मानिसको अस्तित्वमै खतरा हुने गरी पृथ्वीमा महाप्रलय सुरु

असार ६ । काठमाडाै,वैज्ञानिकहरुले मानव जातिको अस्तित्वमै खतरा उत्पन्न गराउने आम विलोपनको युग सुरु भएको बताएका छन ।

अनुसन्धानकर्ताहरुले मानिसहरु पृथ्वीमा हुने छैटौँ आम विलोपन युगमा प्रवेश गरिएको र संकटापन्न प्रजातिहरुको संरक्षणको ढोका तिव्र गतिमा बन्द भैरहेको बताएका छन ।जीवाशेषहरुको अनुसन्धान तथा ऐतिहासिक तथ्यहरुको विश्लेषणका आधारमा शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।स्टानफोर्ड उड्स इन्स्टिच्यूट फर इन्भारोमेन्टका प्राध्यापक समेत रहेका शोधकर्ता टोलीका प्रमुख पाउल इर्लिचले पृथ्वीमा मास एक्सटिन्सन
(आम विलोपन) को छैठाैं संस्करण सुरु भएको दाबी गरेका छन् ।
साइन्स एडभान्सेस जर्नलमा छापिएको शोध अनुसार यो आम विलोपनको समयमा पृथ्वीमा भएका प्रजातिहरु सामान्य भन्दा १ सय गुणा तिब्र गतिमा लोप हुँदै जान्छन् ।
अर्का शोधकर्ता तथा अटोनोमा युनिभर्सिटी मेक्सिकोका प्राध्यापक गेरार्डो सेबालोसका अनुसार यदि यो विलोपनले निरन्तरता पाइरह्यो भने पृथ्वीमा फेरि जीवहरु पुनस्र्थापित हुन करोडौँ वर्ष लाग्छ र मानिस पनि छिट्टै नै लोप हुने खतरा रहन्छ ।

विश्वका लोपोन्मुख तथा संकटापन्न प्रजातिहरुको तथ्यांक राख्ने संगठन आइयुसीएनका अनुसार पृथ्वीका ४१ प्रतिशत उभयचर तथा २६ प्रतिशत स्तनधारी जनावरहरु लोप हुने खतरामा पुगेका छन् ।
सन् १८०० देखि सन् १९०० को अवधिमा १ सय ४४ प्रजातिका ढाड भएको जीवको विनाश भएकोमा सन् १९०० पछि सन् २०१० को अवधिसम्म ३ सय ९६ प्रजातिका ढाड भएका जीव लोप भएका छन् ।

यसरी प्रजातिहरु लोप हुँदै जाँदा पृथ्वीको अत्यावश्यकीय पर्यावरण चक्र खल्बलिने र त्यसले अन्य प्रजातिहरुको समेत अस्तित्व खतरामा पार्दछ । जस्तै माहुरीहरु लोप भई बालीनालीको परागशेचन कार्य कम हुँदा खाद्यान्न उत्पादन घट्छ र यसले मानवजातिको अस्तित्वमै खतरा उत्पन्न गराउँछ ।

अहिलेको प्रजातिको विलोपन दरका आधारमा मानिसले आगामी तीन पुस्ताभित्रै जैविक विविधताबाट प्राप्त हुने विभिन्न लाभहरु गुमाउने अवस्था रहेको शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ता इर्लिचका अनुसार विश्वमा औद्योगिक क्रान्तिपछि जैविक विविधताको विनाश अत्यन्तै उच्च गतिमा भैरहेको छ ।वैज्ञानिकहरुका अनुसार पृथ्वीको इतिहासमा यसअघि झण्डै समग्र जैविक विविधता नष्ट हुने गरी ५ वटा आम प्रलय तथा आम विलोपन भैसकेका छन् ।

पहिलो आम विलोपन ४४ करोड वर्षअघि अर्डोभिसियन कालमा भएको थियो । त्यतिबेला पृथ्वीमा रहेका प्रजातिहरु सबै जलचर थिए र तीमध्ये ८५ प्रतिशत लोप भएका थिए ।

डेभोनियन कालको अन्त्यतिर आजभन्दा ३५ करोड ९० लाख देखि ३७ करोड ५० लाख वर्षको बीचमा अर्को आम विलोपन भएको थियो । यसले लगभग सबैजसो जलचर प्रजातिहरुको विनाश गराएको थियो । त्यसपछिको १० करोड वर्षसम्म कुनै पनि सामुदि्रक मुगा जीवको विकास भएन ।

तेस्रो आम विलोपन आजभन्दा २५ करोड २० लाख वर्ष पहिले भएको थियो । यो पृथ्वीमा भएको अहिलेसम्मकै भयानक प्रलय हो । त्यसबेला पृथ्वीमा भएकामध्ये ९७ प्रतिशत जैविक विविधता लोप भएको थियो, सधैंका लागि ।

ट्रायासिक कालको अन्त्यतिर आजभन्दा २० करोड १० लाख वर्षपहिले भएको आम विलोपन पृथ्वीमा भएको चौथो आम विलोपन हो ।
डेलिमेलकाे खबरमा उल्लेख भए अनुसार पृथ्वीमा भएको अहिलेसम्मको पछिल्लो आम विलोपन आजभन्दा ६ करोड ६० लाख वर्ष पहिले क्रेटासियस कालको अन्त्यतिर भएको मानिन्छ । यो महाप्रलय तथा आम विलोपनलाई डाइनोसर युगको समाप्तिको रुपमा पनि लिइन्छ । त्यस क्रममा डाइनोसर लगायतका त्यसबेलाका अधिकांश जीव तथा वनस्पति लोप भएकाे छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु