हिमालय र एभेन्यूज टेलिभिजनमा पत्रकार महासङ्घको धर्ना

असार १ । काठमाडौँ, श्रमजीवी पत्रकारको बक्यौता तलब पाउनुपर्नेलगायत मागमा ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घले आज दुई टेलिभिजनका कार्यालयमा धर्ना दिएको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टसहित पदाधिकारी र विभिन्न प्रतिष्ठानका पत्रकारको सहभागितामा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र त्रिपुरेश्वरस्थित एभेन्यूज टेलिभिजनका कार्यालयमा दुई घन्टा धर्ना दिइएको हो ।

ती टेलिभिजनका महासङ्घका प्रतिष्ठान शाखाले पत्रकार तथा कर्मचारीको बक्यौता तलब भुक्तानी हुनुपर्ने, श्रमजीवी पत्रकार ऐनअनुसार नियुक्तिपत्र दिइनुपर्नेलगायत माग राखी आन्दोलन प्रारम्भ गरेकामा केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको हो । महासङ्घसहित अन्य सञ्चार संस्थाका प्रतिनिधिले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

महासङ्घका प्रतिष्ठान इञ्चार्ज सुरज आचार्यका अनुसार ती टेलिभिजनमा ३ देखि ७ महिनासम्मको तलब भुक्तानी हुन बाँकी रहेको बुझिएको छ । धर्नापछि दुवै टेलिभिजनका सञ्चालकले वार्ताका लागि तयार रहेको सन्देश दिएका छन् ।

एभेन्यूज टेलिभिजनमा आयोजित धर्नापछि अध्यक्ष डा विष्टले पत्रकारको श्रमको शोषणको विरोधमा महासङ्घ सङ्घर्षमा उत्रिएको बताउँदै बक्यौता तलब नदिएसम्म त्यस्ता सञ्चार गृहका सञ्चालकसँग समस्या समाधानका लागि वार्ता नहुने बताउनुभयो । उहाँले भन्नुभयो – “सञ्चार गृह श्रम शोषणको अखडाका रुपमा रहिरहन अब सम्भव छैन । त्यस्ता सञ्चार गृह सञ्चालन नभए पनि कुनै फरक पर्दैन ।”

उहाँले श्रमजीवी पत्रकारलाई नैतिक, आर्थिक र भौतिक रुपमा संरक्षण गर्न महासङ्घ तयार रहेको पनि अवगत गराउनुभयो ।

क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्यले एभेन्यूज टेलिभिजनका सञ्चालकले पत्रकारको तलब नदिएसम्म कुनै वार्ता गर्न नहुने बताउनुभयो ।

प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले तलब नदिने, कर नतिर्ने र राज्यको नीति नियम नमान्ने सञ्चार गृहलाई सरकारले सोहीअनुसारको व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोजराज अधिकारीले श्रमजीवी पत्रकारको आन्दोलनलाई सशक्त बनाउन महासङ्घलाई आग्रह गर्नुभयो ।

सम्बन्धित शिर्षकहरु