ललितपुरका स्वास्थ्य संस्थामा रु दुई करोडको क्षति

ललितपुर,वैशाख १२ गते गएको भूकम्पमा परी ध्वस्त भएका स्वास्थ्य संस्थामा करिब रु दुई करोड बरावरको क्षति भएको छ ।

जिल्लाभर रहेका स्वास्थ्य संस्थामध्ये आठ वटा पूर्णरुपमा क्षति भएको, कालेश्वर, माल्टा, शङ्खु, चौघरे गाविसमा रहेका स्वास्थ्य चौकी तथा मानिखेल, ठूलादुर्लुङ, दलचोकी र लामाटारमा रहेका उपस्वास्थ्य चौकीका भवन पूर्ण रुपमा ध्वस्त भएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले बताउनुभयो ।यसैगरी १८ स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ, जसमा प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी १२ र उपस्वास्थ्य चौकी पाँच छन् । भूकम्पबाट पूर्णरुपमा क्षति भएका स्वास्थ्य चौकीको रु एक करोड २० लाख र आंशिक क्षति भएकाको रु ९० लाख गरी कुल रु दुई करोड १० लाख बराबरको क्षति भएको जनाइएको छ । भूकम्पमा परी घाइते भएकाको उपचारका लागि कार्यालयबाट आवश्यकता अनुसारको औषधि र स्वास्थ्यकर्मीको परिचालन गरिएको उहाँले बताउनुभयो ।विनाशकारी भूकम्पपछि आउन सक्ने महामारी रोक्न फिनेल र बेटाडिन जस्ता औषधि गाउँ गाउँमा पुर्याइसकिएको जनाइएको छ ।उहाँले खास गरी महामारीका रुपमा फैलिन सकिने झाडापखाला, निमोनिया, रुघाखोकी, हैजा एवम् दादुराको रोकथामका लागि चाहिने पर्याप्त औषधि सम्बन्धित ठाउँमा पुर्याएर काम गर्न सुरु गरिसकिएको बताउनुभयो ।
जावलाखेल एकान्तकुनास्थित रहेको तिब्बती बस्ने शिविरको करिब आठ रोपनी जग्गामा निर्मित चार तल्लाको दुई पक्की भवनलाई विनाशकारी भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको छ ।भवनमा शरणार्थी बस्नाका साथै गलैंचा बुन्ने काम सञ्चालनमा रहेको जावालाखेल ह्यान्डीक्राफ्ट सेन्टर प्रालिका व्यवस्थापक कर्मा दाबाले बताउनुभयो । अहिले तिब्बतीहरु संस्थाको अगाडि रहेको खुला चौरमा बस्न बाध्य भएको संस्थाका सल्लाहकार कृष्णप्रसाद मास्केले जानकारी दिनुभयो । सन् १९६० मा स्वीस सरकारको सहयोगमा बनेका साना दुई भवनलाई समेत भूकम्पले सामान्य क्षति पुर्याएको छ ।भूकम्पपीडित सञ्चारकर्मीलाई आज नेपाल पत्रकार महासङ्घ ललितपुरले एक एक पाल वितरण गरेको छ । शाखामा आबद्ध सञ्चारकर्मीमध्ये ३४ जना भूकम्पबाट पीडित रहेको महासङ्घका जिल्ला अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु