मृत्युबाट छलिएका ती सात दिनहरू

-अनिल खतिवडा

anil-khatiwodaजिन्दगी का हजार सात दिनहरू मध्येका एउटा सात दिन को कुरा गर्दैछु । दुईवटा हातको औँला भन्दापनि कम दिनहरू । एउटा शनिश्चवार बार देखि अर्को शनिश्चवार सम्म को समय दूरी । कति नै हो र यो जाबो सात दिनहरू । हो मलाई पनि यस्तै लाग्थ्यो । सात दिन जाबो त रमाइलो गरेरै मात्र पनि बिताउन सकिन्छ । दुःख नै परेपनी सात दिन त यतिकै बितिहाल्छ । सात दिन त खाना नखएर फलफूल मात्रै खएर पनि बाँच्न सकिन्छ ।

तर मेरा यी सात दिन ती सुक्ष्म सप्ताहहरू भन्दा धेरै लामो थियो । यति कहालीलाग्दो र लामो कि जहाँ एक युग भन्दा एक दिन लामो थियो ।

बेलुका चार बजेको थियो । म स्कुलबाट घर फकिर्दै थिए । दुर्भाग्यवश् मेरा साथिहरू कोहि पनि थिएनन त्यो दिन म सँग । खोला छेउ को चौतारा को वरपिपल वरिपरि एक हुल मानिस बसिरहेका थिए । कसैकसैको हातमा बन्दुक पनि थियो । ती मध्ये को एउटा ले मलाई बोलायो । मेरो मन डर ले ढक्क भयो । म लुरूक्क तिनिहरूको अगाडी गएर उभिएँ…

‘बाबू तिमी कसको छोरा हौ ?’

उसले मलाई सोध्यो । म डर ले काँपिरहेको थिए । बोल्न खोज्दा आवाज निस्किएन । थुक घुटुक्क निल्न खोजँे तर, किक्लिक्क घाँटीमै अड्कियो । शरीर पसिनाले लफक्क थियो । तर, डरले खुट्टा लर्बराउदै थियो अनि जाडो भएजस्तो भएको थियो ।

‘तिमी हेडमास्टर को छोरा हैन ?’

अर्को ले सोध्यो । मैले आफ्नो मुन्टो मात्र हल्लाएर हो भन्ने इसारा गरे । उनिहरूले एक आपस मा धेरै बेर कुरा गरे । अनि अघि बोल्नेले नै म तिर फर्केर भन्यो ।

‘सानु भाइ तिमी हामीसँग हिँड्नु पर्छ ।’

मेरो मुटुले आफ्नो ठाउँ छाडिसकेको थियो । म केही बोल्न सकिरहेको थिइनँ । ओठले आमा ! भन्ने आवज निकाल्न खोज्यो । तर बोली फुटेन ।
आँखाबाट तप तप आँसु चुहिन थाल्यो । उनिहरू बसिरहेका ठाउँबाट उठँे अनि एउटाले मेरो हात समाउदै मलाई लान खोज्यो । मैले दुवै खुट्टा लत्रक्क छाडिदिए । अनि डाको छाडेर रून थालिदिएँ । उसले मेरो मुख थुन्दै मलाई बोकेर तिनीहरूसँगै लिएर गए ।

म रूँदा रूँदा थाकिसकेको थिएँ ।

उनीहरूले मलाइ माथि खयर पाखा हुदै जंगल भित्र लगे । उनीहरू पालै पालो गरेर मलाई बोक्थे । कतै कतै खहरेमा गएर थकाइ मार्थे । चिउरा बोकेका रहेछन्, त्यो खान्थे । मलाई पनि चिउरा दिन्थे । चिउरा घाँटीबाट तलतिर कहिल्यै गएन ।

यिनीहरू को थिए मलाई किन लागिरहेका थिए मलाई केहि पनि थाहा थिएन । उनीहरू त्यति कुरा पनि गर्दैन थिए ।

झमक्क रात पर्न थालिसकेको थियो । हामि सुनसान जंगलमा थियौँ । उनीहरूले आफ्नो झोला बाट कपडा जस्तो के झिकेर एउटा लाठी को टुप्पो मा बेरे अनि एउटा सानो सिस बाट अलिकति मट्टीतेल त्यसमा खन्याएर आगो लगाए । अनि त्यसैको उज्यालो मा हिँड्न थाले ।  धेरैबेर हिडेपछी एउटा पाल हालेको ठाउँमा पुर्याए ।

त्यहाँ पेट्रोमस जस्तै मट्टीतेल बाट चल्ले बत्ति बालिएको थियो । त्यहाँ अरू दस पन्ध्रजना मानिसहरू थिए । मलाई लगेर त्यहिँ राखियो । खानका लागि फुक्को चिउरा दिन्थे । उनीहरू पनि गीठ्ठा÷भ्याकुर उसिनेर खान्थे । कोहि कोही चाहिँ मलाई अलि थर्काए जस्तो पनि गर्थे । कपडा को तोरणहरूमा खै के हो लेख्दै पनि थिए ।

मलाई त्यहाँ लगेर राखेको दुइ दिन भैसकेको थियो । तब सम्म पनि मलाई त्यहा पुर्याउनु को प्रयोजन  मैले थाहा पाएको थिइन । उनीहरू कुरा गरिरहेको बेला मलाई अलि पर राख्थे । पछी तिनीहरू भित्र कै दुइजाना ले कुरा गरिरहेको मैले सुने ।

उनिहरूले मलाइ पैसा को लागि यहाँ ल्याएका रहेछन । मलाई फिर्ता गर्नको लागि बुवासँग दस लाख को माग गरेका रहेछन् । पैसा नल्याए मलाइ मारिदिने धम्किपनि दिएका रहेछन् ।

यो सुनेपछि त झन् मेरो होस् नै हरायो । मलाई थाहा थियो हाम्रो घरमा त्यत्रो पैसा छैन भनेर । बुवा को तलब सबै आमा को औषधीमूलो मै सकिन्थ्यो । दिदीको बिबाह को लागि भनेर आफ्नो संचय कोषबाट दुई लाख झिकेको मलाई थाहा थियो । हाम्रो घरमा पैसाको नाममा त्यही दुइ लाख र घर बाहेक केहि पनि थिएन । हाम्रो त सर्वस्व बेचेपानी दस लाख आउदैन थियो  ।

भने पछी के त यिनीहरू ले मलाई मारिदिन्छन् ??

अब डर मेरो नसा नसा मा फैलिन थाल्यो । राति सुतिरहेको बेला मा खस्याक खुसुक गर्यो भने मलाइ लाग्थ्यो कि यिनीहरू मलाई मार्न आए । मेरो मृत्यु निश्चित थियो । डरले निन्द्रा पनि लाग्दैन थियो । न त केही खान नै मन लाग्थ्यो । हरेक का अनुहारमा मेरो मृत्यु मात्र देखिन्थ्यो । रातहरू पनि साह्रै लामा लाग्थ्यो ।  कति बज्यो मलाई यहाँ ल्याएको कति दिन  भयो मलाई केहि पत्तो हुन छाडीसकेको थियो ।

एकदिन साँझमा उनीहरू भित्रकै एउटालाई कुट्दै त्यहाँ ल्याए । उ रगतै रगतले लत्पतिएको थियो ।

‘तँ दुस्मनसँग मिलेर हाम्रो ठेगाना बताउने हैनस् ?’

उ केही बोल्न सकेको थिएन । मात्र बेहोस जस्तो भएर लडेको थियो ।

‘अब यसलाई के गर्ने सर ?’

त्यसलाई कुट्दै गरेको ले सोध्यो ।

‘मारिदे यसलाई यस्ताको हाम्रो फौजमा केही काम छैन ।’

अर्को अलि डरलाग्दो दारी पालेकोले भन्यो । त्यसपछि त्यसलाई रूखमा झुन्ड्याए अनि पालै पालो सबैले लट्ठी ले हिर्काए । उ  पानी– पानी भनेर कराइरहेको थियो । कसैले उसको कुरा सुनेनन् पछी उ चलमलाउन छाड्यो ।

‘सर यो त मरेछ’,  कुट्दै गरेको ले भन्यो ।

त्यसपछि त्यसलाई त्यहाँबाट निकालेर खै कता लागे ।

म ति सब देखेर बेहोस भैसकेको थिए ।

मलाई त्यहाँ लगेको थुप्रैदिन भैसकेको थियो ।

अब मलाई सँधै डराई डराई मर्नु भन्दा बरू चाँडै मारिदिए हुन्थ्यो जस्तो लाग्न थालिसकेको थियो ।

एकदिन मलाई डर भन्दा पनि घर तिर को याद आइरहेको थियो । बिचरी मेरी आमा कसरी बसेकी होलिन ? कति रूँदी हुन् ? सायद मैले त अब उँहाहरूको अनुहार पनि देख्न पाउदिन होला । घरमा भँैसी ब्यायो होला ? त्यो दिन छिटै बिगौती खान को लागि मा स्कूलबाट हतार– हतार गरेर घर आउँदै थिएँ ।

दिदी त झन् रूँदा रूँदा अचेत भैसकेकी होली ? कति माया गर्थी मलाई । केही भएर बुवाले कुट्न आट्नु भयो भने ऊ मलाई अनेक गरेर बचाइदिन्थी । बरू आफु कुटाइ खान्थी,  मलाई केहि हुन दिन्न थिई । आज त उ मलाई बचाउन पनि सक्दिन ।

बुबाले मलाई डाक्टर बनाउछु भनेर गाउ घर तिर सुनाउनु हुन्थ्यो । म पनि गजक्क परेर गीठ्ठा को लहरा लाइ डाक्टर को स्टेथेस्कोप जस्तै घाँटीमा झुण्ड्याएर हिड्थें ।  अनि दिदीको पाखुरा मा त्यो राखेर दिदीलाई मकैको गेडो औषधी दिएको जस्तै गरेर दिन्थे ।

एकदिन राति निन्द्रा लागिरहेको थिएन । पिसाब फेर्न भनेर तल गएँ । सबै जना सुतिरहेको थिए , त्यहि मौका पारेर तर एउटा ठुलो ढुंगाको तलतिर गएर लुकेँ । बिहान मेरो खोजी भयो । सबैले यता उति हेर्न थाले । एकार्कालाई गालि गर्न थाले । सबै मलाई यताउती खोज्न थाले । मनमा डरहरूको तुफानी चलिरहेको थियो । धन्न तिनीहरूले मलाई देखेनन् ।

‘भेट्ने बितिकै मारिदिनु ।’

एउटा ले भन्दै थियो । त्यहाँ बसेपनि मारिने पक्का थियो । अनि भागेपानी । तर भाग्नुमा बच्ने तोरीको गेडो जति भएपनि आश भने पक्कै थियो । त्यसैले ठुलो साहस ले भाग्ने अठोट गरेर त्यहाँ बाट सुटुक्क निस्किएँ । मलाई घर फकिर्ने बाटो थाहा थिएन तर, खहरे नै खहरे तलतिर गयो भने खोला पुगिन्छ भन्ने सुनेको थिए त्यसैले खोला पुग्ने आस मा तलतिर लागे ।

आ‘नै आवाज देखि डराउने भैसकेको थिए म । कतै सानो ढुंगा माथिबाट झर्यो भने त झन् मेरो सातो उडेर जान्थ्यो ।

दिन  भरि खहरे नै खहरे नै खहरे तलतिर हिड्दै गएँ । साँझ पर्ने बेलामा वरिपरी बाट मान्छेहरूले मलाई घेरे । सबैको हातमा बन्दुक थियो ।

मैले अब मर्ने पक्का सम्झेर काट्न लागेको खसीझैँ आखा चिम्लेर । आमा ! भनेर बेस्सरी चिच्याएँ । म त बेहोस भएछु ।

जब मेरो आँखा खुल्यो म हस्पिटलमा रहेछु । आमा, बुवा अनि दिदी मेरो खाट वरिपरी बस्नु भएको रहेछ । आमालाई देख्ने बित्तिकै म भक्कानिएर रून थालेँ म रोएको देखेर आमा र दिदीपनि रून थाल्नु भयो ।

म घर बाट बेपत्ता भएको सात दिन भएको रहेछ । तर मलाई यी सात दिनहरू ले धेरै कुरा सिकायो । जीवनको मूल्य सिकायो , मृत्युको कालो डर पनि देखायो । यी सात दिनहरू मेरा लागि धेरै लामा  थिए ।

आज मेरा डरलाग्दा सातदिनका योजनाकारहरू सहरमा खुलेआम हिडडुल गरिरहेका छन् । आज उनीहरूसँग मात्र एउटा जवाफ छ । द्वन्द्वकालको कुरो हजुर ननिकाले कै बेस हुन्छ ।

डिल्लीबजार, काठमाडौं

Comments

comments

सम्बन्धित शिर्षकहरु