संविधानसभा बैठक साँझ साँढे ६ बजेलाई डाकियो

CA-buildingअसार १५ । काठमाडौँ, मंगलबार दुई बजेका लागि डाकिएको संविधानसभाको बैठक साँझ साँढे ६ बजेमात्रै सुरु हुने भएको छ । दलहरुबीच सोमबार राति भएको सहमतिलाई लिपिबद्ध गर्न समय लाग्ने भएकाले बैठक सार्नु परेको संसद सचिवालयले उल्लेख गरेको छ ।

सोमबार पनि दलहरुबीच मस्यौदाका विषयमा विवाद हुँदा संविधानसभाको बैठक तीन पटकसम्म स्थगित भएको थियो । ‘दलहरुबीच हिजै सहमति भइसकेको छ । सो कुरा मिलाउन समय आवश्यक पर्यो भन्ने कुरा आएपछि बैठक साँझ साढे ६ बजे गरी सारिएको ह’, संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए । संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदामाथि एमाओवादीले आपत्ति जनाएपछि सोमबार राति दलहरुबीच भद्र सहमति भएको थियो । सो सहमतिलाई लिपिबद्ध गर्न समय लाग्ने भएकाले बैठक सार्नु परेको सचिवालयले जनाएको छ । दलहरुबीचको बैठकले मस्यौदा समितिले संविधानको प्रस्तावनामा राखेको ‘संसदीय लोकतान्त्रिक प्रणाली’ हटाउने भद्र सहमति गरेको छ। नयाँ संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने भन्ने धारालाई पनि हटाउने सहमति भएको बताइएको छ । देश संघीय शासन प्रणालीमा जान लागेकाले तत्काल स्थानीय निकायको निर्वाचन गर्दा दोहोरो खर्च हुने भन्दै एमाओवादीले त्यसको बिरोध गरेको गर्दै आएको थियो।

मस्यौदामा स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गर्ने भन्ने लेखिएकै थियो। अब मिति नतोक्ने तर यथाशीघ्र गर्ने सहमति भएको छु, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। मध्यरातको सहमितअनुसार नयाँ संविधानमा न्यायपरिषदमा विपक्षी दल वा उसको सिफारिशमा एक जना कानुविद् राख्ने व्यवस्था हुनेछ। अन्तरिम संविधानमा नभएको यो व्यवस्था एमाओवादीले नयाँ संविधानमा राख्न लबिङ गर्दै आएको थियो।

राज्यका अंगहरुमा निर्वाचित संख्याको ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने व्यवस्था नयाँ संविधानमा राख्न पनि मुख्य दलका शीर्ष नेताहरु सहमत भएका छन्। कांग्रेस एमाले यो विषयलाई खुला राख्नुपर्छ भन्ने पक्षमा थिए। एमाओवादीले संविधानमा राख्न पहल गर्दै आएको थियो। निर्वाचित बाहेक राज्यका अन्य अंगहरूमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व यसअघि देखि नै रहँदै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु