कृषि तथा जलस्रोत समितिले अख्तियारसँग स्पष्टिकरण लिने

काठमाडौँ,आफ्नो क्षेत्राधिकार मिचेको कारण स्पष्टिकरण लिनको कारण व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोलाउने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोगले काबेली ‘ए’लगायत जलविद्युत् आयोजनालाई दिएको निर्देशनका सम्बन्धमा छलफल गर्न पुनः आयोगलाई बोलाउने निर्णय गरेको हो ।

समितिको बैठकले उक्त आयोजनाका सम्बन्धमा दिएको निर्देशन अवैधानिक भएको र क्षेत्राधिकार मिचेको भन्दै छलफलका लागि आयोगलाई बोलाउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

समितिले गत कात्तिक ३० गते सो आयोजनाका सम्बन्धमा छलफल गर्न आयोगलाई बोलाएपनि उपस्थित भएको थिएन ।

आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो कार्यक्षेत्र संसद्को सुशासन समिति मात्रै भएको भन्दै कृषि तथा जलस्रोत समितिमा उपस्थित हुन नसक्ने बताउनुभएको थियो ।

समितिको बैठकमा धारणा राख्ने अधिकांश सांसद्ले आयोगले आफ्नो कुरा समितिमा आएर प्रष्टसँग राख्नुपर्ने बताउँदै पुनः आयोगलाई बोलाउनुपर्ने धारणा राख्नुभएको थियो ।

समितिका सभापति गगन थापाले समिति निर्णयमा पुग्नुभन्दा पहिले पुनः एक पटक आयोगका प्रमुख आयुक्तसँग छलफल गर्ने र उहाँको कुरा सुन्ने तथा संसद्लाई आयोगले अटेर नै गरेको भन्ने सन्दर्भमा आवश्यक प्रक्रिया मिलाउन सभामुखसँग पनि आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै समितिले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिर्काजुन राव र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमसँग भएको परियोजना विकास सम्झौताका सम्बन्धमा लगानी बोर्डसँग पनि छलफल गरेको छ ।

समितिले कूल ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाका सम्बन्धमा बोर्ड र ऊर्जा मन्त्रालयबीच विवाद देखिएको भन्दै हालसम्म भएको प्रगतिका बारेमा जानकारी दिन आग्रह गरेको छ ।

समितिले ती दुई आयोजनाको हालको अवस्था, आइपर्ने समस्या तथा समाधानका उपायसहित हरेक दुई महिनामा समितिलाई प्रतिवेदन
बुझाउनसमेत बोर्डलाई निर्देशन दिएको छ ।

परियोजना विकास सम्झौता मात्रै भएर हुँदैन, कार्यान्वयनको चरणमा समेत जानुपर्ने भएकाले हरेक दुई महिनामा प्रतिवेदन पेस गर्न र आइपर्ने समस्या समाधानका लागि पहल गर्न संसदीय समितिको समेत सहयोग लिन निर्देश गरेको सभापति थापाले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु