एसियाली जुनियर जुडो च्याम्पियनसिपका लागि छनोट प्रकृया पुरा

कात्तिक १८ ।काठमाडौ,आठौं एसियाली क्याडेट तथा १५ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपका लागि जुडोको छनोट प्रतियोगिता आज सम्पन्न भएको छ ।

नेपाल जुडो संघले नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा आयोजना गरेको छनोट प्रतियोगिताको क्याडेटतर्फ पुरुष ५० केजीमुनि एमएमएसीका किरण गडेल र ५५ केजीमुनि पामका सुदेश डोङ पहिलो हुनु भयो ।

महिलाको ४४ केजीमुनि पर्साकी पूजा श्रीवास्तव र ५७ केजीमुनि पामकी मनीता प्रधानले पहिलो स्थान हात पारेको जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितले जानकारी दिनु भयो ।

जुनियरको पुरुष ६० केजीमुनि पामका इन्द्रबहादुर श्रेष्ठ र ६६ केजीमुनि होप्याडका हिमपर्व खत्री पहिलो हुनु भयो ।

महिलाको ४८ केजीमुनि बाँकेकी निर्मला कुँवर र ६३ केजीमुनि एमएमएसीकी फुपु ल्हामु खत्री शीर्ष स्थानमा रहनु भएको छ ।

जुडो संघका अनुसार पहिलो भएका खेलाडी मध्येबाट क्योडेट र जुनियरतर्फ समान १–१ पुरुष÷महिला गरी कूल चार खेलाडी उक्त च्याम्पियनसिपका लागि छनोट गरिने छ । बुधबार बस्ने बैठकले खेलाडीको अन्तिम टुंगो लगाउने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बताउनु भयो । च्याम्पियनसिप डिसेम्बर ११ देखि १४ तारिखसम्म हङकङमा हुनेछ ।

सम्बन्धित शिर्षकहरु