निर्वाचनको प्यानल फुटवल खेलको टीम जस्तै हो: आइसीसी सदस्य सापकोटा

एनआरएनए अष्ट्रेलियाको निर्वाचन सकिएको छ।कूल पाँच सदस्यको लागि भएको एन आर एन ए आइ सि सि निर्वाचनमा चितवन भरतपुर उपमहानगरपालिका वडा नं ६ घर भई विगत २१ वर्ष देखि अष्ट्रेलियामा बस्दै आएका सापकोटाले कूल २,३४० मत सहित पहिलो स्थान हासिल गरेका हुन्। एन आर एन ए आइ सि सि को लागि अस्ट्रेलिया बाट ५ जना सदस्य छनौट गर्नु पर्नेमा यस पदका लागि कुल १० जनाको उम्वेद्वारी परेको थियो ।  निर्वाचनमा बिजयी उम्मेदवारहरू मध्ये सवैभन्दा बढी भोट ल्याएर ‘मेन अफ दी इलेक्सन’ बन्न सफल बन्नुभएका एनआरएनए आइसीसी सदस्य केशव सापकोटासँग असनेपालन्यूजले गरेको संक्षिप्त कुराकानीः

चुनावमा अत्याधिक मत ल्याएर विजयी हुनु भयो कस्तो अनुभुती भइरहेको छ ?
यो परिणामबाट म अत्यन्त हर्षित छु । अष्ट्रेलियामा हजारौँको संख्यामा नेपालीहरू हुनुहुन्छ उहाँहरूप्रति मेरो दायित्व अझै बढेको अनुभुति भएको छ । चुनावी दौरानमा म सवै स्टेटहरूमा पुगेको थिएँ । त्यहाँका नेपालीहरूसँग अन्तक्र्रिया गर्ने मौका पनि पाएको थिएँ । उहाँहरूबाट राम्रो रेस्पोन्स, माया र ममता पाएँ । अहिले मैले क्षमता प्रदर्शन गर्ने जुन मञ्च पाएको छु त्यो मेरो लागि निकै गौरवको कुरा हो ।

अत्यधिक मत ल्याएर विजयी हुनको कारण के हो ?
आइसीसी सदस्यमा म निर्वाचित भएको हुँ  । पाँच जना सदस्यका लागि १० जनाको उम्मेदवारी परेको थियो । मैले २३ सय ४० मत प्राप्त गरेर पहिलो नम्वरमा निर्वाचित भएँ । एक सय १२ जना बिजयी उम्मेदवारहरूले प्राप्त गरेको भोट मध्ये यो सवैभन्दा बढी भोट हो । यसको कारण समूदायले म प्रति गरेको विश्वास नै हो । यसर्थ मलाई अझै बढी जिम्मेवारीबोध भएको छ ।

चुनावमा तपाईंले केही एजेण्डाहरू पनि अघि सार्नुभएको थियो, त्यो पुरा गर्नका लागि अब कत्तिको इमान्दार भएर लाग्नुहुन्छ?
निश्चय पनि इमान्दार हुनै पर्दछ । मैले सीपको प्रवद्र्धन र नेपालमा लगानी भित्र्याउने कुरा जोडदार रूपमा उठाएको थिएँ । त्यस्तै परोपकारका कुरा पनि मैले प्रमुख रूपमा उठाएको थिएँ । कर्मभूमी र मातृभूमीप्रतिको कर्तव्यध मेरो अर्को प्राथमिकताको विषय थियो । त्यसलाई पुरा गर्न मेरो इमान्दार प्रयत्न रहने छ । त्यस्तै मैले हरेक स्टेटमा जाँदा हारेपनि जितेपनि म नेपाली समूदायसँग भेटघाटका लागि आउँछु भनेर बचनबद्धता पनि व्यक्त गरेको थिएँ  । अर्को महिना देखि त्यो पुरा गर्नका लागि लाग्ने छु ।

यस्तै, अग्रजहरूसँग सल्लाह गरेर म नेपालमा लगानी भित््रयाउन लागि पर्नेछु । अहिले हामीसँग आइसीसीमा डा. राजु अधिकारी जस्ता प्रबुद्ध व्यक्तित्व निर्वाचित हुनु भएको छ । उहाँ विगत लामो समयदेखि सीप र प्रविधिको विषयमा लाग्दै आउनु भएको  छ । ग्लोवल्ली टास्क फोर्सको कोअर्डिनेटर पनि हुनुहुन्छ उहाँको नलेजलाई पनि म युटिलाइज गर्ने प्रयास गर्नेछु ।

तपाईं  अध्यात्मिक मानिस पनि हुनुहुन्छ, यहाँको जितले अष्ट्रेलियाको व्यवस्त जीवन तथा प्रवासको दिनचर्यालाई व्यवस्थापन गर्न कत्तिको सघाउला ?
राम्रो सन्दर्भ उठाउनु भयो । मैले स्वभाविक हिसावले अध्यात्ममै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छु  । अध्यात्म जीवनको  यस्तो महत्वपूर्ण पाटो हो । जसले जीवनलाई सुक्ष्म तवरले बुझ्नका लागि सघाऊ पुर्याउँछ । अर्थात जीवन नियाल्नका लागि अध्यात्मीक ज्ञान अनिवार्य छ । हामीले जीवनमा यस्तो मानिस भेट्टाउँदैनौं, जसले अध्यात्मको बाटो नसमातेको होस्  । यो भन्नुको तात्पर्य के हो भने अध्यात्म नै त्यस्तो ज्ञान हो जसले जीवन चिनाउन सक्छ ।

यसर्थ मेरो तात्पर्य मैले जीवन चिनिसकेँ । मैले अध्यात्मको बाटो समातिसकेँ । यो होइन । म प्रयासरत छु । म एनआरएनएका साथीहरूलाई पनि अब यो बाटो हिँड्नका लागि र आफूलाई चिन्नका लागि अभिप्रेरित गर्दछु ।

थोरै विषयान्तर हुन सक्छ, हामीले मालिक भनेर सम्बोधन गर्छौं । हाम्रो मालिक को हो त ? तपाईंले आफ्नो घरलाई या कुनै चिजलाई मालिक मान्नुहुन्छ होला, या कसैले गाडिलाई पनि मालिक मान्न सक्छ । त्यस्तै कतिपयले पेशा, व्यवसाय आदीलाई पनि मालिक मान्न सक्छन् । त्यसैगरी म बैंक व्यालेन्सको मालिक हुँ पनि भन्नु होला । तर अध्यात्मले के भन्छ भने परमेश्वर नै सवैको मालिक हो । हामीसँग भएको भौतिक चिजहरू ति हिजो अर्कैका थिए । भोलि अर्कैको हुनेछ । तपाईंसँग आज जुन घर छ, त्यो पनि हिजो अर्कैले बनाएको हो । फेरि भोलि अर्कैको हुनेछ । आज तपाईंसँग जुन बैंक व्यालेन्स छ, तपाईंको देहान्त पछि त्यो अर्कैको हुनेछ या बैंकमा नै रहने छ । त्यसकारण अध्यात्मिक बाटोमा हिँड्दा मानिसमा असल नियतको विकास हुन्छ । परोपकारिता र समाजसेवा अध्यात्मकै एउटा पाटो हो । यो सापेक्ष कुरा हो । अर्काको सुख र दुःख साटासाट गर्ने र सेवामा होमिने कुरा मैले अध्यात्म मार्फतै सिकेको हुँ ।

निर्वाचनमा प्यानल देखियो । लामो समय देखि एनआरएनमा लागेकोहरू पन्छिए भन्ने पनि सुनियो । यसमा तपाईंले के बुझ्नु भयो?
यो निकै जटिल प्रश्न हो । यसलाई म समसामयिक प्रश्न पनि भन्न रुचाउँछु । चुनावी दौरानमा मलाई धेरै साथीहरूले यही प्रश्न गर्नुभयो । व्यापारी, बुद्धिजीवी, समाजसेवी आदि सवैको यही कुरा थियो । त्यसमा मेरो के उत्तर छ भने एनआरएनएको अहिलेको बिधानले आइसीसी, एनसीसी, एससीस गरी एक सय १२ जना  निर्वाचित हुने व्यवस्था गरेको छ । अतः यसमा आफू निर्वाचित हुनका लागि समूह खडा मात्र भएको हो । कुनै राजनीतिक गतिविधि भएको होइन । म आफैंपनि राजनीतिको बिरोधी मान्छे हुँ । राजनीति जहाँ पनि हुन्छ  । घर, गाउँ, समाज देश तथा व्यापारिक संघ÷संस्था आदी कहाँ राजनीति छैन? प्रवासमा पनि नेपाली राजनीतिको आँखाबाट हेर्नुभएन ।

अहिलेको निर्वाचनमा बनेको प्यानल फुटवल खेलका लागि चाहिने टीम जस्तै हो । कसैले रातो जर्सी लगाएर फुटवल खेल्नु भयो, कसैले हरियो जर्सी लगाएर मैदानमा आउनु भयो । फुटबल खेल्न दुवै पक्षले कोच र अफिसियलहरू तान्नुभयो । केही राम्रा प्लयेर पनि बाँडिए । खेलको स्वभाविक क्रिया हो त्यो । त्यसमा एक टीमले जित्यो अर्को टीमले हार्यो । खेलको अन्तिममा हात मिलाएर बाहिर आयौँ  । अव हामीमा हिजोको प्रतिष्पर्धा र तिक्तता छैन । अहिले यहाँ जसले राजनीति भयो भनिरहेको छ उसले नै राजनीति गरिराखेको छ । प्रबुद्ध व्यक्तिहरूले राजनीति भयो भन्नु भएको छैन । त्यसकारण म उहाँहरूलाई पनि अध्यात्मको बाटोमा आउन अभिप्रेरित गर्दछु ।

आचारसंहितामा त प्यानल पनि नबनाउने भनिएको थियो नि तर यहाँ त उम्मेदवारको सूची नै बनाएर बाँडियो नि?
निर्वाचन आचारसंहितामा जाती, धर्म र राजनीतिका नाममा  प्यानल नबनाउने भनिएको हो । तपाईंलाई एउटा कुरा के प्रष्ट पारौँ भने यहाँ नेपाली समूदायबाट अष्ट्रेलियन पार्टीहरू (लेवर र डेमोक्र्याटिक) को राजनीति गर्नेचाहीँ  निर्वाचन समितिमा बस्न हुने तर निर्वाचन जित्नका लागि समूह बनाउँदा राजनीति भयो भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । मैले नेपालको कुनै राजनीतिक पार्टीको सदस्यता लिएको छैन, अष्ट्रेलियामा बसेको २१ वर्ष भयो म कुनै प्रवासी संघ÷ समतिमा छैन त्यसकारण यहाँ राजनीति भयो भनेर भन्न मिल्दैन ।  जहाँ सम्म उम्मेदवारहरूको लिष्ट बाँडियो भन्ने प्रश्न छ, त्यो निर्वाचन समितिको सल्लाह मुताविकै बाँडिएको हो । धेरै उम्मेदवारहरू चुनाव लडेको र मतदातालाई भोट हाल्न गाह्रो नहोस् भनेर सहजता प्रदान गर्न उम्मेदवारको लिष्ट बाँड्नुको विकल्प थिएन ।

निर्वाचनमा पराजित भएकाहरूले धाँधली भयो भन्छन्, तपाईंलाई के लाग्छ?
मलाई त्यस्तो लागेको छैन । पराजित धेरै मित्रहरूले मलाई बधाई दिइसक्नु भएको छ । धाँधली भयो भन्ने साथीहरूको संख्या अत्यन्त न्यून छ । पराजित धेरैले परिणाम स्वीकारेर फेसवुकमा स्ट्याटस लेखेको देखेको छु । त्यस्तो समस्या छैन ।

अन्तिममा केही भन्नु छ कि?
हामी अहिले प्रवासमा छौँ । हाम्रो प्रवासको इतिहास धेरै लामो पनि छैन । त्यसकारण मातृभुमी र कर्मभुमी प्रतिको दायित्व नभुलौँ । र, आफ्नो संस्कृति पनि नभुलौँ । हामीले हाम्रो संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु पर्दछ ।
त्यस्तै नेपाल सरकारले बैधानिकता दिएको र प्रवासी नेपालीहरूको सवै भन्दा ठूलो तथा संसारको ७२ देशमा फैलिएको एनआरएनलाई आ–आफ्नो ठाउँबाट बलियो बनाऔँ । भूकम्पबाट तहसनहस भएको नेपालको पुनर्निर्माण गर्न लागौँ । एनआरएनएले नेपालमा दशहजार घरहरूको पुनर्निमाण गर्ने घोषणा गरेको छ त्यसलाई पुरा गर्न लागौँ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु