नेपालको पुनःनिर्माणमा राष्ट्रसङ्घको पूर्ण सहयोग हुने उपमहासचिवको प्रतिबद्धता

Gyanchandraअसार ८ । काठमाडौँ, अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख मुलुक तथा विकासोन्मुख साना टापु राज्यका लागि राष्ट्र सङ्घका उच्च प्रतिनिधि एवम् उपमहासचिव ज्ञानचन्द्र आचार्यले नेपालको पुनःनिर्माण, पुनःस्थापना एवम् नवनिर्माणमा राष्ट्र सङ्घको पूर्ण सहयोग हुने प्रतिबद्धता गरेका छन्।

आगामी बिहीबार यहाँ आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र सङ्घका महासचिव बान कि मुनको प्रतिनिधित्व गर्र्दै सहभागी हुन सोमबार अपराह्न राजधानी आएका उपमहासचिव आचार्यले सङ्क्षिप्त कुरा गर्दै राहत तथा उद्धारमा पनि राष्ट्र सङ्घले सक्दो सहयोग गरेको स्मरण गराउँदै पुनःनिर्माण एवम् पुनःस्थापनामा हरतरहले मद्दत गर्ने बताए ।

सम्मेलनलाई राष्ट्र सङ्घले उच्च महत्व दिएको चर्चा गर्दै उनले नेपालको चौतर्फी विकासका साथै महाविपत्तिपछिको पुनःनिर्माण एवम् पुनःस्थापनाका काममा अन्तर्राष्ट्रिय साझेदारी एवम् सहायता जुटाउने दिशामा पनि त्यो फलदायी हुनेमा आफू विश्वस्त रहेको बताए ।

उपयुक्त समयमा सम्मेलन आयोजना गरिएको भन्दै उपमहासचिव आचार्यले सम्मेलनमा राष्ट्रसङ्घीय सद्भाव, ऐक्यबद्धता र सहायताको प्रतिबद्धता पनि जाहेर हुने बताए ।

त्यसअघि उनले अर्थमन्त्री डा रामशरण महत र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेग्लाबेग्लै भेटेर प्राकृतिक विपत्तिबाट सिर्जित विषम परिस्थितिमा नेपाल एक्लो नरहेको र अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग रहिरहने आश्वासन दिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु