आईसीसी वर्ल्ड क्रिकेटमा नेपाल विजयी: विश्व बरियातामा २१ औ स्थानमा उक्लियो नेपाल

कात्तिक १३ ।काठमाडौ,मलेसियामा जारी आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन तीनको फाइनल खेलमा युगान्डालाई ६२ रनले पराजित गर्दै नेपालले जितेको छ। यो जित संगै नेपाल डिभिजन २ मा उक्लेको मात्रै छैन विश्व बरियतामा २१ औं स्थानमा समेत पुगेको छ ।Cricket-News

क्वालालम्‍पुरस्थित किनरारा खेल मैदानमा आज भएको खेलमा युगान्डालाई ६२ रनले पराजित गर्दै नेपालले दोस्रो पटक डिभिजन तीनको उपाधि उचालेको हो ।

नेपालले दिएको २ सय २४ रनको विजय लक्ष्‍य पछ्याएको युगान्‍डा यो पटक पनि अभागी साबित भयो।

गत वर्ष पनि डिभिजन तीनको फाइनल खेलमै नेपालसँगै पराजित युगान्‍डाले सोही नियति यो पटक पनि बेहोर्नु पर्‍यो। नेपालले भने यही प्रतियोगिताको पहिलो खेलमा हारको बदला लिदै युगान्‍डालाई हराएर दोस्रो पटक उपाधि उचाल्‍यो।

नेपालले दिएको २ सय २४ रनको लक्ष्‍य पछ्‍याएको युगान्‍डा ४४. १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनमा समेटियो। नेपाललाई उपाधि दिलाउने क्रममा भुवन कार्कीले ८ ओभर बलिङ गर्दै ३९ रा खर्चेर ४ विकेट लिइ युगान्‍डालाई धरासायी बनाए।

त्‍यसैगरी वसन्त रेग्‍मीले ९.१ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए। यस्तै सोमपाल कामी, शक्ति गौचन र सागर पुनले समान एक एक विकेट लिए।

यसअघि टस जितेर ब्‍याटिङ रोजेको नेपालले ४९.५ ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २३ रन बनाएको थियो।
नेपालका तीन खेलाडीको अर्धसतक

नेपालका लागि तीन खेलाडी उप-कप्तान ज्ञानेन्द्र मल्‍ल, ओपनर द्वय सागर पुन र नरेश बुढाऐरले अर्ध सतक बनाए। ओपनर सागर पुनले ९९ बलमा पाँच चौका र एक छक्‍का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए भने अर्का ओपनर नरेश बुढाऐरले ७३ बलमा २ चौका र एक छक्‍का प्रहार गर्दै ५१ रन बनाए।
यस्तै नेपाली टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्‍लले ६५ बलमा ५ चौका प्रहार गर्दै ५६ रन बनाए।हारको बदला सँगै उपाधि
नेपालले यो प्रतियोगीताको पहिलो खेलमा ब्‍यहोरेको हारको बदला लिदै उपाधि समेत उचालेको छ। प्रतियोगीताको पहिलो खेलमा युगान्‍डासँग नेपाल २० रनले पराजित भएको थियो भने फाइनल खेलमा युगान्‍डालाई ६२ रनले हराउँदै उपाधि उचालेको छ।

जनवरीमा डिभिजन दुईमा खेल्ने

नेपालले डिभिजन तीनको उपाधि जितेपछि डिभिजन दुई प्रतियोगिता जनवरी तेस्रो साता नामिबियामा खेल्नेछ। उक्त प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले चार दिवसीय इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्नेछन्। डिभिजन च्याम्पियनसिपबाटै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने टोलीको टुंगो लाग्नेछ।
आईसीसीले आफ्नो एसोसिएट तथा एफिलिएट सदस्यलाई माथिल्लोस्तर र विश्वस्तरको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एकमात्र छनोट प्रतियोगिताका रूपमा डिभिजन क्रिकेट लिग सञ्चालन गर्छ। टेस्ट खेल्ने कुल १० राष्ट्रबाहेक अन्यले एकदिवसीय विश्वकप खेल्ने र एकदिवसीय मान्यता पाउने छनोट प्रतियोगिता डिभिजन क्रिकेट हो।
जनवरी १७ देखि २४ सम्म सञ्चालन हुने डिभिजन दुईमा नेपाल, युगान्डा, नामिबिया, नेदरल्यान्ड्स, केन्या र क्यानडा सहभागी हुनेछन्। नेपाल डिभिजन दुईमा पुगेको यो दोस्रोपटक हो। गत वर्ष बर्मुडामा भएको डिभिजन तीनमा पनि शीर्ष दुईमा रहेर नेपाल अगाडि बढेको थियो।
सन् २०१५ को विश्वकपका लागि गत जनवरीमा भएको १० टोली सहभागी विश्वस्तरको छनोटमा गतिलो प्रदर्शन गर्न नसकेपछि नेपाल पुन: डिभिजन तीनमा घटुवा भएको थियो। उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले एकदिवसीय विश्वकप खेल्ने र शीर्ष चार टोलीले एकदिवसीय मान्यता पाउने प्रावधान थियो।
आईसीसीले हरेक चार वर्षका लागि आफ्ना एसोसिएट तथा एफिलिएट सदस्यलाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिन्छ। एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउने टोलीले टेस्ट राष्ट्रसँग एकदिवसीय श्रृङ्खला खेल्ने हैसियत पाउँछन्। यसअघि नेपालले टीट्वेन्टी विश्वकप खेलेर सबैको ध्यान तानेको थियो। सोही विश्वकपपछि आईसीसीले नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।

सम्बन्धित शिर्षकहरु