पेशागत निष्ठा, मर्यादा र सीपको उपयोग गरेर पत्रकारिता मार्फत समाजलाई सुसूचित गर्ने दायित्व हो पत्रकारहरूको । पत्रकारहरू समाजका आँखा र कान हुन् । अखबारहरू, रेडियो, टेलिभिजन र अनलाईनहरू पनि त्यही हुन् । त्यसकारण यिनीहरूले सहि कुरा सुन्नपर्यो । सहि कुरा देख्न पर्यो । सवै विटुलीएपछि विश्वसनीयतामा कमि आउनु स्वभाविकै हो । पेशागत मर्यादा र निष्ठामा सम्झौता गर्नु भएन । अतः नेपालमा नागरिकको सुसूचित हुने हकलाई स्थापित गर्नका लागि पत्रकाहरूले खेल्ने भूमिका बाँकी नै छ । यस्तो परिस्थितिमा मैदान छाडेर भाग्ने होइन चुनौतीको सामना गर्न तम्तयार हुनुपर्दछ । पत्रकारहरूले त्यो खालको क्षमता पनि विकास गर्नु पर्दछ । पत्रकारले त्यो हैसियत राख्ने हो भने सञ्चालकहरू हावी हुने अवस्था आउँदैन । एउटा सानो ढुंगाले पनि तलाउको पानीमा तरंग ल्याउन सक्छ नि ।

पत्रकारिताबाट नेपालमा श्रमजीवी पत्रकारहरू बाँच्न सक्ने के कस्तो अवस्था छ?
संस्थागत तवरले चलेका दुई चारवटा सञ्चार गृहहरू बाँच्न सकेको देखिन्छ । तर, आवश्यकता बढ्दै र आकांक्षाहरू बढ्दै गएकाले तथा बढाइएकाले पत्रकारिता गरेर नै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन । यसमा म के भन्छु भने पत्रकारिता नागरिक सूचनाको आयाम हो । यसमा लागेर धनसम्पत्ति आर्जन गर्ने कुरा हुँदैन । यसमा स्वभाविक हिसावले कमाई कम सेवा ज्यादा गर्नुपर्दछ । धन सम्पत्ति कमाउने हो भने किन यसमा लाग्नु पर्यो ?व्यापार व्यवसाय, बैदेशिक व्यापारमा संलग्न भए भइहाल्यो नि । लहर र रहरमा पसेर भर्याङ बनाएर अर्कोतिर फड्को मार्ने तथा कमाई खाने पेशाको रूपमा प्रभोग गर्ने पेशा पत्रकारिता होइन ।

पत्रकारितामा लागेर धनी बनेका पनि छन् नि?
छन् । तर, त्यो विचलन हो । त्यसबाट पत्रकारहरू आर्थिक रूपमा विकाऊ हुन्छन । प्रभावित हुन्छन भन्ने कुरा कतै चरितार्थ भएको त होइन भन्ने आशंकालाई थप मलजल गर्दछ । नियमित आम्दानीबाट कसैले भौतिक सम्पत्ति जोड्नु त्यो नराम्रो कुरा होइन । त्यसलाई अस्वभाविक लिनु पनि हुँदैन । तर, अस्वभाविक ढंगले यसमा लागेका मानिसहरूले आयआर्जन गर्नु नराम्रो कुरा हो । त्यसो गर्दा नै मानिसहरूले ‘व्ल्याकमेलिङ’ पत्रकारिता गर्यो कि भनेर आशंका गर्दछन् ।

पछिल्लो समय पत्रकारहरू पेशाबाट तथा मुलुकबाट पलायन हुने क्रमपनि बढिरहेको छ नि ?
पत्रकारिता क्षेत्रमा आएको व्यापक परिवर्तन सँगै एउटै विषयवस्तु रेडियोमा सुनिने, टिभीमा देखिने र पत्रिका तथा अनलाईनमा समेत छापिने हुन्छ । त्यस्तै एउटै व्यक्ति क्यामेरा पनि चलाउने, समाचार पनि लेख्ने हुन थालेको छन् । कामको अवसर सिमित हुन थालेकाले त्यस पेशामा आवद्धहरू पलायन हुने क्रम बढेको हुन सक्छ । त्यसकारण प्रविधि, प्ररिस्थिति र प्रवृत्तिले ल्याएको परिवर्तनसँग सामाञ्जस्यता राख्नु पर्ने हुन्छ । फेरि यो विश्वभरको समस्या नै हो । तर, यो सदाकालका लागि हैन ।

आमसञ्चारको विकाससँगै कोठे पत्रकारिता पनि बढ्यो भन्छन्, तपाईंलाई के लाग्छ ?
हरेक १०÷१५ वर्षमा नयाँ नयाँ कुराको विकास हुन्छ । पछिल्लो समय अनलाईनको विकास भएको छ । सञ्चारमाध्यमहरू बढेपनि सूचनाको स्रोत एउटै हुन्छ । त्यही तलमाथि बनाएर समाचार तयार पार्नुपर्ने हुन्छ । त्यसमा समाचार एउटै तर भाषा बेग्लै हुन्छ ।

अर्को बिक्रेता बढ्दैमा क्रेता थपिँदैन । त्यसकारण जसले विश्वसनीय सूचना प्रवाह र स्रोतको व्यवस्थापन गर्न सक्छ प्रतिष्पर्धामा ऊ मात्रै बाँच्छ । प्रतिष्पर्धा हुँदै जाँदा टिक्न सक्ने टिक्छन् अरूचाहिँ बाहिरिन्छन् । २०४६ सालको व्यवस्था परिवर्तन पछि थुप्रै पत्रपत्रिका खुले तर सिमितहरू मात्र रहे । तर पनि लोकतन्त्रमा प्रतिष्पर्धा चाहिँ भइरहन्छ ।

पछिल्लो समय पत्रकारहरू राजनीति दलको भातृ संघ संगठनमा आवद्ध हुने क्रम बढेको छ, यसले निष्पक्ष पत्रकारितामा प्रश्न उठाए न र ?
पत्रकार भनेपछि पत्रकारै हुनुपर्दछ । पत्रकार पार्टी विशेषको कार्यकर्ता हुनुहुँदैन । अर्को पार्टीको कार्यकर्ता भएकाले पत्रकारितामा आउनु पनि भएन । राष्ट्रिय चुनावमा मत हाल्ने कुरा बेग्लै हो । पत्रकारिता पेशा अपनाएर राजनीति गर्नु भएन । पार्टीको लेपन लाग्नु भएन । व्यवसायिक निष्ठामा अडिएर काम गर्ने हो भने मात्र पत्रकारिता क्षेत्रमा आउनु पर्यो । नत्र जनतामा भ्रम पर्न जान्छ । अहिले नेपालको चित्र बिग्रिएको छ । तर यो पुरै बिग्रिएको होइन । परिस्थिति संग्लिन्छ । होइन भने सञ्चारमाध्यम पार्टीको नामबाट खोले भइहाल्यो नि ! त्यसकारण यसमा संलग्न मानिसहरूले प्रयास थाल्नुपर्यो ।

करिब चालिस लाख मानिसहरू मुलुक बाहिर छन्, डायस्पोराको पत्रकारिता अभ्यास कस्तो लागेको छ त तपाईंलाई ?
प्रवासमा धेरै नेपालीहरू हुनुहुन्छ । कोही लामो समय देखि बस्नु भएको छ । कोही छोटो समयको लागि आउनु भएको छ । विदेशका नेपाली आ–आफ्नो काममा व्यस्त छन् । तर पनि उनीहरूले बँचेको समय विभिन्न काममा लगाएका छन् । त्यसमध्ये पत्रकारिता एउटा कर्म भएको छ । यसले नेपाली पन र भाषाको विकास पनि गरेको छ । अष्ट्रेलियामा मात्र होइन युरोप, अमेरिका आदिमा पनि त्यो क्रम बढेको छ । पत्रकारिताले नेपाली समूदायलाई अन्य समूदायसँग परिचित गराइदिएको छ । डायस्पोराको पत्रकारीतामा राजनीति गन्ध पनि भेटिँदैन ।

सञ्चारमाध्यमहरूले देश निर्माणका लागि के कस्तो भूमिका खेल्न सक्छन् ?
हामीले पत्रकारिताको धर्म निर्वाह गर्ने कुरा हो । सत्य तथ्यमा आधारित भएर सूचना सम्प्रेषण गर्ने हो । तथ्यगत रूपमा समाचार प्रस्तुत गर्ने हो । उदाहरणको लागि कुनै गाउँमा आगलागिको घटना भयो र हामीले देख्यौँ भने हामी आगो निभाउन जाने होइन बरू चिच्याएर पल्लो गाउँका मानिसलाई खबर गरिदिने हो । मानिसहरूलाई सूचना दिने हो । समस्या उजागर गरिदिने हो । आफैँ समस्या समाधान गर्न थाल्ने होइन ।

अन्त्यमा केही भन्नु छ कि?
असनेपालन्यूज ले सफलतापूर्वक सात वर्ष पुरा गरी आठ वर्षमा प्रवेश गरेको छ । सल्लाहकारको नाताले म यस अनलाइनको व्यवसायिक विकासका लागि के भूमिका खेल्नु पर्छ सो को लागि तयार छु । पाठक र विज्ञापनदाता सवैलाई विशेष धन्यवाद दिन चाहन्छु । र, आगामी दिनमा समाचारीय विakai-ar-21k-radio-fm-portable (1)श्वयनीयतालाई कायम राख्दै निष्पक्ष सूचना सम्प्रेषण गर्न सफलता मिलोस भन्ने शुभकामना पनि दिन चाहन्छु ।

वरिस्ठ पत्रकार अधिकारी सँग यस अघि लीइएको असनेपाल न्युज रेडियो अन्तर्वार्ता सुन्न तलको लिन्कमा क्लिक गरौं !

वरिस्ठ पत्रकार अधिकारी सँग यस अघि लीइएको  भीडियो  अन्तर्वार्ता सुन्न तलको लिन्कमा क्लिक गरौं !

Comments

comments

सम्बन्धित शिर्षकहरु