सरकारद्वारा नोवेल विजेता सत्यार्थीलाई अभिनन्दन

पुस ६ ।काठमाडौँ,महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले हालै नोवेल शान्ति पुरस्कार प्राप्त गरेपछि यही शुक्रबार नेपाल आएका कैलाश सत्यार्थीलाई आइतबार अभिनन्दन गरेकी छिन ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा सत्यार्थीलाई बालअधिकारका क्षेत्रमा उनले दिएका योगदानको कदर गर्दै सो अभिनन्दन गरिएको हो ।
सत्यार्थीले कानुन वा भाषणमा मात्र बालअधिकारलाई सीमित नराखी हाम्रो संस्कारमै त्यसलाई समाहित गर्नुपर्नेमा जोड दिए ।
उनले पुरस्कार पाउनुको जस नेपाललाई पनि जान्छ भन्दै मानवताको लडाइँमा आफू महात्मा गान्धीबाट प्रभावित भएको जनाउँदै बालअधिकारका क्षेत्रमा नेपाल र भारतका समान समस्या रहेको बताए ।
सत्यार्थीले राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संस्था सबैले बालमैत्री समाज, बालमैत्री राजनीति, बालमैत्री संस्कृति र अर्थनीतिका लागि काम गर्नुपर्नेमा पनि जोड दिए ।
बालबालिकालाई ओझेलमा राखेर तर्जुमा गरिने कुनै पनि नीतिले मुलुकको गरिबी निवारण, सुरक्षा, सुशासनजस्ता क्षेत्रमा सुधार हुन नसक्ने बताए ।
मन्त्री केसीले बाल दासताविरोधी अभियानलाई विश्वस्तरमा फैलाउन सत्यार्थीका कामले प्रेरणा मिलेको बताउँदै नेपालको बालअधिकारको संरक्षणमा पनि त्यसको सकारात्मक प्रभाव परेको बताइन ।
व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रञ्जु झाले सत्यार्थीले देखाएको बाटोलाई पछ्याउँदै नेपालको बालअधिकारको प्रवद्र्धनका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।

समितिका अध्यक्ष डिल्लीराम गिरीले सत्यार्थीले देखाएको बाटोलाई नेपालका बालअधिकारकर्मीले पनि पछ्याउने बताए ।
कार्यक्रममा बाल मजदुर सरोकार केन्द्र (सिविन), नेपाल गुडविथ फाउन्डेसनले उनलाई सम्मान गरेका थिए ।

सम्बन्धित शिर्षकहरु