सर्बोच्चका न्यायाधिश रणबहादुर बमका हत्यारा सार्वजनिक

ranabahadur-bamपुस १९, काठमाडौँ- २०६९ जेठ १८ गते बिहान ११ बजे ललितपुर  शङ्खमूलमा गोली हानी हत्या गरिनुभएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुरेभावर पार्टीका नेता बाबु थापालाई पक्राउ गरेको छ।

केशवप्रसाद मैनाली नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टीलाई अदालतले आधिकारिता दिएको भन्दै फैसला दिने न्यायाधीश रणबहादुर बमको हत्यामा संग्लग्न उनलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो।

हत्या अभियोगमा पक्राउ परेका चुरेभावर राष्ट्रिय एकता पार्टीका नेता बाबु थापाले आफूविरुद्ध फैसला भएपछि लामो तयारीपछि न्यायाधीश बमको हत्या गरेको स्वीकारेका छन्। अदालतको आदेश चित्त नबुझेको भएर न्यायाधीशको हत्या गरेको मुख्य अभियुक्त थापाले स्वीकारे। आफूहरूको विरोधमा लाग्ने सबैलाई सिध्याउने योजना अनुसार पहिलो टार्गेटमा न्यायाधीश परेका उनले बताएका छन्।

 प्रहरीले बाबु थापासहित भगवान थापा, शिवकुमार चौधरी, प्रेम खड्का र सञ्जय इस्लामी मगरलाई शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।न्यायधीशलाई गोली हान्न संलग्न बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का र दीपक कर्णलाई दुई वर्ष सात महिनापछि प्रहरीले शुक्रबार पक्राउ गरि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

हत्यामा संलग्न सञ्जय इस्लामी मगर रोजगारीका लागि साउदी अरबमा रहेकाले उनलाई पक्राउ गर्न नसकिएको र इन्टरपोलमार्फत वारेन्ट जारी गरिएको जानकारी प्रहरीले दिएको छ। सर्लाही–४ मिलन चोक ढुङ्ग्रेका मुख्य योजनाकार भनिएका ३८ वर्षीय थापा, जनकपुरका चौधरी, सर्लाही हरिवन–५ का नयाँ रोडका खड्का र जनकपुरका दीपक कर्णलाई प्रहरीले सार्वजनिक गरेको हो।

लामो अनुसन्धानपछि अभियुक्‍त न्यायधीश बमको हत्यारालाई पक्राउ गर्न सफल भएको र यसलाई प्रहरीले अहिलेसम्मकै ठूलो अनुसन्धान भनेको छ। पछिल्लो दशकमा भएका हत्या मध्ये यो हत्या सबैभन्दा ठूलो मानिएको थियो । यसको अनुसन्धानमा प्रहरीले ठूलो जनशक्ति र स्रोतसाधन परिचालन गर्दै उच्च प्राथमिकताका साथ अनुसन्धान गरेको थियो ।

हत्याको अनुसन्धान कार्यमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोसहित महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी, अपराध महाशाखा हनुमान ढोका, मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडा संलग्न रहेका थिए।

सम्बन्धित शिर्षकहरु