रानीबारी हत्याका अभियुक्त पक्राउ गर्न सफल प्रहरी अधिकारी पुरस्कृत

असार १८ । काठमाडौँ,  hemanta malla thakuriबाह्र वर्षअघिको रानीबारी हत्याकाण्डका आरोपीलाई समात्न सफल केन्द्रीय अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीसहितका चार प्रहरी अधिकृत पुरस्कृत भएका छन् ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले प्रहरी नायब महानिरीक्षक ठकुरीलाई रु ३० हजार, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई रु २५ हजार तथा प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई जनही रु २२ हजारसहितको प्रमाणपत्र प्रदान गरे ।

नेपाल प्रहरीको ऐनमा उल्लेखनीय कार्य गर्ने प्रहरीलाई पुरस्कृत गर्ने व्यवस्था नभएकाले गत जेठ ३१ मा मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम उनीहरूलाई पुरस्कृत गरिएको हो ।

काठमाडौँ महानगरपालिका रानीबारी क्षेत्रमा डेरा गरी बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र निजकी श्रीमती अञ्जना श्रेष्ठको हत्यामा संलग्न मनराज गुरुङ र प्रमेश चौहानलाई १२ वर्षपछि प्रहरी नायब महानिरीक्षक ठकुरीसहितको टोलीले अनुसन्धानपछि पक्राउ गर्न सफल भएको थियो ।

मिति २०५९ असार ३१ मा उहाँहरु दुवैको रहस्यमय ढङ्गले हत्या भएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री गौतमले यस घटनाका अभियुक्त पक्राउ भइसकेको र रहस्यमय घटना पनि सार्वजनिक भइसकेको उल्लेख गर्दै यसरी लगनशीलता र बफादारिताका साथ गरेका काम सफल हुने बताए ।

अपराधका अन्य कतिपय घटना रहस्यमय छन् तिनको प्रभावकारी अनुसन्धान हुन नसक्दा अपराधीले उन्मुक्ति पाएको चर्चा गर्दै उनले अपराधीले उन्मुक्ति पाइसकेको अवस्थामा पनि अनुसन्धानलाई प्रभावकारी बनाएर पुनः मुद्दा चलाउन सकिने गरी कानुन संशोधन गर्न पनि सुझाव दिए।

सुृरक्षा निकायको अनुसन्धानलाई अझ प्रभावकारी बनाउन आवश्यक परे थप बजेटको व्यवस्था गर्न पहल गर्ने जानकारी दिँदै उनले रानीबारी हत्याकाण्डका अभियुक्तलाई अदालतले प्रमाणित गरेपछि थप पुरस्कारको व्यवस्था गर्नका लागि कार्यविधि बनाउन पनि सुझाव दिए ।

गृहसचिव सूर्यप्रसाद सिलवालले उत्कृष्ट काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई सरकारले सम्मान गर्न कन्जुस्याँर्इं गरेको छैन तर सामञ्जस्य नभएको मात्र हो भन्दै गृहमन्त्रालयअन्तर्गतका सबै सुरक्षा निकायलाई प्रभावकारी बनाउने कार्य भइरहेको छ भने ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यो घटनामा सफलता प्राप्त गरे रु एक लाख पुरस्कार दिने आफूले बचन दिएको तर प्रहरी ऐनमा यस्तो व्यवस्था नभएकाले गृह मन्त्रालयलाई गुहार्नुपरेको गुनासो गर्दै डा उपेन्द्र देवकोटाकी छोरी अपहरणको घटनामा तात्कालीन गृहसचिव उमेश मैनालीले पनि पुरस्कार दिने घोषणा गरेको तर सो घटनाको सफल अनुसन्धानपछि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस भएपनि निर्णय भने हुन नसकेको बर्ताए ।

पुरस्कृत व्यक्तित्व प्रहरी नायब महानिरीक्षक ठकुरीले मेहनत र लगनशीलताका साथ काम गरे कुनै पनि काम असम्भव नहुने कुरा यो घटना र न्यायाधीश रणबहादुर बमको हत्यालगायतका अन्य घटनामा भएको अनुसन्धानले प्रमाणित गरेको र नेपाल प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रशंसा पाएको छ भने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु