बिसे नगर्चीको सांस्कृतिक रूपान्तरण

१. विषय परिचय

प्रस्तुत लेखमा नेपालको इतिहास र जातीय संस्कृतिसँग गाँसिएको एउटा ऐतिहासिक पात्र बिसे नगर्चीको सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई सबाल्टर्न चेतनाका कोणबाट विश्लेषण गरिएको छ । पृथ्वीनारायण शाहकालीन नेपालको ऐतिहासिक विमर्शमा यस पात्रको एउटा धमिलो तर निकै अर्थपूर्ण उपस्थिति रहेको देखिन्छ । अत्यन्त निम्नवर्गीय दलित र उत्पीडित जातिको यो पात्र परम्परागत नेपाली समाजको आर्थिक तथा सांस्कृतिक ज्ञान र शक्तिको विमर्शात्मक संरचनाको केन्द्रमा रहन नसकेकोे सबाल्टर्न वर्गको एउटा प्रतिनिधि पात्र हो । नेपाली साहित्यमा पनि यस पात्रलाई दुई अलग अलग कालखण्डका दुई जना सर्जकहरूले फरक विधा र फरक पृष्ठभूमिमा नायकत्व प्रदान गरेको पाइन्छ । यस पात्रलाई सर्वप्रथम एकाङ्कीकार भीमनिधि तिवारीले वि. सं. २००८ सालमा प्रकाशित ‘बिसे नगर्ची’ नामक एकाङ्कीको नायकका रूपमा प्रस्तुत गरेका छन् भने त्यसको ५४ वर्षपछि कवि श्रवण मुकारूङले वि. सं. २०६२ सालमा ‘बिसे नगर्चीको बयान’ नामक कवितामा नायकत्व प्रदान गरेका छन् । यी दुवै रचनामा एउटै पात्रको नायकत्व रहे पनि नेपाली समाजको परिवर्तित चेतना र त्यसबाट निर्मित सांस्कृतिक रूपान्तरणको शृङ्खलालाई यस पात्रले अत्यन्त फरक र रोचक ढङ्गले प्रतिबिम्बित गरेको पाइन्छ । यही सांस्कृतिक रूपान्तरण प्रक्रियाको सूक्ष्म विश्लेषण गर्ने दिशातर्फ नै यो लेख केन्द्रित रहेको छ ।

२. सैद्धान्तिक पर्याधार

२.१ सबाल्टर्नको अर्थ र अभिप्राय

‘सबाल्टर्न’ शब्दले कुनै पनि समाजमा युगौँदेखि किनारामा पारिएका आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन वर्गलाई बुझाउँछ । यो शब्द गरिब, विपन्न, पिछडिएका, दलित, सीमान्तीकृत, श्रमिक, सर्वहारा, उत्पीडित, उपेक्षित, शासित, शोषित वा सबै किसिमले निमुखा बनाइएका मानिसहरूको पर्यायका रूपमा रहेको छ । यस्ता मानिसहरू जातीय, वर्गीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक, भाषिक, पेसागत, लैङ्गिक, शारीरिक आदि विविध कारणहरूले प्रभुत्वशाली वर्गको अधीनमा रहन बाध्य भएका र समाजको मूल प्रवाहबाट पछि पारिएका हुन्छन् । राज्यको समग्र स्रोत, साधन तथा ज्ञान र शक्तिको पहुँचभन्दा टाढा रहेका उनीहरू आफ्नो हक र अधिकारका लागि आफै बोल्न सक्दैनन् । त्यसैले हरेक किसिमले विभेद गरिएका, शोषण र उत्पीडनको सिकार भएका तल्लो दर्जाका व्यक्ति, वर्ग वा समुदायलाई सबाल्टर्न भनिन्छ ।

विविध अर्थमा सबाल्टर्न शब्दको प्रयोग पहिलेदेखि नै हुँदै आएको भए पनि हैकम वा प्रभुत्व (हेजेमनी) को अधीनस्थ रहेको तल्लो वर्गको तात्पर्यमा यस शब्दको पहिलो प्रयोग इटालीका चिन्तक आन्तोनियो ग्राम्चीले गरेका हुन् । सबाल्टर्न सम्बन्धी उनका विचार तथा पछिल्लो समयमा विकसित सांस्कृतिक अध्ययनका मान्यताहरूलाई समेत समेटेर सन् १९८२ देखि रञ्जित गुहा, गायत्री चक्रवर्ती स्पिभाक, एडवार्ड सइद, सुमित सरकार आदिको सक्रियतामा सबाल्टर्न अध्ययन अभियान भारतीय भूमिबाट योजनाबद्ध ढङ्गले प्रारम्भ भएर पश्चिमी मुलुकहरूमा पनि फैलिएको पाइन्छ । सुरूमा यसका अभियन्ताहरू इतिहासमा मात्रै केन्द्रित रहेर टुप्पाबाट लेखिएको दक्षिण एसियाली इतिहासको परम्परागत विमर्शलाई भत्काउँदै फेदबाट इतिहासको पुनर्लेखन गर्न क्रियाशील रहे भने पछि यस अध्ययनले अन्य विषयहरूलाई पनि समेटेर बहुआयामिक दिशा प्राप्त ग¥यो । यसलाई पहिलो चोटि साहित्यिक मोड दिने कार्यमा गायत्री चक्रवर्ती स्पिभाकको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । आज सबाल्टर्न अध्ययन अनेकौँ चर्चा, वहस र विवादहरूसँगै विश्वव्यापी रूपमा लोकप्रिय बनिरहेको छ ।

साहित्यलाई नवीन ढङ्गले व्याख्या गर्ने र यसको सामाजिक सरोकारका विविध र बहुआयामिक पक्षहरूलाई सूक्ष्म रूपमा अनुशीलन गर्ने क्रममा देखा परेका अनेकौँ अध्ययन पद्धतिहरूको शृङ्खलामा सांस्कृतिक अध्ययनको एउटा महत्वपूर्ण पक्षका रूपमा नेपाली साहित्यमा पनि पछिल्लो समयमा आएर सबाल्टर्न अध्ययनको विषय प्रारम्भ भएको छ । नेपाली समाज र संस्कृतिका सन्दर्भमा सबाल्टर्न को हुन् र साहित्यमा उनीहरूको पहिचान र प्रतिनिधित्व कस्तो छ ? भन्ने प्रश्नका साथ साहित्यिक कृतिहरूको सूक्ष्म विश्लेषण र मूल्याङ्कन गर्ने कार्य नेपाली साहित्यमा पनि एउटा नवीन र गम्भीर विमर्शका रूपमा प्रवेश भएको छ । मान्छेको मूल्यलाई केन्द्रमा राखेर आवाजविहीनहरूको आवाजलाई मूल धारमा स्थापित गर्ने यो अभियान नेपाली साहित्यका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक र महत्वपूर्ण रहेको देखिन्छ ।

२.२ सबाल्टर्न अध्ययनका मूल आधारहरू

कुनै पनि साहित्यिक कृतिभित्र सबाल्टर्न चेतनाको सूक्ष्म अध्ययनका लागि सैद्धान्तिक तथा अवधारणात्मक आधारहरू निर्धारण गर्नु आवश्यक हुन्छ । यिनै आधारहरूबाट सबाल्टर्न अध्ययनले एउटा निश्चित र सुव्यवस्थित दिशानिर्देश प्राप्त गर्दछ । यसका लागि सबाल्टर्नको पहिचान, प्रतिनिधित्व र अप्रतिनिधित्व, प्रतिरोध चेतना, लेखकको अवस्थिति तथा भाषा प्रयोग जस्ता आधारहरू निर्धारण गर्नु उपयुक्त हुने देखिन्छ, जसको सङ्क्षिप्त परिचय निम्नानुसार प्रस्तुत गरिन्छ—

क. सबाल्टर्नको पहिचान

सबाल्टर्न को हुन् र को होइनन् भन्ने बारेमा विभिन्न अन्योल र मतमतान्तरहरू रहेका छन् । त्यसैले सबाल्टर्न चेतनाको सूक्ष्म र सघन अध्ययनका लागि वास्तविक सबाल्टर्नको पहिचान गर्नु नै पहिलो र आधारमूत सर्त हो । यसका लागि सर्वप्रथम ऊ आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन पात्र हो कि होइन भन्ने तथ्यलाई निर्धारण गर्नुपर्छ । यदि हो भने ऊ जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गिक आदि कुन आधारमा निमुखा बनाइएको र सबैभन्दा तल्लो तहमा पारिएको पात्र हो ? ऊ एउटै आधारमा वा एकभन्दा बढी आधारहरूमा किनारीकृत बनेको छ ? ऊ कस्तो किसिमको प्रभुत्वको सिकार भएको छ ? प्रभुत्वलाई उसले कसरी वरण गरेको छ ? उसले व्यक्तिको प्रतिनिधित्व गर्छ कि वर्गको ? यी र यस्तै प्रश्नहरूका माध्यमबाट साहित्यमा वास्तविक सबाल्टर्नको पहिचान प्राप्त गर्न सकिन्छ । यसका लागि समाजको समग्र धरातलीय यथार्थको सूक्ष्म र वस्तुगत विश्लेषण गर्नु जरूरी हुन्छ ।

ख. प्रतिनिधित्व तथा अप्रतिनिधित्व

कुनै पनि साहित्यिक कृतिभित्र सबाल्टर्न पात्रको प्रतिनिधित्व वा अप्रतिनिधित्वका विविध सन्दर्भहरू रहेका हुन्छन् । सबाल्टर्न अध्ययनका लागि यो दोस्रो महत्वपूर्ण खुट्किलो हो । कृतिभित्र सबाल्टर्न पात्र वा उसको आवाजको प्रतिनिधित्व गराइएको छ कि छैन ? गराइएको छ भने के कसरी र कस्तो अवस्थामा गराइएको छ ? गराइएको छैन भने त्यसका आधारभूत कारणहरू के हुन सक्छन् ? उसको प्रतिनिधित्वको ऐतिहासिक तथा सामाजिक सन्दर्भ कस्तो छ ? उसले जीवन चेतनाको अभिमुखीकरण कसरी गरेको छ ? ऊसँगै उसको सांस्कृतिक प्रतिनिधित्व भएको छ कि छैन ? यी विभिन्न प्रश्नहरूका कोणबाट साहित्यमा सबाल्टर्न चेतनाको खोजी र विश्लेषण गर्न सकिन्छ ।

ग. प्रतिरोध चेतना

साहित्यमा प्रतिनिधित्व गराइएको सबाल्टर्न पात्र कसरी बोलेको छ ? उसले आफ्नो अन्तर्आत्माको आवाजलाई बोलेको छ कि छैन ? ऊ आफै बोलेको छ वा उसका लागि अरू कसैले बोलिदिएको छ ? ऊ आफ्नो अधिकारप्रति सचेत छ कि छैन ? उसले प्रभुत्वका विरूद्ध के कसरी प्रतिरोध गरेको छ ? ज्ञान र शक्तिको केन्द्रतिर आउने प्रयत्न गरेको छ कि छैन ? उसको जीवन चेतना र काल चेतना कस्तो छ ? सबाल्टर्न अध्ययनका लागि यी प्रश्नहरू सर्वाधिक महत्वपूर्ण र निर्णायक प्रश्नहरू हुन् । त्यसैले कुनै पनि साहित्यिक कृतिभित्र सबाल्टर्नको सूक्ष्म अध्ययनका लागि उसको आवाज तथा प्रतिरोध चेतनाको खोजी गर्नु जरूरी हुन्छ ।

घ. लेखकको अवस्थिति

सबाल्टर्न अध्ययनको अर्को महत्वपूर्ण आधार लेखकको अवस्थिति हो । लेखकले कुन जाति, वर्ग, लिङ्ग, क्षेत्र आदिको प्रतिनिधित्व गर्छ ? उसले निर्माण गरेका पात्रहरूको अवस्थासँग उसको सहधर्मिता कस्तो छ ? उसले पात्रप्रति न्याय गरेको छ कि छैन ? उसको सहानुभूति र पक्षधरता कता छ ? उसले आफूले भोगेको वास्तविकतालाई सहज र स्वाभाविक रूपमा अभिव्यञ्जित गरेको छ वा कुनै काल्पनिक संसारको निर्माण गरेको छ ? यी प्रश्नहरूले पनि सबाल्टर्न अध्ययनका लागि त्यत्तिकै गम्भीर अर्थ राख्छन् । यदि पात्र र लेखकको अवस्थितिमा सहधर्मिता रहेको छ भने त्यसले बढी प्रामाणिकता र आधिकारिकता प्राप्त गर्छ ।

ङ. भाषा प्रयोग

कृतिमा प्रयुक्त भाषा पनि सबाल्टर्न अध्ययनका लागि एउटा महत्वपूर्ण उपकरण हो । यसका लागि लेखकको वर्णनमा प्रयोग भएको भाषा तथा पात्रहरूको संवादमा प्रयोग भएको भाषाको सूक्ष्म विश्लेषण गर्नु आवश्यक हुन्छ । पाठको संसारभित्र सबाल्टर्नका लागि प्रयोग गरिएको भाषा कस्तो छ ? उसले आफ्नै स्वाभाविक भाषा बोलेको छ कि लेखकको बनावटी भाषा बोल्न विवश बनाइएको छ ? लेखकको भाषाद्वारा उसको स्वायत्त सत्ता अतिक्रमित भएको छ कि छैन ? यी र यस्तै प्रश्नहरूको केन्द्रीयताबाट साहित्यमा सबाल्टर्न चेतनाको गहन अध्ययन गर्न सकिन्छ ।

उपर्युक्त बुँदाहरू नै साहित्यमा सबाल्टर्न अध्ययनका लागि मूलभूत प्रस्थापनाहरू हुन् । साहित्यिक कृतिको विश्लेषणका सन्दर्भमा सबाल्टर्न चेतनाको सूक्ष्म र प्रामाणिक परीक्षणका लागि कुनै निश्चित मापदण्ड तथा सैद्धान्तिक ढाँचा निर्माण भइनसकेको र यसको बहुमान्य स्वरूप पनि स्थीरीकरण नभएको अवस्थामा यिनैलाई अवधारणात्मक ढाँचाका रूपमा अवलम्बन गर्न सकिन्छ । प्रस्तुत अध्ययनपत्रमा पनि यी मध्ये केही प्रमुख बुँदाहरूलाई केन्द्रमा राखेर एउटा सबाल्टर्न पात्र बिसे नगर्चीका विविध आयामहरूको विश्लेषण गरिएको छ ।

३. बिसे नगर्चीको पहिचान र प्रतिनिधित्व

३.१ नेपालको ऐतिहासिक विमर्शमा बिसे नगर्चीको पहिचान

पृथ्वी नारायण शाहको इतिहास लेख्ने क्रममा विभिन्न इतिहासकारहरूले बिसे नगर्चीको प्रसङ्गलाई पनि सामान्य रूपमा स्पर्श गरेको पाइन्छ । यस पात्रलाई कतै ‘बिस्या दमाईँ’ र कतै ‘बिस्या नगर्ची’ को नाममा उल्लेख गरिएको देखिन्छ । गोरखा दरबारको नजिकै रहेको झुपडीमा बसोबास गर्ने यो पात्र आर्थिक रूपमा विपन्न र जातीय रूपमा दलित वर्गको प्रतिनिधित्व गर्ने एउटा वास्तविक पात्र हो । त्यस बेला ऊ राजपरिवारका सदस्यहरूको लुगा हातले सिउने तथा युद्ध र चाडपर्वका बेला सधैँ अग्र पंक्तिमा रहेर नगरा बजाउने काम गर्दथ्यो । यसरी यस पात्रले दमाईँ जातिको परम्परागत सांस्कृतिक पहिचानलाई निरन्तरता दिएको पाइन्छ ।

इतिहासमा उल्लेख भएअनुसार नुवाकोटको युद्धमा पराजित भएपछि काशीका सिद्धबाबासँग आशीर्वाद लिन जाने क्रममा खर्चको अभावले छटपटाएका राजा पृथ्वी नारायणलाई उसले महत्वपूर्ण सुझाव दिएको थियो । उसले ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उखानको उदाहरण दिँदै रैतीहरूबाट गच्छे अनुसारको चन्दा उठाउने सल्लाह दिएको र उसकै सल्लाह बमोजिम राजाले आना, सुका, मोहोर गर्दै चन्दा उठाएको, पैसा नहुनेहरूबाट अन्न उठाएको र अन्न पनि नहुनेहरूबाट श्रमदान गराएको भन्ने जानकारी पाइन्छ । त्यस अघिसम्म युद्धमा निःशुल्क लड्दै आएका सिपाहीहरूलाई तलब बापत संकलित अन्न दिन थालिएको कुरा पनि इतिहासमा उल्लेख गरिएको भेटिन्छ ।

शक्तिसम्पन्न शासकहरूलाई केन्द्रमा राखेर लेखिएको र उनीहरूको गुणगानमा केन्द्रित रहेको इतिहासका छिद्रहरूबाट चिहाउँदा बिसे नगर्ची सम्बन्धी यति मात्र जानकारी उपलब्ध हुन्छ । यस बाहेक उसको अन्य स्थिति अज्ञात रहेको र उसका पुर्खा तथा सन्ततिहरूको अवस्था पनि अनाम र इतिहासविहीन बनेको देखिन्छ । उसका सन्ततिहरू अहिले पनि गोरखा दरबारको आसपासमा अत्यन्त कष्टकर र दयनीय जीवन यापन गरिरहेका छन् । यसरी दलित र उपेक्षित वर्गको प्रतिनिधित्व गर्ने बिसे नगर्ची नेपालको ऐतिहासिक विमर्शसँग जोडिएको एउटा सबाल्टर्न वर्गको व्यक्ति हो ।

३.२ नेपालको सामाजिक तथा सांस्कृतिक विमर्शमा बिसे नगर्चीको पहिचान

नेपालको परम्परागत सामाजिक तथा सांस्कृतिक विमर्शका कोणबाट हेर्दा बिसे नगर्ची एउटा निश्चित जातिको प्रतिनिधित्व गर्ने व्यक्ति हो । उसले नेपालका विविध जातजातिहरूमध्ये हिन्दू वर्णव्यवस्थाका आधारमा सबैभन्दा तल्लो तहमा सूद्र वर्गअन्तर्गत राखिएको र परम्परागत रूपमा लुगा सिउने र बाजा बजाउने पेशा अँगाल्दै आएको दमाईँ जातिको सांस्कृतिक वैशिष्ट्यलाई वरण गरेको छ । ज्ञान र शक्तिको पहुँचभन्दा बाहिर रहेको यस पात्रले नेपालको परम्परागत सामाजिक तथा सांस्कृतिक सन्दर्भमा अस्पृश्य, अछुत, असूर्य, पददलित, अन्त्यज, सबाल्टर्न, सीमान्तीकृत, अल्पसख्यक आदि शब्दद्वारा पुकारिने दलित र उत्पीडित जातिको प्रतिनिधित्व गर्दछ ।

नेपाली समाजमा दमार्इँ जातिलाई परियार, दर्जी, नगर्ची, सूचीकार, दर्नाल, भिर्कोटी, स्यायो, सुगरेखाती, बगरेखाती आदि शब्दले पनि सम्बोधन गरिएको पाइन5 । इतिहासको लामो कालयात्रामा यस जातिले आफू सधैँ अपहेलित रहेर उच्च वर्गका व्यक्तिहरूको सेवा गरेको देखिन्छ । आफूले सिलाएका लुगा लगाउने उच्च जातिबाटै सधैँ अछुत व्यवहार गरिने तथा विभिन्न माङ्गलिक कार्यहरूमा बाजा बजाएर शुभ साइत र मनोरञ्जन प्रदान गरे पनि सधैँ उपेक्षित रहनुपर्ने सामाजिक विषमताबाट यस जातिको मौन इतिहास गुज्रिएको छ । बिसे नगर्ची पनि यही सामाजिक तथा सांस्कृतिक उत्पीडनको भोक्ता हो । त्यसैले नेपालको ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विमर्शका सन्दर्भमा उसको पहिचान एउटा आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन सबाल्टर्न वर्गको प्रतिनिधि पात्रका रूपमा रहेको देखिन्छ ।

३.३ नेपाली साहित्यमा बिसे नगर्चीको प्रतिनिधित्व

नेपाली साहित्यमा बिसे नगर्चीलाई नायक बनाएर हालसम्म दुई वटा रचनाहरू तयार पारिएका देखिन्छन् । समाज, संस्कृति र इतिहासको सीमान्त परिधिमा रहेको यस पात्रलाई पहिलोचोटि भीमनिधि तिवारीले नायकका रूपमा प्रयोग गरेर साहित्यिक विमर्शको केन्द्रमा उभ्याउन खोजेका छन् । उनको ‘पाँच ऐतिहासिक एकाङ्की’ (२००८) नामक सङ्ग्रहमा समेटिएको ‘बिसे नगर्ची’ शीर्षक एकाङ्कीभित्र यो पात्र सर्वप्रथम आफ्नो सांस्कृतिक परिचय सहित उदाएको छ । यस एकाङ्कीमा वि. सं. १८०० साल कार्तिक महिनाको एक विहान उसको दयनीय झुपडीको आँगनमा राजा पृथ्वीनारायण शाह उपस्थित भएर ऊसँग राज्यको आर्थिक समस्याका बारेमा चिन्ता व्यक्त गर्दा उसले महत्वपूर्ण सल्लाह दिएको प्रसङ्ग उल्लेख गरिएको छ ।

यस एकाङ्कीमा राजाले नुवाकोटको युद्धमा एउटा सिद्धले आफूलाई भेट्न खोज्दा कामको बेफुर्सदले भेट्न नसकेको र उनी रिसाएर ‘अब मलाई भेट्न काशी आउनू’ भन्दै गएकाले उनकै आशीर्वाद नपाएर युद्धमा पराजीत हुनुपरेको हो कि भन्ने आशङ्का प्रकट गर्दै काशी गएर तीर्थ पनि गर्ने र उनलाई पनि भेट्ने कुरा व्यक्त गर्दछन् । त्यसै गरी उतातिरको चालामाला बुझ्न र केही गोलाबारूद तथा हातहतियार किन्न घोडा मियाना सहित पन्ध्र बीस जना जानुपर्ने भएकाले आफूलाई दश बाह्र हजार रूपैयाँ आवश्यक परेको तर युद्धमा राज्यको ढुकुटी रित्तिएकाले चिन्तित भएर सल्लाह माग्न आएको दुखेसो पनि प्रकट गर्दछन् ।

बिसे नगर्चीले निकै सोचविचार गरेर एउटा उपाय निकाल्छ । उसले गोर्खामा कति धुरी छन् भनेर राजालाई प्रश्न गर्छ र बाह्र हजार घरधुरी भएको जवाफ पाउने वित्तिकै भित्र गएर राजाका लागि एक रूपैयाँ बाटो खर्च लिएर आउँछ । आफू अपमानित भएको ठानेर राजा नराम्ररी रिसाउँदा उसले राजा भएर रिस गर्ने होइन विचार गर्नुपर्छ भनेर सम्झाउँछ । गोर्खाका सबै घरधुरीबाट गच्छे अनुसार सहयोग उठाउने आशय बुझेपछि राजाले खुसी हुँदै उसको सल्लाह र सहयोग ग्रहण गर्छन् । यही नै यस एकाङ्कीको मूल कथ्य सन्दर्भ हो । यसरी यस एकाङ्कीमा बिसे नगर्चीलाई राजाको सेवक, शुभचिन्तक र सल्लाहकारका रूपमा प्रतिनिधित्व गराइएको देखिन्छ ।

बिसे नगर्चीको अर्को अवतार कवि श्रवण मुकारूङको ‘बिसे नगर्चीको बयान’ कवितामा प्रकट भएको छ । वि. सं. २०६२÷६३ सालको ऐतिहासिक जन आन्दोलनको पृष्ठभूमिमा लेखिएको यो कविता पहिलो पटक रेडियो बचाउ आन्दोलनको कार्यक्रममा वाचित भएको र त्यसै साल ‘नेपाल राष्ट्रिय साप्ताहिक’ पत्रिकामा प्रकाशित भएको पाइन्छ । त्यसपछि विभिन्न श्रव्य दृश्य मिडिया, पत्रपत्रिका तथा आन्दोलनका अनेकौँ कार्यक्रमहरूमा यो कविता सैयौँ चोटि प्रसारित, प्रकाशित एवं वाचित भएको र नेपाली कविताको पछिल्लो कालप्रवाहमा सर्वाधिक चर्चा र लोकप्रियताको उत्कर्षमा पुगेको देखिन्छ । यस कवितामा बिसे नगर्चीको परम्परागत परिचयको विनिर्माण गरेर उसको चेतनाको समकालीन रूपान्तरणको खोजी तथा मौन इतिहासको पुनव्र्याख्या गरिएको पाइन्छ । दलित र सीमान्तीकृत समुदायको एउटा ऐतिहासिक पात्र बिसे नगर्चीको विद्रोहपूर्ण आवाजलाई समेटेर लेखिएको यस कविताले निरङ्कुश राजतन्त्र तथा सामन्ती राज्यव्यवस्थाको विरूद्धमा सशक्त प्रहार गरेको छ ।

अढाई सय वर्षपछि गोरखा राज्यमा बिसे नगर्ची बहुलाउँछ । उसको टाउको फनफनी घुम्छ, जमिन आकाशतिर र आकाश जमिनतिर हुन्छ । आँखा तिर्मिर तिर्मिर भएर ऊ आफ्नो मालिक राजाको शिर दस वटा देख्न थाल्छ । स्वास्नी मारिनु, छोरी बलात्कृत हुनु, झुप्रो जलाइनु, हातखुट्टा भाँचिनु, रगत बग्नु तथा आफूलाई आतङ्ककारी र अराष्ट्रिय भनिनु जस्ता कारणहरूलाई सहन नसकी ऊ बहुलाएको हुन्छ । बहुलाएपछि उसले आफू र आफ्नो पैताला खोज्न थाल्छ । अब ऊ राजाका भारदारलाई लबेदा सिउन, नर्सिङ्गा र सहनाई बजाउन, मङ्गलगान वा ऋतुगीत गाउन तथा राज्यको पहरा गर्न नसक्ने घोषणा गर्छ ।

बहुलाएपछि ऊ ठिक्कले बोल्न सक्दैन । ऊ अग्ला पहाडहरूलाई होचा देख्छ । सग्ला र कल्कलाउँदा मानिसहरूलाई खुनी र कुरूप देख्छ । दरौँदी नदी उल्टो बगेको र दरबार खण्डहर जस्तो बनेको देख्छ । ऊ आफूलाई आतङ्ककारी र अराष्ट्रिय भनिएकोमा प्रतिवाद गर्छ । भ्रममा पर्नु, मालिकको दिव्योपदेश पालन नगर्नु, रक्सी खानु र यो देश मैले पनि आर्जेको हुँ भन्नु, भानुभक्त बाजेको गीत र आफ्नो सियोलाई बराबर ठान्नु, सुकिला लुगा ओढेकाहरूलाई आफ्नो नाङ्गो आङ देखाउनु, आफ्नै भगवानलाई गाली गर्नु, आफैसँग निहुँ खोज्नु, आफ्ना दरसन्तानहरूलाई खोज्न चाहनु र तरबारले आर्जेको मुलुकभन्दा धागोले उनेको मुलुक विशाल ठान्नु ऊ बहुलाएपछिका परिणाम र प्रतिक्रिया हुन् । यस कवितामा बिसे नगर्चीलाई एउटा विद्रोही र प्रतिरोध चेतनायुक्त पात्रका रूपमा उभ्याइएको देखिन्छ ।

यसरी भीमनिधि तिवारी र श्रवण मुकारूङ दुवै स्रष्टाका रचनामा एउटै पात्र बिसे नगर्चीको फरक रूप र फरक अवतारमा प्रतिनिधित्व भएको देखिन्छ, जसले फरक कालखण्डको विमर्शात्मक संरचनामा रहेका सांस्कृतिक मूल्यहरूको रूपान्तरण प्रक्रियालाई सूक्ष्म रूपमा अभिव्यञ्जित गरेको छ । यी दुवै स्रष्टाहरूले शब्दको शक्तिलाई आआफ्नो युगको चेतनाअनुसार अभिव्यञ्जित गरेका छन् । दुवैले सिर्जना गरेका पात्रहरूको सांस्कृतिक तथा मनोवैज्ञानिक धरातल पृथक् छ । युगीन यथार्थको स्वरूप र सामाजिक सत्यको अनुहार पृथक् छ ।

४. बिसे नगर्चीको रूपान्तरण र प्रतिरोध चेतनाको स्थिति

वास्तविक बिसे नगर्ची र साहित्यिक विमर्शमा रूपान्तरित उसका पछिल्ला जूनीहरू नेपालको इतिहासका अत्यन्त महत्वपूर्ण समयबिन्दुसँग गाँसिएका छन् । युगान्तकारी राजनीतिक परिवर्तनका अलग अलग विशिष्ट क्षणहरूमा उसको अर्थपूर्ण उपस्थिति रहेको देखिन्छ । नेपाल राज्यको जन्म तथा शाह वंशको उदयसँगै वि. सं. १८०० तिर अस्तित्वमा रहेको यो पात्र राणाकालमा शक्तिहीन बनेको राजतन्त्रले २००७ सालपछि शक्तिको पुनप्र्राप्ति गरेको समयविन्दुमा पनि टुप्लुक्क उदाएको देखिन्छ भने २०६२÷६३ को जनआन्दोलन तथा शाह वंशीय राजतन्त्रको पतनको इतिहाससँग पनि यसको सम्बन्ध त्यत्तिकै महत्वपूर्ण रूपमा गाँसिएको छ । यसरी शाह वंशका पहिला राजा पृथ्वीनारायणदेखि नवौँ राजा त्रिभुवन हुँदै अन्तिम राजा ज्ञानेन्द्र शाहसम्मको कालयात्रामा बिसे नगर्चीको प्रतीकात्मक सहउपस्थिति रहेको पाइन्छ । विभिन्न ऐतिहासिक कालखण्डमा यस पात्रको सांस्कृतिक रूपान्तरण एवम् प्रतिरोध चेतनाको अवस्था निम्नानुसार रहेको छ—

४.१ बिसे नगर्चीको पहिलो रूप

बिसे नगर्चीको पहिलो रूप इतिहासकारहरूले खिचेको धमिलो र अस्पष्ट छायाचित्रमा प्रतिबिम्बित छ । नेपाल एकीकरणको महत्वपूर्ण कालयात्रासँगै पृथ्वीनारायण शाहको इतिहासको एउटा सीमान्त किनारामा उसलाई पनि एउटा सानो स्थान दिइएको पाइन्छ । यसबाट बिसे नगर्चीको पहिलो जूनी नेपालको एकीकरण प्रक्रिया तथा तत्कालीन सामाजिक सांस्कृतिक विमर्शसँग जोडिएको देखिन्छ ।

यस कालखण्डमा दलितहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था अत्यन्त दयनीय रहेको थियो । परम्परादेखि नै उनीहरू आफ्नो जातीय पेशा तथा श्रममूलक कार्यहरू गरेर जीवन निर्वाह गर्दथे । तिनै मध्ये बिसे नगर्ची पनि तत्कालीन समाजको विमर्शात्मक संरचना अनुरूप लुगा सिउने र बाजा बजाउने कार्य गरेर दमाईँ जातिको परम्परागत संस्कृतिलाई धानिरहेको एउटा निम्न वर्गीय पात्रका रूपमा रहेको देखिन्छ । आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा उत्पीडित जातिको व्यक्ति भए पनि ऊ राजालाई सल्लाह सुझाव दिन सक्ने अवस्थामा रहेको एउटा राजभक्त व्यक्तिका रूपमा देखिन्छ । आफू शक्तिहीन भएपनि अनुभवबाट प्राप्त ज्ञानलाई उसले राजभक्तिका लागि उपयोग गरेको छ र शासक वर्गको छत्रछाया प्राप्त गर्ने कोसिस गरेको छ ।

तत्कालीन अवस्थामा सिङ्गो मुलुक युद्धमा थियो । विभिन्न हारजीतका शृङ्खलाहरूसँगै पृथ्वीनारायणले तीव्र महत्वाकांक्षाका साथ राज्यविस्तारको नेतृत्व गरिरहेका थिए । जयस्थिति मल्ल र राम शाहले बाँधेको सांस्कृतिक थितिलाई नै अनुसरण गर्दै उनले जातिव्यवस्थालाई निरन्तरता दिएका थिए । त्यसै गरी उनले नेपाललाई ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ भनेको हुँदा राज्यशक्तिको सञ्चालनका लागि सबै जातको महत्वलाई बुझेको देखिन्छ । तत्कालीन राज्यव्यवस्थामा राजा नै शक्तिको मूल स्रोत भएकाले र परम्परागत हिन्दु वर्णाश्रम व्यवस्थाको प्रभुत्वबाट निर्मित ज्ञान नै केन्द्रमा रहेकाले समाजको समग्र सांस्कृतिक संरचना त्यसैमा आधारित थियो । जातीय विभेदबाट निर्मित ज्ञानको संरचना नै तत्कालीन समाजको सत्य भएकाले मानिसहरू जातीय विभेदलाई आफ्नो स्वाभाविक नियति ठान्दथे । युद्धका बेला राजालाई सघाउनु नै मानिसहरूले आफ्नो कर्तव्य ठानेका थिए । राजाको सेवक र शुभचिन्तकका रूपमा रहेको बिसेले पनि यही कर्तव्यलाई निर्वाह गरेको हो ।

त्यसैले प्रत्येक विमर्श इतिहासको कुनै कालखण्डसँग अथवा निश्चित ऐतिहासिक क्षणसँग सम्बन्धित हुन्छ भन्ने मिसेल फुकोको मान्यतालाई आधार मानेर हेर्दा तत्कालीन समाजको विमर्शात्मक संरचनाभित्र आफू जतिसुकै पीडित र सीमान्तीकृत भए पनि उसमा प्रभुत्वशाली वर्गका विरूद्धमा प्रतिरोध चेतनाको स्थिति शून्यप्रायः रहेको देखिन्छ ।

४.२ बिसे नगर्चीको दोस्रो रूप

इतिहासको एउटा जीवन्त पात्रका रूपमा रहेको यही बिसे नगर्ची लगभग २०० वर्षपछि भीमनिधि तिवारीको एकांकीमा प्रकट भएको छ । उसको यो उपस्थिति पनि नेपालको इतिहासको एउटा विशिष्ट क्षणमा भएको देखिन्छ । १०४ वर्ष लामो जहानीयाँ राणा शासनलाई हटाउने २००७ सालको क्रान्तिको सेरोफेरोमा उभिएको यो पात्र मूलतः आफ्नो पूर्ववर्ती स्वरूपमै रहेको पाइन्छ । उसको यो उपस्थिति आफ्नो पुरानो इतिहासकै निरन्तरताको कडी हो । सामन्ती राजतन्त्रको विमर्शात्मक संरचनामा दुई शताब्दी बितिसक्दा पनि उसको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थामा कुनै परिवर्तन आएको देखिँदैन । ज्ञान र शक्तिको केन्द्रमा रहेको तत्कालीन शासक वर्ग तथा उच्च जातिको प्रभुत्वभित्र ऊ शताब्दी शताब्दीसम्म एउटा दलित र सबाल्टर्न पात्रकै रूपमा रहेको छ । समयको यति लामो अन्तरालमा पनि उसको ज्ञान र चेतनामा कुनै रूपान्तरण भएको पाइँदैन ।

वि. सं. २००७ सालमा राणा शासनको पतनसँगै देशमा राजनीतिक परिवर्तन भए पनि आम जनता र त्यसमा पनि सबाल्टर्न वर्गको आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतमा तात्विक परिवर्तन आएको देखिँदैन । नेपालको राजनीतिक इतिहासको यस कालखण्डमा राजा त्रिभुवन शक्ति र प्रभुत्वको मूल केन्द्रमा रहेका थिए भने नयाँ शासकीय ढाँचाका रूपमा बहुदलीय व्यवस्थाको प्रारम्भिक अभ्यास पनि भइरहेको थियो । हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित सांस्कृतिक विमर्शले उच्च जातिको प्रभुत्वलाई मजबुत रूपमा स्थापित गरेको हुँदा सामाजिक संरचनामा दलित वर्गको स्थिति दयनीय नै रहेको थियो । यति हुँदाहुँदै पनि तत्कालीन बुद्धिजीवी वर्गमा जातिप्रथाप्रति केही उदार तथा आदर्शवादी दृष्टिकोण पनि देखापर्दै गएको र त्यसबाट ज्ञानको नयाँ विमर्शात्मक संरचनाको गर्भाधान हुन थालेको देखिन्छ । त्यस समयमा महाकवि देवकोटाले ‘मुनामदन’(१९९१) मा ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भनेर कट्टर जातिवादको विरूद्ध आवाज उठाइसकेका थिए भने अन्य साहित्यकार र चिन्तकहरूले पनि जातिगत विभेदका विरूद्धमा रचनाहरू लेखिरहेका थिए । विभिन्न राजनीतिक दलहरूले पनि जातिप्रथा सम्बन्धि परम्परागत दृष्टिकोणहरूलाई चिर्दै उदारवादी चेतना विस्तारमा केही न केही भूमिका खेलिरहेका थिए ।

यही पृष्ठभूमिमा भीमनिधिको एकाङ्कीको नायकका रूपमा बिसे नगर्चीको दोस्रो जन्म भएको हो । इतिहासको एउटा विस्मृत कुनामा रहेको सबाल्टर्न पात्रले तत्कालीन साहित्यिक विमर्शमा नायकत्व प्राप्त गर्नु आफैमा एउटा महत्वपूर्ण प्रसङ्ग हो । यसले राणा कालपछिको नेपाली सामाजिक तथा सांस्कृतिक चेतनाको रूपान्तरण प्रक्रियालाई कुनै न कुनै रूपमा प्रतिबिम्बित गरेको छ । यस एकाङ्कीको नायक बिसेको अवस्था पनि तत्कालीन समाजका अन्य दलितहरूको अवस्थाभन्दा फरक रहेको पाइँदैन । एकाङ्कीको दृश्यविवरण तथा संवादभित्र उसको सांस्कृतिक अवस्थालाई सूचित गर्ने केही साक्ष्यहरू प्राप्त हुन्छन् ।

यस एकाङ्कीमा बिसेको घरको दृश्य विवरण दिने क्रममा दैलोमाथि सिहुँडीको भुड्को झुन्डिएको, पिँढीमा ढिकी, जाँतो र गुन्द्री बेरेर राखिएको, आँगनको एकापट्टि ओखल र अर्कोपट्टि बाख्रा बाँध्ने साना किलाहरू रहेको, छेउमा कुखुरा छोपेको डोको र पराले छानामाथि परेवाहरू रहेको उल्लेख गरिएको छ । राजा एका विहानै आफ्नो झुपडीमा आउँदा बिसे सुतिरहेको र तुलसीको मठमा उभिएर पूजा गर्न लागेकी उसकी पत्नी देउकीले आत्तिएर बोलाएपछि हतार हतार उठेर राम र कृष्णको नाम जप्दै मुख धोएको सन्दर्भबाट यस एकाङ्कीको प्रारम्भ भएको छ । उल्लिखित तथ्यहरूले दमाईँ जातिको तत्कालीन रहनसहन, घरेलु वातावरण तथा समग्र सांस्कृतिक पर्यावरणको चित्र प्रस्तुत गरेका छन् ।

बिसेले एक लोटा पानी लिएर मुख धोइसकेपछि खाँडीको पटुका फुकाएर त्यसैको छेउले मुख पुछेको र राजालाई बस्नका लागि ओखल घोप्ट्याएर एक मुठो पराल बिछ्याइदिएपछि आफू राजाका अगाडि खाली भुइँमा दुई घुँडा मारेर बसेको सन्दर्भ पनि एकाङ्कीमा उल्लेख गरिएको छ । यी सन्दर्भहरूबाट तत्कालीन ग्रामीण समाजमा रहेका निमुखा वर्गको दयनीय आर्थिक संस्कृति जीवन्त रूपमा उद्घाटित भएको छ भने प्रभुत्वशाली शासक वर्गका अगाडि निरीह नागरिकहरूको दारूण अवस्था पनि अनावृत्त भएको छ ।

पृथ्वी नारायणले बिसेको घर पनि हेरूँ र सल्लाह पनि गरूँ भनेर आफू आएको कुरा बताएपछि उसले ‘जाबो दमाईँसँग सल्ला गर्नुपर्ने के कुरो त ख्वामित् ?’ भन्ने प्रश्न गरेको छ । राजाले सल्लाह जातले नभएर अनुभव र बुद्धिले दिने कुरा सम्झाउँदै ऊ आफ्नो घरको पुरानो नगर्ची भएको, आफ्नो काठोभोटो पनि उसैले गरेको र गाउँघरलाई सल्लाह दिन ऊ निकै सिपालु भएको कुरा सुनेर आफू उसको घरमा आएको कुरा बताउँदा बिसेले ‘आ ख्वामित्, पढ्या छैन, मुर्ख दमैको छोरोले के सल्ला दिन्थेँ नाइँ’ भनेर लाचारी प्रकट गरेको छ । उसको संवादमा आएका जाबो तथा मूर्ख दमाईँ जस्ता शब्दहरूले प्रभुत्वशाली वर्गका अगाडि निम्न वर्गका व्यक्तिहरूको हीनताग्रस्त मनोवैज्ञानिक संस्कृतिबाट निर्मित ज्ञानको दुर्दशालाई चित्रित गरेका छन् भने राजाले जातलाई भन्दा अनुभव र बुद्धिलाई प्राथमिकता दिएको सन्दर्भले तत्कालीन समाजमा विकसित भइरहेको उदारवादी दृष्टिकोणलाई प्रतिनिधित्व गरेको देखिन्छ ।

एकाङ्कीको संवादका क्रममा बिसे र उसकी पत्नीले राजालाई ‘जदौ माराज’ तथा ‘जदौ ख्वामित’ भनेर अभिवादन गरेका छन् । पृथ्वी नारायणले उनीहरूलाई ‘नगर्चिनी’, ‘तँ’ तथा ‘बिसे’ शब्दले सम्बोधन गरेको छ । देउकीले बिसेलाई सम्बोधन गर्दा ‘ठूलीका बा’ तथा ‘तिमी’ भनेकी छ भने बिसेले ‘तँ’, ‘राँड’, ‘दमिनी’ तथा ‘ठूलीकी आँ’ भनेको छ । उनीहरूको संवादमा आएका यी शब्दहरूले तत्कालीन समाजमा शासक तथा सामान्य सबाल्टर्न वर्ग एवम् परिवारभित्रै पनि पुरूष र महिलाबीचको प्रभुत्वको स्थितिलाई सूक्ष्म रूपमा प्रस्ट्याएको देखिन्छ । त्यसै गरी उनीहरूका कुरा सुनेर बसिरहेकी देउकीलाई बिसेले हप्काएको निम्नलिखित सन्दर्भमा पनि यो स्थिति अझ सूक्ष्म रूपमा चित्रित भएको पाइन्छ—

‘‘जा, आफ्नो काम गर् । कुरो के सुन्छेस् ? पनेरा गएर तँलाई बतुरी हुनलाई । आइमाईका जात ख्वामित्, असाद्धे कुरौटे हुन्छन् । कुरो गर्न र कुरो सुन्न पाए भनेदेखिन् गुन्यू फुस्क्या पनि था पाउन्नन् ।’’ (पृ. ५०)

उसको यस संवादबाट परिवारभित्र नारीहरूको स्थिति र तत्कालीन समाजको विमर्शात्मक संरचनामा नारीलाई हेर्ने दृष्टिकोण सहज रूपमा अभिव्यञ्जित भएको छ ।

यस एकाङ्कीमा तत्कालीन समाजको आर्थिक संस्कृति तथा राजशक्तिको प्रभुत्वलाई पनि सूक्ष्म रूपमा चित्रण गरिएको देखिन्छ । बिसेकी पत्नीले खोरबाट बाख्रा ल्याएर किलामा बाँध्न लागेको बेला पृथ्वीनारायणले ‘ए नगर्चिनी, कति छन् तेरा बाख्रा ?’ भनेर सोध्दा उसले यस्तो उत्तर दिन्छे—

सोधिरहनुपर्छ माराज, कीलो गने त था’ भैजान्छ नि । दोटाले दशैँ मानियो । आनु मानु घिउ त साह्रै महँगो भो है माराज । हामी गरिपले त किनी खानै नसक्ने भयो, सस्तो गराइदिनुपर्छ । दोटा पैसा मानुमा दिनु भनेर डुंग्री पिटाइदे त सकिजान्छ नि । तेती गर्न पनि कति गाह्रो भा’को त ।

उसको यस संवादमा एकातिर महङ्गी र गरिबीको पीडा अभिव्यक्त भएको छ भने अर्कातिर तत्कालीन राजशक्तिको प्रभुत्वशाली स्थितिलाई पनि दर्शाइएको छ ।

उपर्युक्त साक्ष्यहरूलाई आधार मानेर हेर्दा तिवारीले परिकल्पना गरेको नाटकीय परिवेश तथा उनीद्वारा पुनरूत्पादित बिसे नगर्ची तत्कालीन समाज र सांस्कृतिक विमर्शकै अङ्गका रूपमा रहेको देखिन्छ । एकाङ्कीमा उसले आफ्नो पीडाको आवाज बोलेको छैन र उसको अन्तर्आत्माको वेदना पनि प्रकट भएको छैन । ऊभित्र प्रपीडनप्रतिको असन्तुष्टि तथा प्रतिरोध चेतनाको विकास भइसकेको देखिँदैन । ऊ आफ्नो हक र अधिकारप्रति सचेत र जागरूक देखिँदैन । त्यसै गरी ऊ भविष्यमुखी नभएर अतीतमुखी नायकका रूपमा प्रकट भएको देखिन्छ । उसको रूपान्तरण चेतनाको रूपान्तरण होइन र ऊ परिवर्तनको प्रतीकका रूपमा पनि रहेको छैन । यसबाट २००७ सालतिरको सेरोफेरोमा नेपालका दलित वर्गमा प्रतिरोध चेतनाको विकास भइनसकेको स्थिति अवगत हुन्छ ।

यसरी एकाङ्कीकार तिवारीले इतिहासकै सीमित साक्ष्यहरूलाई आधार मानेर यस पात्रको जातीय सांस्कृतिक धरातललाई स्वाभाविकता प्रदान गर्न र उसको चरित्रमा विविधता ल्याउन पात्र र परिवेशको काल्पनिक पुनर्निमाण गरेका छन् । यो एकाङ्की लेखिएको समय र यसभित्र समेटिएको ऐतिहासिक कालखण्डको विमर्शात्मक संरचनामा राजा नै शक्तिको मूल केन्द्र रहेकाले बिसेको जीवनचेतना र उसको सांस्कृतिक परिस्थितिमा कुनै तात्विक अन्तर रहेको देखिँदैन । त्यसैले भीमनिधिको एकाङ्कीमा यस पात्रको पुरानै स्वरूपलाई सामान्य रूपान्तरण मात्र गरिएको पाइन्छ ।

४.३ बिसे नगर्चीको तेस्रो रूप

बिसे नगर्चीले वि. सं. २०६२ सालमा कवि श्रवण मुकारूङको ‘बिसे नगर्चीको बयान’ कविताभित्र तेस्रो जन्म लिएको छ । लगभग अढाई सय वर्ष लामो निरङ्कुश राजतन्त्रलाई हटाउने २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा रचना गरिएको यस कवितामा बिसेको समग्र कथ्य कायाकल्प गरिएको छ भने उसको चेतनाको पनि सामयिक रूपान्तरण भएको छ । वि. सं. २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि राजा बनेका ज्ञानेन्द्र शाहले जनताबाट सम्पूर्ण शासनाधिकार आफ्नो हातमा लिएर शक्ति र प्रभुत्वको केन्द्रमा स्थापित भएको समयमा यो पात्र राजतन्त्र विरोधी चेतनाको संवाहकका रूपमा देखापरेको छ ।

वि. सं. २०४६ सालको जनआन्दोलनले तीस वर्षे पञ्चायती व्यवस्थालाई विस्थापित गरेपछि बहुदलीय व्यवस्थाको सुरूआतसँगै नेपाली समाजमा सांस्कृतिक रूपान्तरणको नयाँ अध्याय प्रारम्भ भएको हो । यसै पृष्ठभूमिमा वि. सं. २०५१ देखि सुरू भएको १० वर्षे सशस्त्र माओवादी जनयुद्धले लगभग अढाइ सय वर्ष पुरानो राजतन्त्रको अन्त्यका लागि महत्वपूर्ण पूर्वाधार खडा गरेको र विभिन्न संसदवादी राजनीतिक पार्टीहरूको सहभागिताबाट थालिएको १९ दिने ऐतिहासिक संयुक्त जनआन्दोलनले राजतन्त्रको उन्मूलनसँगै गणतन्त्रको थालनी गरेको हो । यस समयविन्दुमा आइपुगेपछि नेपालको इतिहास अर्को युगान्तकारी मोडमा उभिएको र पुराना सांस्कृतिक मूल्यहरूको तीव्र विघटनसँगै नयाँ मूल्यहरूले गुणात्मक उचाइ प्राप्त गरिरहेको देखिन्छ । जातीय चेतनाको उद्बोधनसँगै वर्षौँदेखि किनारामा पारिएका सबाल्टर्नहरू आफ्नो आत्माको आवाज बोल्न थालेका र आफ्नो अधिकारप्रति सचेत बनेका देखिन्छन् । रगतले ब्यूँझिएको इतिहास विगतभन्दा भिन्न उचाइमा पुगेको र सबाल्टर्नहरूको प्रतिरोध चेतना पनि सशक्त बन्दै गएको पाइन्छ । श्रवणको बिसे नगर्ची पनि नेपालको यही विशिष्ट ऐतिहासिक तथा सांस्कृतिक पर्यावरणको उपज हो । जनआन्दोलन चरम सीमामा पुगेको र राजतन्त्र ढल्न लागेको बेला आम नागरिकहरूको सङ्गठित र एकीकृत विश्वदृष्टिबाट उसको चेतनाको निर्मिति भएको छ ।

प्रत्येक ऐतिहासिक कालखण्ड र त्यसको विशिष्ट परिप्रेक्ष्यमा विमर्शात्मक संरचनाहरू भिन्न भिन्न हुन्छन् । कुनै खास ऐतिहासिक विमर्शात्मक संरचनामा ज्ञानको उत्पादन हुन्छ र त्यसै संरचनामा ज्ञानले काम गर्छ । मिसेल फुकोले विमर्शबाट ज्ञान र शक्तितिरको चेतनाको यात्रालाई जोड्दै ज्ञान नै शक्ति हो भन्ने मान्यता स्थापित गरेका छन् । राजतन्त्र बिरोधी आन्दोलन र त्यसबाट निर्मित विमर्शात्मक संरचनाबाट नै बिसेमा नयाँ ज्ञानको उत्पादन भएको हो । ऊ राज्यमा आफ्नो सम्मानजनक प्रतिनिधित्व र स्पेस खोजिरहेको छ । उसले युगौँदेखिको प्रपीडनबाट उन्मुक्तिको आवाजलाई बुलन्द गरेको छ । यसबाट ऊ आफ्नो सीमान्त अवस्थाबाट ज्ञान र शक्तितिर उन्मुख भइरहेको देखिन्छ । उसको प्रतिरोध चेतनाले नेपालका सबाल्टर्न वर्गको ज्ञान र शक्तिको केन्द्रतर्फको सङ्क्रमणशील यात्रालाई पनि सूचित गरेको छ, जसले समकालीन नेपालको नयाँ विमर्शात्मक संरचनाका निर्माण गर्दै गएको पाइन्छ ।

नयाँ संस्कृति मानिसको चेतनामा जन्मिन्छ र व्यवहारबाट अभिव्यक्त हुन्छ । जीवन जगत्प्रतिका पुराना मूल्य र मान्यताहरूको विघटनको क्रमसँगै पुरानो संस्कृतिको विस्थापन र नयाँ संस्कृतिको स्थापना हुँदै जान्छ । पछिल्लो बिसे नगर्चीमा पनि यो प्रक्रिया घटित भएको देखिन्छ । उसले वर्षौँदेखिको उत्पीडनका विरूद्धमा आवाज उठाएको र प्रभुत्वशाली शासक वर्गप्रति प्रश्न गरेको छ । यहाँ आइपुगेपछि बिसे नगर्चीको समग्र चेतनाको रूपान्तरण भएको छ । बिसे नगर्ची बहुलाउनुले र आफूद्वारा चिरसेवित राजाका हुकुमहरूको ठाडै अवज्ञा गर्नुले ऊभित्रको प्रतिरोध चेतना उत्कर्षमा पुगेको पाइन्छ । एउटा सबाल्टर्न पात्रको यस चेतनाले बदलिँदो समयको नवीन सांस्कृतिक मूल्यलाई वरण गरेको र आफ्नो स्पेस खोज्दै परिधिबाट ज्ञान र शक्तिको केन्द्रतिर प्रस्थान गरेको स्थितिलाई दर्शाएको छ । यस कविताका कवि स्वयम् पनि जनजातीय धरातलबाट उठेका र जातीय मुक्ति आन्दोलनका पक्षपाती भएकाले त्यसै अनुकूल उनले अफ्नो कविताको नायक चयन गरेका छन् र उसलाई आफ्नो मुखपात्र बनाएका छन् ।

५. बिसे नगर्चीको विनिर्माण तथा पुनरूत्पादन प्रक्रिया

नेपालको ऐतिहासिक तथा साहित्यिक विमर्शमा बिसे नगर्चीको विनिर्माण तथा पुनरूत्पादनको प्रक्रिया निकै चाखलाग्दो र महत्वपूर्ण ढङ्गले अघि बढेको छ । इतिहासमा अङ्कित मूल बिसे नगर्ची, भीमनिधिको एकाङ्कीमा रहेको बिसे नगर्ची र श्रवणको कवितामा रहेको बिसे नगर्चीका पाठहरूभित्र यो प्रक्रिया अत्यन्त सूक्ष्म रूपमा घटित भएको देखिन्छ । राजाको सेवकका रूपमा परिचित पुरानो बिसेको पुरानो पाठलाई भीमनिधिले काल्पनिक पुनर्निमाण गरेर लगभग यथावत रूपमा प्रस्तुत गरेका छन् भने श्रवणले यी दुवै पाठलाई नयाँ रूपमा विनिर्माण गरेका छन् । उनले पृथ्वीनारायणको परम्परागत महाआख्यानको केन्द्रलाई भञ्जन गरेर बिसेको टुक्रे आख्यानलाई नयाँ केन्द्रमा ल्याउन खोजेको देखिन्छ ।

विनिर्माणवादले अर्थको एकत्वको विरोध गर्दै प्राथमिक सङ्केतक मानिने कुनै पनि शब्दले निश्चित अर्थ नदिने र अर्थहरू सधैँ अनिर्धारित हुने विचार अघि सारेको छ । ज्याक डेरिडाको यही भिन्नता (डिफरेन्स) को मतलाई आधार मानेर हेर्दा ‘बिसे नगर्ची’ पनि एउटा प्राथमिक सङ्केतक हो, जसले कुनै निश्चित वा एउटै अर्थ दिँदैन । फरक फरक कालखण्डमा पुनरूत्पादित बिसे नगर्ची शब्दले ध्वनित गर्ने अर्थका तहहरू पनि क्रमशः विखण्डित बनेका छन् । ऊ बन्द समाजबाट क्रमशः खुला समाजप्रति, अनुपस्थितिबाट उस्थितिप्रति र निर्माणबाट विनिर्माणप्रति अभिमुख हुँदै गएको पाइन्छ । फ्रान्सिस फुकुयामाले अघि सारेको इतिहासको अन्त्य सम्बन्धी अवधारणालाई पनि यस पात्रले सूक्ष्म रूपमा वरण गरेको छ । तीन ओटा फरक पाठहरूमा उसका बहुल चित्रहरू उपस्थित भएका हुँदा उसको अर्थमा पूर्ण एकत्व पनि रहेको छैन भने स्थायित्व पनि रहेको देखिँदैन । यही बहुअर्थकता र बहुलता नै बिसेको वास्तविकता हो । त्यसैले उसको वास्तविक पहिचान यही हो भन्नु भ्रम हो ।
श्रवणले बिसेभित्र अनुपस्थित अर्थहरूको खोजी गरेका छन् । उनको कविताको बिसेले पुरानो बिसेको अर्थको एकत्वलाई भत्काउँदै विविध वर्गहरूको बहुल चेतनाको विष्फोटलाई बोकेको छ । एकातिर उसले परम्परागत इतिहासको केन्द्रभङ्ग गरेको छ भने उसको आफ्नै परम्परागत अर्थको केन्द्र पनि भत्काएको छ । पहिले ऊ सीमान्त परिधिमा रहेको थियो, अब ज्ञान र शक्तिको नयाँ केन्द्रतिर उसको चेतना अभिमुख भएको छ । रोलाँ बार्थको केन्द्राभिसारी मत अनुसार हेर्दा पछिल्लो बिसे परिधिबाट केन्द्रतिर फर्किन चाहेको देखिन्छ । यसले बिसेको पूर्ववर्ती ज्ञानको निरन्तरता तोडिँदै गएको र नयाँ ज्ञानको उत्पादन हुँदै गएको तथ्यलाई उद्घाटित गरेको छ ।

बौद्रिलार्दका अनुसार यो युग पुनरूत्पादनको युग हो, जसले मूल र प्रतिलिपि बीचको भेदलाई अन्त्य गरेको छ । तीन ओटा बिसे नगर्चीमा पनि कुन मूल हो र कुन प्रतिलिपि हो भनेर छुट्याउन सकिने स्थिति छैन । भाषाद्वारा निर्मित उसका सबै रूपहरू भ्रमात्मक र छलकारी छन् । उसका प्रत्येक पाठहरू केवल मूल विनाका प्रतिलिपि हुन्, जसले आआफ्नो युगको यथार्थका भ्रमहरू बोकेका छन् । तीन ओटै बिसे नगर्ची सम्बन्धी सङ्केतले वास्तविक यथार्थलाई विस्थापित गरेका छन् । अर्थ र आरोपित मूल्यहरूको विविधताले गर्दा उनीहरूको विमर्शात्मक अस्तित्व पनि अधियथार्थ (हाइपर रियालिटी) मा मात्र आधारित रहेको देखिन्छ । फरक फरक युगका बिसे नगर्चीका पाठहरू केवल बिम्बको विष्फोटका रूपमा देखापरेका छन् । कुनचाहिँ बिसे नगर्ची सत्य हो र कुनले बोकेको सांस्कृतिक मूल्य सत्यको मूल स्वरूप हो ? सबै बिसेले एक एक ओटा भ्रम दिन्छन् र पाठकको चेतनालाई भुलभुलैयामा पारिदिन्छन् । बिसे नगर्चीको वस्तुता एकातिर छ तर फरक फरक युगमा विपठित उसका स्वरूपहरू अर्कैतिर छन् । लेखकहरूले उसलाई आफ्नै युगको सत्यअनुरूप आरोपण गरेका छन् । बौद्रिलार्दको मतमा आधारित रहेर बिसेलाई यसरी पनि हेर्न सकिन्छ तर उसलाई इतिहास चेतनाका कोणबाट हेर्नु नै बढी सान्दर्भिक हुन्छ ।

सामाजिक, ऐतिहासिक तथा लेखकको वैयक्तिक चेतनासँग गाँसिएको विमर्शात्मक संरचनाबाट नै बिसे नगर्चीका अर्थहरूको उत्पादन तथा पुनरूत्पादन भएको छ । यस पात्रलाई नायक बनाउने भीमनिधि तिवारी र श्रवण मुकारूङको सामाजिक, भौगोलिक, ऐतिहासिक तथा जातीय पृष्ठभूमि फरक छ । तिवारी काठमाडौँ उपत्यकाको सम्पन्न ब्राह्मण परिवारमा वि. सं. १९६८ मा जन्मिएका अघिल्लो पुस्ताका साहित्यकार हुन् तर मुकारूङ उनीभन्दा ५७ वर्षपछि वि. सं. २०२५ सालमा पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको एउटा दुर्गम गाउँमा निम्न मध्यम वर्गीय राई परिवारमा जन्मिएका साहित्यकार हुन् । मुकारूङ पाँच वर्षका हुँदा वि. सं. २०३० सालमा तिवारी स्वर्गीय भइसकेकाले यी दुवैले भोगेको युग नितान्त फरक छ । अर्को कुरा उनीहरूका यी दुवै रचनाहरू पनि लगभग एउटै उमेरमा लेखिएको देखिन्छ । ‘बिसे नगर्ची’ लेख्दा तिवारीको उमेर करिब ४० वर्ष थियो भने ‘बिसे नगर्चीको बयान’ लेख्दा मुकारूङको उमेर ३७ वर्ष थियो । त्यसैले यी दुवै स्रष्टाहरूले लगभग उस्तै उमेरमा लेखेका यी दुई रचनाहरूमा बिसेको प्रतिनिधित्व फरक ढङ्गले हुनुमा उनीहरूको जातीय सांस्कृतिक पृष्ठभूमि, वर्गीयता, भौगोलिकता तथा ऐतिहासिक विमर्शले पनि निर्णायक भूमिका खेलेको पाइन्छ ।

६. निष्कर्ष

माथिको विश्लेषणबाट बिसे नगर्ची नेपालको सामाजिक तथा सांस्कृतिक सन्दर्भमा सबैभन्दा तल्लो किनारामा पारिएको दलित र उत्पीडित जातिकोे एउटा ऐतिहासिक पात्र हो भन्ने स्पष्ट हुन्छ । वि. सं. १८०० सालतिर पृथ्वीनारायण शाह कालीन नेपालको ऐतिहासिक विमर्शमा जोडिएको यस पात्रलाई २००८ सालमा भीमनिधि तिवारीले ‘बिसे नगर्ची’ एकाङ्कीमा र २०६२ सालमा श्रवण मुकारूङले ‘बिसे नगर्चीको बयान’ कवितामा नायकका रूपमा प्रस्तुत गरेका छन् । त्यसैले यस पात्रले फरक फरक कालखण्डका विमर्शात्मक संरचनाहरूको सम्बन्धलाई गाँसेको छ र इतिहास चेतनाको अन्तर्विकास तथा दलित र सीमान्तीकृत वर्गको सामाजिक तथा सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई पनि प्रतिनिधित्व गरेको छ । सबाल्टर्न चेतनाको अध्ययनका लागि सबाल्टर्नको पहिचान, प्रतिनिधित्व र अप्रतिनिधित्व, प्रतिरोध चेतना, लेखकको अवस्थिति तथा भाषिक प्रयोगका सन्दर्भहरूलाई आधार मानेर इतिहास चेतनाको कोणबाट हेर्दा यस पात्रको विनिर्माण, रूपान्तरण तथा पुनरूत्पादन प्रक्रियाले नेपाली समाजको सांस्कृतिक रूपान्तरणको जीवन्त प्रतिबिम्ब उतारेको देखिन्छ ।

भीमनिधिको एकाङ्कीमा यस पात्रको पुरानै स्वरूपलाई सामान्य रूपान्तरण मात्र गरिएको छ भने श्रवणको कवितामा यस पात्रको पूरै विनिर्माण गरेर उसको चेतनाको समकालीन रूपान्तरणको खोजी तथा मौन इतिहासको पुनव्र्याख्या गरिएको छ । दलित जाति र सीमान्तीकृत समुदायको एउटा ऐतिहासिक पात्र बिसे नगर्चीको विद्रोहपूर्ण आवाज तथा सशक्त प्रतिरोध चेतनालाई समेटेर लेखिएको यस कविताले निरङ्कुश राजतन्त्र तथा सामन्ती राज्यव्यवस्थाको विरूद्धमा गम्भीर प्रहार गरेको छ । शाह वंशीय राजतन्त्र सिङ्गै नेपालको प्रभुत्वको केन्द्रतर्फ जाँदा बिसे क्रमशः सीमान्तीकृत बन्दै गएको र बिसेको केन्द्रतर्फको यात्रासँगै शाह वंशको विस्थापन भएको सन्दर्भलाई आधार मानेर हेर्दा यी दुवै रचनामा बिसे नगर्चीको सांस्कृतिक रूपान्तरणका कारण र परिणामहरूको अनौठो संयोग देखिन्छ । यही नै नेपालको सामाजिक, सांस्कृतिक तथा राजनीतिक इतिहासको कालरेखा हो । ढकालको सामाजिक सञ्जालबाट लिएको सामाग्री ।

Comments

comments

सम्बन्धित शिर्षकहरु