लघु कथा: बन्द र बिदाई

सरोज नेपाल-

सरोज नेपाल

नयाँ ठिमीबाट लगातारको हिडाईबाट झन्डै एक घन्टामा तिनकुने आइपुगेको थिएँ | बन्दको असर राम्रै देखिन्थ्यो भलै बन्दकर्ताहरुको छावा देखिएन |

तीनकुनेमा एउटा दृश्यले मेरो ध्यान खिच्यो | एक जोडी (शायद श्रीमान श्रीमती हुनुपर्छ) एक एक वटा सुटकेस डोहोर्याउदै एयरपोर्ट तिर जादैथिए | विपरीत दिशाबाट आइरहेको रिक्सालाई उनीहरुले रोके | मोलमोलाई गरे र सुटकेसलाई रिक्सामा राखे | ऊ रिक्सामा बसे | ढिला नगरी रिक्सा एयरपोर्ट तिर लाग्यो | उनि अघि आएकै दिशातिर फर्किन् र अगाडी बढिन् | रिक्सामा सामान राखेदेखि उनीहरु बिदा भएर दुइ बिपरित दिशा तिर हिडुन्जेल को समय निमेषभर मात्र थियो |

कुनै औपचारिक बिदाई भएन |

सायद घरबाटै बिदाइका सबै औपचारिकता पुरा गरेर आएका थिए | कुनैपनि बेला छुट्टिनुपर्ने परिस्थिति बारे दुवै तयार थिए | ऊ चढेको रिक्सा एकरफ्तारमा अगाडी बढिरह्यो | फर्की फर्की हेर्दैगरेको म अब उभिएरै हेर्न थालें | उनि लगातार अघि बढीरहिन् | आँखा पुछ्दै गरेको मैले देखें | झन्डै दुई मिनट सम्म उनले पछी फर्केर हेरिनन् | अचानक उनि अडीइन् र पछाडी फर्केर हेर्न थालिन् | रिक्सा ओझेल परिसकेको थियो | उनि फेरी आँसु पुछ्दै थिइन् | अघि बढ्दै रोकिदै पछाडी फर्केर हेर्थिन् | सायद अर्को किनारा बाट देखिन्छकि भन्ने आशाले होला, बाटो काटेर उनि वारि किनारमा आइन् | तर त्यहाबाट पनि रिक्सा ओझेल परिसकेको थियो | उनि गह्रौं पाइला चाल्दै सुस्तरी अगाडी बढ्दैरहिन् | बेला बेला आँशु पुछ्दै |
ओ हो ! आँखा नुनिलो भएर आयो | म पनि अगाडी बढें | कानमा ठुसाएको इयरफोनमा ए आर रहमानको गीत बज्दै थियो,
“ये जो देश है तेरा,
स्वदेश है तेरा
तुझे है पुकारा
ये वो बन्धन है जो कभी टुट नही सकता ….” (संगीतको कुनै सीमा र भाषा हुदैनहोला सायद)

भर्खरै एकजोडी बिदाई पछी एक एक भएर बिपरित दिशा हिडिरहेका थिए | अनि म बन्द हिडिरहेको थिएँ लखर लखर लखर लखर…..

सरोज नेपाल
२०७१ चैत्र २४, नेपाल बन्द

Comments

comments

सम्बन्धित शीर्षकहरु