पोष्टर छाप्ने पैसा नेपालका भूकम्प पीडितलाई पठाएको भए हुन्थ्योः प्रत्यासी चुरामनी बेलवासे

आगामी चार जुलाई अर्थात शनिबारका दिन एनआरएनए अष्ट्रेलियाको निर्वाचन हुँदैछ । आगामी नेतृत्वका लागि दर्जनबढी आकांक्षीहरू उम्मेदवारको रूपमा मैदानमा देखा परेका छन् । यस्तै उम्मेदवारमध्ये एनआरएन आइसीसी मेम्वर पदमा मनोनयन दर्ता गरेका चुरामनी बेलवासे निर्वाचनका सन्दर्भमा बढेको गुटबन्दीबाट दिक्क छन् । अष्ट्रेलिया आए देखिनै एनआरएन मार्फत नेपाली समूदायको बृहत्तर विकासमा लागि परेको बताउने बेलवासेका आगामी योजनाहरू यस्ता छन्ः

एनआरएनएमा मेरो संलग्नताः
म अष्ट्रेलिया आए देखि नै  एनआरएनए मार्फत नेपाल र नेपाली तथा प्रवासी दाजुभाइ एवम् दिदीबहिनीहरूको पक्षमा काम गरिरहेको छु । सामाजिक कामहरूमा कैले कहिल्यै पिठिउँ फर्काएको छैन । मैले यस भन्दा अघि एनआरएनएको कोषाध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गरिसकेको छु ।

एनआरएनमा यस भन्दा अभि मेरो भूमिकाः
यस भन्दा अघिको कार्य समितिमा रहेर काम गरेकाले मेरो केही समृद्ध अनुभव पनि छ । कोषाध्यक्ष रहँदा हामीले ‘वर्क फर’ नेपाल भन्ने परियोजना सञ्चालन गरेका थियौँ । जुन समूदायकाबीच निकै लोकप्रीय भयो । त्यसले आर्थिक संकलनमा महत्वपूर्ण टेवा पनि पुर्यायो । त्यस्तै अर्को एनआरएन नाइट पनि सुरू गर्यौँ । त्यसले पनि जनमानसमा निकै राम्रो प्रभाव छोड्न सफल भयो । हाम्रै कार्यकालमा नेपालमा भूकम्प गयो । नेपालको भूकम्पका लागि हामीले एनआरएन मार्फत सहयोग रकम संकलन गर्यौँ । त्यो नेपाल पनि पठायौँ । त्यसले नेपालका प्रकोप पीडितहरूको घाउमा मल्हम लगाउन धेरै हदसम्म सफल भयो ।

आगामी योजनाहरूः
योजनाको सन्दर्भमा मेरो भिन्न विचार छ । अहिले मैले देखिरहेको छु, सामाजिक सञ्जालमा हार गुहार गरिएको छ । मलाई मत दिनुहोस् भनेर रोइकराई गरिएको छ । त्यो अति साह्रो हो । सामाजिक काम जहाँ बसेर गरे पनि हुन्छ । त्यसका लागि निर्वाचन जित हार मात्रै ठूलो कुरा हुन सक्दैन । यहाँ जति ठूलो आदर्शको कुरा गरेपनि सामाजिक काम आफ्नो व्यक्तिगत कामबाट बचेको समयमा मात्रै गर्ने हो । त्यसकारण मैले निर्वाचनलाई ठूलो विषयको रूपमा लिएको छैन । समाज प्रतिको मेरो दायित्ववोध निर्वाचन जिते पनि रहन्छ हारे पनि रहन्छ । किनकी म त्यहाँ लिन जान लागेको होइन दिन जान लागेको हो । निर्वाचनका लागि तामझाम गरेर पोष्टर पम्प्लेट निकालियो । पोष्टर छाप्ने त्यो पैसा नेपालका भूकम्प पीडितका लागि पठाएको भए कत्ति राम्रो हुन्थ्यो ? त्यसतर्फ हामीले सोच्दै सोचेनौँ ।

यो निर्वाचनको सन्दर्भमा मैले केही सकारात्मक कुराहरू पनि देखेको छु । उहाँहरूमा समाजसेवाको भावना जागृत भएको छ । एनआरएनमा केही गर्छु भन्ने सोच आएको छ । यसलाई पुँजिकृत गर्न सकियो भने त्यो धेरै उपलव्धिमूलक हुनेछ ।

गुटबन्दी लडाईं झगडा नगरौँः
एनआरएन गुटबन्दी र तिव्र राजनीति गर्ने थलो होइन । यो समाजसेवा गर्ने ठाउँ हो । मिलेर प्रतिष्पर्धा गरौँ, जित्नेले जिम्मेवार भएर काम गरौँ हार्नेले सघाउँ । सवै मिलेर समूदाय र मातृभूमीका लागि योगदान दिऔँ । परिस्थितिले हाम्रो काँधमा केही जिम्मेवारी सुम्पिएको  छ । भूकम्पका कारण क्षतिग्रस्त बनेका संरचनाहरू पुनःनिर्माण गर्नु पर्नेछ । त्यसका लागि सवै आ–आफ्नो ठाउँबाट लागौँ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु