‘प्रहरी देख्दा मलाई डर लाग्छ’

policeअसार १९ । काठमाडौँ, गृहमन्त्रालयमा शुक्रबार एक महत्वपूर्ण कार्यक्रम थियो– रानीबारी हत्याकाण्डका सफल अनुसन्धानकर्ता प्रहरी अधिकारीलाई सम्मान गरेर सिंगो संगठनको मनोबल उकास्ने। कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री वामदेव गौतमलाई कार्यक्रमको उद्देश्य र प्रकृति थाहै नहुने विषय थिएन।

उनले यो हेक्का नराख्दा कार्यक्रममा सहभागी प्रहरीले उत्साही होइन, खिन्न बन्नुपर्योय।
प्रहरीका कामको प्रशंसा गरेर सम्मानको गरिमा राख्नुपर्ने हेक्का नराखी गृहमन्त्री गौतमले आफ्नो भाषणको पूरै समय प्रहरी संगठनकै आलोचनामा बिताए। उनले प्रहरीलाई कमजोर र अक्षम मात्र भनेनन्, अपराधीसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफूलाई प्रहरीदेखि नै डर लाग्न थालेको आक्षेप लगाए।

‘पहिले गृहमन्त्री हुँदा म प्रहरी कार्यालयको अनुगमन गर्न जान्थेँ, साना समस्यासमेत थाहा हुन्थ्यो र समाधान गर्न सक्थेँ,’ उनले भने, ‘अहिले मलाई नै गलहत्याउँछन् कि भन्ने डर लाग्छ, त्यसैले जाँदिनँ।’

रानीबारी हत्याकाण्डको उत्कृष्ट अनुसन्धान गरेकोमा मन्त्रिपरिषदकोे निर्णयअनुसार सम्मानपत्र हस्तान्तरण कार्यक्रम राखिएको थियो। ‘असम्भव’ ठानिएको उक्त हत्याकाण्डको रहस्य १२ वर्षपछि सुल्झाएकोमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका चार अधिकारीलाई कार्यक्रममा नगदसहित सम्मानपत्र दिइयो।

काठमाडौंको रानीबारीमा मारिएका हेमन्त र अञ्जली श्रेष्ठको हत्या अनुसन्धानको नेतृत्व गरेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल, डिएसपी भीमप्रसाद दाहाल तथा प्रहरी निरीक्षकद्वय दीपेन्द्र अधिकारी र महेश बस्नेत सम्मानित भए। तर यही कार्यक्रममा गृहमन्त्री भने प्रहरीको आलोचनामा केन्द्रित रहे।

सम्मान कार्यक्रममा उनले प्रहरी–अपराधी साँठगाँठ हुने गरेको र मुद्दा कमजोर बनाएर उन्मुक्ति दिने गरेको जस्ता गम्भीर आरोप लगाए। अपराध अनुसन्धान विभागको तथ्यांकमा यो वर्ष २० प्रतिशतले अपराध घटेका छन् तर गृहमन्त्री गौतमले अपराध बढेको मात्र दाबी गरेनन्, अपराधी जोगाउने काममा प्रहरी नै संलग्न हुने गरेको गम्भीर आरोपसमेत लगाए।

‘चरी (दिनेश अधिकारी) मार्दैमा गुण्डा नियन्त्रण भयो भन्ने?’ उनले आक्रोश पोखे, ‘न गुण्डागर्दी घटेको छ न अपराध। बरु प्रहरीकै संलग्नतामा अपराधी जोगाउने काम भएको छ।’

कार्यक्रममा गृहमन्त्रीको आक्रोशको चुरो थियो– सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने विवाद।

उनले त्यो कारण पनि बिस्तारै खुलाउँदै गए। सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने अधिकारसहित मन्त्रालयले अगाडि बढाएको नियमावलीमा प्रहरी नेतृत्वबाट भएको विरोधतर्फ संकेत गर्दै उनले आफूलाई प्रहरीदेखि डर लाग्न थालेको बताएका थिए।

प्रहरीमा अनुशासन नभएको भन्दै उनले गृहमन्त्रीलाई खुलेआम आलोचना गर्ने प्रहरी कारबाहीको साटो पुरस्कृत हुने गरेको आरोप लगाए। त्यही संगठनमा प्रहरी महानिरीक्षकको आलोचना गर्दा भने प्रहरी कर्मचारी कारबाहीमा परेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री लक्षित केही बोलेनन्। उनले कार्यक्रममा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई चुनौती दिन भने भुलेनन्।

अर्यालले वन्तलाई लक्षित गर्दै ‘धेरै मान्छेले अनुसन्धानको अधिकारका लागि मुख मिठ्याइरहेको तर अनुसन्धानको बाहिरी आवरण ग्लामर देखिए पनि यसको जटिलतासम्बन्धी ज्ञान नभएको बताए। सरकारले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको मनोबल बढाउने काम गर्न नसकेको भन्दै घुमाउरो शैलीमा उनले गृहमन्त्रीको पनि आलोचना गर्न भ्याए।

गृहमन्त्री र प्रहरी प्रमुखबीच आरोप–प्रत्यारोप चलिरहँदा कार्यक्रममा रहेका वन्त भने केही नभएझैँ मोबाइल चलाएर बसिरहे।

दिउँसो प्रहरी प्रधान कार्यालयमा अपराधसँग जोडिएको विधिविज्ञानको सुदृढीकरणका लागि आयोजित गोष्ठीमा आइजिपी अर्यालले काग र बकुल्लाको कथा सुनाए।

‘बकुल्लाझैँ सेतो हुने रहर लागेपछि काग पनि बकुल्लाझैँ खोलाको किनारमा गएर बस्न थाल्यो र उड्न छाडेर पौडिन थाल्यो,’ गृहसचिव सूर्य सिलवाल, भावी प्रधानन्यायाधीश कल्याण श्रेष्ठ मञ्चमै रहेका बेला अर्यालले भने, ‘आफ्नो कामभन्दा भिन्न काम गर्दा ऊ बिस्तारै दुब्लाउँदै गयो र मर्योश।’ उनको कथा सशस्त्र प्रहरीको अधिकारसम्पन्न प्रहरी बन्ने मोहतर्फ लक्षित थियो।

राज्यका विभिन्न निकायलाई आ–आफ्ना कार्यक्षेत्रमा बस्न सुझाव दिँदै उनले २०१२ सालदेखि प्रहरीको क्षेत्राधिकारमा रहेको अपराध अनुसन्धान संगठनको साखसँग जोडिएको पनि बताए।

सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने अधिकारसहितको नयाँ नियमावली केही दिनअघि मन्त्रिपरिषद विधेयक समितिले पारित गरेको थियो। यो विवादले गृह नेतृत्व र प्रहरी नेतृत्वबीच भित्रभित्रै शीतयुद्ध बढाएको छ भने सशस्त्र र प्रहरी नेतृत्व सम्बन्धसमेत चिस्याएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु