न्याय परिषद् बैठक अनिर्णित हुँदा न्यायाधीश नियुक्तिमा अन्यौल

जेठ १७ । काठमाडौँ, न्याय परिषद्को आजको बैठक पनि अनिर्णित हुँदा सर्वोच्च अदालतलगायत मातहतका अदालतमा न्यायाधीश नियुक्तिमा अन्यौल छाएको छ ।

हिजो बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज बिहानका लागि सो बैठक बोलाइएको थियो । परिषद्का निमित्त सचिव कृष्ण गिरी भन्नुहुन्छ, “आजको बैठक पनि बिनानिष्कर्ष सकियो ।” तर परिषद्का पदाधिकारीबीच विवाद भएकाले नै बैठक अनिर्णित भएको कानुन व्यवसायीहरू बताउँछन् ।

पाँच सदस्यीय परिषद्मा नेपाल बार एसोसिएसनबाट प्रतिनिधित्व गर्नुभएका सदस्य उपेन्द्रकेशरी न्यौपानेले राजिनामा दिएपछि सो पदपूर्ति हुन सकेको थिएन । चार वर्षका लागि नियुक्त हुनुभएका अर्का सदस्य खेमनारायण ढुङ्गानाको पदावधि गत बिहीबार नै सकिएको कुरा सार्वजनिक भएपनि आगामी मङ्गलबार मात्र सकिने निमित्त सचिव गिरी बताउनुहुन्छ ।

उहाँका अनुसार अर्को बैठक कहिले बस्छ भन्नेमा कुनै निर्णय भइसकेको छैन । पाँच सदस्यीय परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष र सर्वोच्च अदलतका वरिष्ठतम् न्यायाधीश र कानुन तथा न्यायमन्त्री सदस्य हुने प्रावधान छ ।

परिषद्का पदाधिकारी खाली हुँदै जाँदा न्यायाधीश नियुक्ति प्रक्रिया पनि प्रभावित बनेको छ । हाल सर्वोच्च अदालतमा तीन स्थायी न्यायाधीश, पुनरावेदन अदालतमा २३ र जिल्ला अदालतमा एक न्यायाधीशको पदपूर्ति गर्न बाँकी छ ।

यसैगरी, सर्वोच्च अदालतमै मुद्दाको चापअनुसार केही अस्थायी न्यायाधीश नियुक्ति गर्न सकिने संबैधानिक व्यवस्था छ भने पुनरावेदन अदालतमा यसअघि नियुक्त भएका २८ अतिरिक्त न्यायाधीशको जेठ २६ अगावै पुनः नियुक्ति गर्नुपर्ने अन्यथा उहाँहरुको पदावधि सकिने अवस्था छ ।

आगामी असार २३ मा प्रधान न्यायाधीशको पदावधि सकिने हुँदा न्यायाधीश नियुक्तिमा बिलम्ब भए २८ अतिरिक्त न्ययाधीशका साथै अन्य न्यायाधीश नियुक्तिमा प्रभाव पर्ने सम्बद्ध पदाधिकारी बताउँछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु