वाणिज्य नीति–२०७२ एक साताभित्र आउँछः मन्त्री थापा

sunil-kumar-thapa-e1423559347200-1024x683असार २५ । काठमाडौँ, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले वाणिज्य नीति–२०७२ एक साताभित्र आउने बताएका छन् ।

नेपाल पस्मिना उद्योग सङ्घको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले उद्योगी, व्यवसायी तथा विज्ञको सुझाव लिएर वाणिज्य नीति–२०५७ लाई परिमार्जन गरी नयाँ नीति ल्याउन लागिएको बताए । नयाँ नीतिले मुलुकमा उत्पादन भएका वस्तु निर्यात तथा व्यवसायीको संरक्षण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री थापाले अहिले देशमा करिब रु नौ खर्बको व्यापार घाटा रहेको र त्यसलाई हटाउन कृषि क्षेत्र, सेवा क्षेत्र, जलविद्युत् क्षेत्र र बहु क्षेत्रको व्यापक उपयोग गर्नुपर्नेमा जोड दिँदै सहस्राब्दी लक्ष्य हासिल गर्न व्यापार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक भएकाले उनीहरुको सक्रियता नै देश विकासको आधार हुने बताउँदै उद्योग तथा व्यापार फष्टाउन नीतिगत स्थायित्व आवश्यक रहेको र त्यसका लागि राजनीतिक स्थिरताको खाँचो रहेको औँल्याए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ र नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष दुर्गाविक्रम थापाले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले व्यवसायीलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए । नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष पुष्पमान श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिनाको राम्रो माग भए पनि कच्चा पदार्थको अभाव, विद्युत् भार कटौतीलगायतका समस्याले विदेश निर्यात गर्न नसकिएको बताए ।

त्यस क्षेत्रमा एक हजार व्यवसायी संलग्न छन् भने २० हजारलाई रोजगारी प्रदान गरेको छ । गएको वर्ष पस्मिना रु चार अर्बको कारोबार भएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु