कर्णेल लामाले यातना दिएकै हुन् : विपक्षी वकिल

फागुन १८ ।लण्डन,बेलायतमा पक्राउपछि हाल धरौटीमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामाको सुनुवाइ बहसका क्रममा विपक्षी वकिलले उनीमाथि द्वन्द्वकालमा बन्दीलाई यातना दिएको आरोप लगाएका छन् ।

लन्डनको सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा भइरहेको सुनुवाइमा विपक्षी वकिल बबी चिमाले लामाले माओवादीको शंकामा पक्राउ परेका जनक राउत र करम हुस्सैनलाई यातना दिन लगाएको दाबी गरिन् । बीबीसीका अनुसार पेसाले स्वास्थ्यकर्मी राउत त्यतिबेला स्थानीय निजी हेल्थपोस्टमा कार्यरत रहेको र माओवादी नरहेको जिकिर चिमाले गरिन् । राउतलाई लामा प्रमुख रहेको कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा लगिएपछि जंगलमा लगेर सेनाले यातना दिएको आरोप लगाइएको छ ।
‘कर्णेल लामाले जवानहरूलाई राउतलाई पिट्नका लागि फलामको रड, फरुवा (माटो खन्ने) र लठ्ठी ल्याउन लगाएका थिए । राउतलाई हत्कडी लगाएर, आँखामा पट्टी बाँधेर घोप्टो पारियो अनि जवानहरूले लठ्ठी र लात्ताले पिटे,’ वकिल चिमाले अदालतमा भनिन् । ‘राउतलाई यति पिटियो कि लठ्ठी भाँचिन्थ्यो र नयाँ लठ्ठी ल्याइन्थ्यो,’ उनले अगाडि भनिन् । जब तत्कालीन राजा ज्ञानेन्द्रले संकटकालको अन्त्य भएको घोषणा गरे त्यसपछि राउतलाई धरौटीमा रिहा गरियो ।
वकिल चिमाको दाबीअनुसार अर्का पीडित हुस्सैन माओवादीप्रति सहानुभूति राख्थे । उनलाई समूहमा गिरफ्तार गरियो र आँखामा पट्टी बाँधेर गोरुसिंगे ब्यारेकमा लगियो । त्यहाँ लामाले उनीहरूलाई मार्न आदेश दिएको पनि चिमाले उल्लेख गरिन् । हुस्सैनलाई जंगलमा कुटपिटपछि ‘अब जाऔं, आज हामी तँलाई मार्दैनौँ सायद केही दिनमा मार्छौं,’ भनिएको पनि उनले आरोप लगाइन् ।

लामाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । केही कमजोरी भएकोमा आफूले नेपालमै त्यसको सजाय भोगिसकेको धारणा लामाले अघिल्ला बहस र आफ्नो भनाइमा राखिसकेका छन् ।
नेपाली सेनाका कर्णेल ४७ वर्षीय लामा परिवार भेट्न यूके आउँदा सन् २०१३ जनवरी ३ मा पक्राउ परेका थिए । पक्राउ पर्दा उनी राष्ट्रसंघीय मिसन सुडानमा कार्यरत थिए । बेलायतको आवासीय अधिकार लिएका लामामाथि सन् २००५ मा कपिलवस्तु र रुपन्देहीको सिमानामा रहेको गोरुसिंगे ब्यारेकमा प्रमुख रहँदा माओवादीको आरोपमा थुनिएकालाई यातना दिएको आरोपमा समातिएको हो । यातनाविरुद्ध राष्ट्रसंघीय महासन्धिका कारण लामालाई यूकेमा मुद्दा चलाइएको हो । आफूमाथि लगाइएको आरोपलाई उनले अस्वीकार गर्दै आएका छन् । सुनुवाइ जारी छ । कान्तिपुर दैनिकबाट साभार ।

Comments

comments

सम्बन्धित शिर्षकहरु