मानव तस्कर बजीर सिंहको मृत्‍यु

मङ्सिर ४ ।चौतारा,मानव तस्करका अभियोगमा १७० वर्ष जेल सजाय पाएका सिन्धुपाल्चोक शिखरपुर-९ का बजीर सिंह तामाङको मृत्यु भएको छ ।
हाल सुनसरीको झुम्का कारागारमा रहेका तामाङ विरामी भई जिल्लाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक मसउद आलम खानले जानकारी दिनुभयो ।

ढिलो गरी प्राप्त जानकारीअनुसार उनको कात्तिक १९ गतेनै मृत्यु भएको थियो । मृतको शव परिवारजनलाई बुझाइसकेको प्रहरी उपरीक्षक खानले जानकारी दिनुभयो ।

करिव एक दर्जन चेलिबेटी बेचविखन गरिसकेका तामाङलाई ज्यामिरे बाँसखर्क र फटकशिला गाविस निवासी पाँच युवतीले भारतको विभिन्न कोठीबाट नारकीय जीवन विताई फर्कन सफल भएपछि दिएको जाहेरीमा प्रहरीले पक्राउ गरेको थियो ।

पैंतालीस वर्षीय अभियुक्त तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश अनन्तराज डुम्रेको ईजलाशले २०६९ साल असार २७ गते मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) र (५) अनुसार पटके कसुरदार सजाय अनुरुप १७० वर्षको जेल सजाय तोकेको थियो ।

सिन्धुपाल्चोक जिल्ला कारागारमा रहेका तामाङलाई २०७० कात्तिक १८ गते चितवन कारागारमा सरुवा गरिएको थियो ।

चितवनबाट पनि केही समयअघि सरुवा भई सुनसरीको झुम्का कारागार चलान गरिएको थियो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु