तोकिएको समयमा संविधान बन्ने प्रधानमन्त्रीको विश्वास

पुस १९ ।काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले तोकिएको समयमा संविधान निर्माण सफल हुन्छ भन्दै तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने बताएका छन ।
महोत्तरी परिवार काठमाण्डौंद्वारा प्रधान न्यायाधीश रामकुमार साहको सम्मानमा काठमाण्डौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण नै अहिलेको प्राथमिकता भएको बताए ।

संविधान निर्माणको लागि दोस्रो पटक तोकिएको समय माघ ८ मा पनि संविधान बन्न नसके मुलुकमा दुष्परिणाम आउने धारणा राखे ।
प्रधानमन्त्री कोइरालाले संविधान दिएर मुलुकलाई विकासको मार्गमा लैजानु पर्ने आवश्यकता पनि औल्याउदै विश्वका सारा देशहरु विकासको चरमोत्कर्षतिरको यात्रामा रहेको उल्लेख गरे । प्रधानमन्त्री कोइरालाले मुलुकले द्वन्द्व र आन्दोलन धान्न नसक्ने बताउदै भने “पहाड, हिमाल र तराई एक ढिक्का भएर अगाडि बढ्न पर्ने अवस्था छ ।”
प्रधानमन्त्री कोइरालाले नेपाली जनताले ६ दशकभन्दा बढीको संघर्षले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गरी सुरक्षित गर्नुपर्ने आवश्यकता पनि औल्याए । उहाँले भन्नुभयो, “थप आन्दोलन गरिरहनु जरुरी छैन । सबै आदिवासी,जनजाति, महिला,मुस्लिम,अल्पसंख्यक, र विभिन्न धर्म –संस्कृति मान्ने र भाषा बोल्नेहरुको हक अधिकार यही संविधानमा सुरक्षित हुन्छ । तोडफोड, आन्दोलन र विध्वंशको आवश्यकता छैन ।”

कार्यक्रममा सम्मानित व्यक्तित्व प्रधानन्यायाधीश रामकुमार साहले न्याय क्षेत्रको सर्वोच्च पदको गरिमा,मर्यादा र उचाईलाई सम्मान गर्दै न्यायिक निरपण र न्यायप्रशासनलाई न्यायिक इतिहासमा अविश्वमरणीय बनाउने विश्वास पनि व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु