३० दलीय मोर्चाको बन्दले जनजीवन प्रभावित

पुस २८ ।पर्सा,विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण यहाँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् ।आज बिहानैदेखि गरिएको बन्दका कारण वीरगन्जसहित आसपासको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ । बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन् ।प्रेस, विवाह तथा एम्बुलेन्स र दमकलबाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको विपक्षी मोर्चाका पर्सा जिल्ला संयोजक मधेसी जनअधिकार फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो । उहाँले आज एक दिनका लागि शैक्षिक संस्था र कलकारखाना पनि बन्द आह्वान गरिएको बताउनुभयो । बन्द सफल बनाउनका लागि मोर्चाका कार्यकर्ता बिहानैबाट सडकमा उत्रिएका छन् ।
शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी प्रत्यक्ष मारमा परेको अभिभावकले बताएका छन् । उद्योगधन्दा बन्द हुँदा आफूहरुलाई करोडौँको घाटा लाग्ने वीरगन्जका उद्योगी अशोक वैद्यले बताउनुभयो । संविधानसभाबाट सहमतीय प्रक्रियाबाट नै संविधान जारी गर्नु लगायतका विभिन्न माग राख्दै विपक्षी मोर्चाले आज मधेससहित थरूहट बन्दको आह्वान गरेको हो । बन्द भएको थाहा नपाएर भारतबाट नेपाल छिरेका यात्रु तथा पर्यटकको पनि सीमा क्षेत्रमा बिचल्ली भएको छ ।
विराटनगर– तीस दलीय गठबन्धनले आज गरेको मधेस बन्दको पूर्वाञ्चलको तराई क्षेत्रमा बिहानैदेखि व्यापक रुपमा असर परेको छ ।
यस क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि यात्रुवाहक बसलगायत निजी सवारी पनि ठप्प भएका छन् । बन्दको प्रभाव विद्यालय र उद्योगमा पनि परेको छ ।
एकीकृत नेकपा माओवादी मधेसी मोर्चालगायत ३० दलीय गठबन्धनले पहिचानसहितको सङ्घीयताको माग गर्दै आज मधेस बन्दको आह्वान गरेको हो । जिल्ला प्रहरी कार्यालयले बन्द शान्तिपूर्ण रहेको अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नभएको जनाएको छ ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु