सरकारी स्कूलबाट नेपाल टप गर्ने भावनाको देश सेवा गर्ने अठोट

bhawana aryalएसएलसी परीक्षामा छात्रातर्फ नेपाल प्रथम बनेकी रुपन्देही तिलोत्तममा शान्ति नमूना उच्च माध्यमिक विद्यालयकी भावना अर्याललाई अहिले बधाई र शुभकामनाको ओइरो लागिरहेको छ । भावनालाई बधाई लिन भ्याई नभ्याई छ भने उनी पढेको विद्यालय प्राङ्गणमा पनि यतिबेला पूरै हर्षोल्लास छाएको छ ।

नतिजा निस्केपछि जब धेरैले नेपाल प्रथम भयौं भनेर फोन आउन थाल्यो त्यसपछि उनलाई विश्वास नै थिएन । धेरै ठाउँबाट बधाईको ओइरो लागेपछि उनलाई विद्यालय टप भएको होला भन्ने लागेको थियो । तर जब उनको विद्यालयका सहप्राचार्य कूलप्रसाद लामिछानेले नै फोन गरेर दोस्रो पटक बधाई दिदैं छात्रामध्ये नेपाल प्रथम भएको जानकारी गराए त्यसपछि उनको खुसीको सीमा नै रहेन ।

रुपन्देहीको तिलोत्तममा नगरपालिका मणिग्राममा पर्ने शान्ति नमूना उच्च माध्यमिक विद्यालयकी छात्रा भावना अर्यालले ९३।८७ प्रतिशत अङ्क प्राप्त गर्दै छात्रामध्ये नेपाल प्रथम भईन् । भावना यसअघिका अन्य परीक्षामा पनि जिल्लामै प्रथम स्थान हासिल गर्दै आएकी थिइन । उनले कक्षा ६ सम्म न्यू इन्भाइरमेन्ट बोर्डिङ स्कूलमा अध्ययन गरेकी थिइन् । उनले कक्षा ७ बाट सामुदायिक विद्यालयमा अध्ययन थालेकी थिइन ।

भावनाले एक विषयमा पूरा पूर्णाङ्क नै प्राप्त गरेकी छन् । त्यो पनि गणित विषयमा । उनले अनिवार्य गणितमा १०० पूर्णाङ्कमा १०० नम्बर नै प्राप्त गरेकी छन् । त्यस्तै कम्प्यूटर साइन्समा पनि ९९ नम्बर प्राप्त गरेकी छन् । उनले ऐच्छिक गणितमा ९८, विज्ञानमा ९७, अग्रेजीमा ९४, नेपालीमा ९०, सामाजिकमा ८६ र जनसंख्यामा ८७ अंक प्राप्त गरेकी छन्् । उनको कूल अंक ७५१ आएको छ ।

गत चैत १३ गते परीक्षा सकियो । त्यसपछि उनका अभिभावकले कति नम्बर आउँछ भनेर अनुमान गर्न भनेका थिए । त्यतिबेला उनले ९० प्रतिशत त पक्कै आउला भनेकी थिइन । असार ४ गते जब परीक्षाफल प्रकाशित भयो, तब उनले आफ्नो नतिजा हेरेपछि दङदास परिन ।
ननस्टपखबरसँग कुरा गर्दै अर्यालले भनिन्, ‘रिजल्ट मैले सोचेभन्दा नि राम्रो आयो निकै खुसी लागेको छ ।’ अहिले उनलाई साथीभाइ, आफन्तजनले मात्र होइन, नचिनेका मान्छेहरुले समेत फोन गरेर बधाइ दिन थालेका छन् । त्यतिमात्र होइन, बिभिन्न संचारमाध्यामबाट समेत अन्तरवार्ता र उनको प्रतिक्रियाका लागि फोन आउने गरेको छ ।

भावनाले यसरी धेरै मिडियाहरु अगाडि आउँलान भन्ने पनि सोचेकी थिइनन । नत उनलाई नेपाल प्रथम नै हुन्छु भन्ने थियो । आफ्नो परीक्षा राम्रो भएकोले राम्रो अंक आउँछ भन्ने मात्र विश्वास उनलाई थियो ।

भावनाले आफ्नो विद्यालय, आफूलाई पढाउने शिक्षकहरु र अभिभावकलाई सम्झिँदै भनिन, “रिजल्टपछि अब अझ राम्रो कसरी गर्ने भन्ने मलाई कता कता डर पनि लागेको छ ।” उनले यसले आफूलाई हौसला पनि बढाएको र आगामी दिनमा अझै मेहनत गर्ने बताइन ।

पढेपछि के गर्ने भन्ने प्रश्नमा भावनाले आफूलाई समाजसेवा गर्ने मन भएको बताइन । साथै उनलाई देशको सेवा गर्न धेरै मन छ । त्यस्तै उनी एमबीबीएस पढेर डाक्टर बन्ने र दुरदराजका विरामीको सेवा गर्ने मन पनि छ । एक प्रसंगमा उनले अहिले धेरै मान्छेहरु उच्च शिक्षा पढ्न विदेश गएको तर आफू कुनै पनि हालतमा देश नछाड्ने बताइन । उनी भनिन्, देशमा धेरै पढेका जनशक्ति आफ्नो भविष्यको लागि विदेश पलायन हुन्छन् तर म यही देशमा केही गर्न चहान्छु ।”

भावनाको विद्यालय शान्ति नमूना उच्च मावि तिलोत्तमा मणिग्रामका प्राचार्य घनश्याम ज्ञवालीको पनि यतिबेला खुसीको सीमा छैन । उनलाई पनि बधाईको ओइरो त्यतिकै छ । उनी भन्छन्, सायद भावनाभन्दा बढी बधाई मलाई आएको होला । उनले लागेपछि केही हुन्छ भन्ने नमूना आफ्नो विद्यालयले देखाउन पाउँदा निकै खुसी लागेको बताए ।

उनले निजी विद्यालयहरुको अस्वथ्य प्रतिप्रर्धाका बीचमा पनि शान्ति नमूनाले पाएको सफलतामा विद्यार्थीहरु, शिक्षकहरु र सबै अभिभावकहरु सबै हिस्सेदार भएको बताए ।
-ननस्टप खवरबाट

Comments

comments

सम्बन्धित शिर्षकहरु