मलालालाई नोबेल ‘शान्ति’ पुरस्कार : बिस्मातको पहाड

 - पारसमणि अंगाईं mani.paras@gmail.com
       पारसमणि अंगाईं
[email protected]

नोबेल फाउन्डेसनले यो बर्षको पुरस्कारको नतिजा भर्खरै सार्वजनिक गरेको छ | पुरस्कारका बिबिध विधाहरूमध्ये ‘नोबेल शान्ति पुरस्कार’ विधाका लागि मलाला युसफ्जई र कैलाश सत्यार्थी संयुक्त रुपमा छानिए | जुन हतियार र गोलीबाट पाकिस्तानी किशोरी मलाला मरणासन्न भईन्, तिनै हतियारका निर्माता र विक्रेताद्वारा स्थापित नोबेल शान्ति पुरस्कारबाट मलाला सम्मानित हुनु हर्ष भन्दापनि बिस्मातको पहाड बनेर उभिएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी उपत्यका स्वातको सबैभन्दा ठुलो सहर हो मिंगोरा । कुनैबेला बेलायती महारानी एलिजाबेथद्वारा ‘ब्रिटिस साम्राज्यको स्विटजरल्यान्ड’को उपमा पाएको यो शहर एउटा आकर्षक पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । १९९७ जुलाई १२ को दिन यहि सहरको एउटा सुन्नी मुस्लिम परिवारमा मलालाको जन्म भएको थियो । मलालाको अर्थ हो ‘शोकग्रस्त’ । नामले शोक अर्थ्याएकै शैलीमा उनको जिन्दगीको एउटा कालखण्डलाई पनि शोकले चुर्लुम्मै डुबायो । तर आफ्नो अविचलित संघर्षको गोरेटोले मलालालाई विश्वकै उदाहरणीय किशोरीको दर्जामा पुर्याएको छ |

मिंगोरा सहर तालिवानको चंगुलमा फस्दै गर्दा मलाला आफ्नो बाल्याबस्थाको उत्तरार्धतिर थिइन् | २००९ मा ‘गुल मकै’ छद्म नामबाट मलालाले बालबालिकाकोलागि शिक्षाको वकालत गर्दै ब्लग लेख्न थालिन् । तालिवान जस्तो खतरनाक आतंकवादी समूहबाट उनलाई ज्यान मार्ने धम्की आयो । तालिवानी आतंकले मलालाको सहरलाई छपक्कै छोप्यो । बिस्तारै त्यहाँ टेलिभिजन र संगीतमाथि प्रतिबन्ध लगाउने फर्मान जारी गरियो । महिलाहरुलाई बाहिर निस्कन र शिक्षा जस्तो आधारभुत अधिकारबाट समेत बन्चित पारिए । तर बालबालिका र महिला शिक्षाप्रति मलाला र उनको पिताको उर्ध्वगामी कदम चलि नै रह्यो । यी साहसी बाबुछोरी दुबैले तालिवानबाट निरन्तर मानसिक यातनाको सामना गरिरहे । पिताले आफ्नी छोरीको सुरक्षाका खातिर उनलाई स्वात उपत्यका बाहिरको विद्यालयमा सारेर पढाउन खोजे तर मलालाले पिताको प्रस्ताव अस्वीकार गरिन् | बरु भनिन् – ‘एकदिन जब मर्नु नै छ भने किन डराउने ?’

मानव अधिकारका निम्ति डटेर लड्ने किशोरी हस्ताक्षर थिइन् मलाला । बिबिसी र न्यूयोर्क टाइम्समा जस्ता प्रतिष्ठित संचारमाध्यममा मलालाको आवाजले स्थान पाएपछि उनको नाम र काम बारे संसारले चिन्यो उनलाई । आतंकवादी अत्याचारको विरुद्ध उनले गरेको विरोध तालिवानीहरुलाई पचेन । ९ अक्टोबर २०१२ को कालोदिन मलाला चढेको स्कुल बसमा एक बन्दुकधारी छिर्यो र उनको टाउकामा गोली दाग्यो । उनको टाउका छेड्दै भित्र गएको गोली घाँटी हुँदै काधँसम्म पुग्यो । छोरीको नाजुक अवस्था र बेहोशीपन अनि संवेदनशील अंगहरुमा बढ्दै गईरहेको संक्रमणलाई बुझेका पिता छोरी बाँच्छिन भन्नेमा रत्तिभर आशाबादी थिएनन् । तर तीन महिना लामो उपचारपछि मलाला सामान्य अवस्थामा फकिईन् । मलालाको हत्या प्रयासपश्चात् पाकिस्तानमा जनताको शैक्षिक अधिकारको आन्दोलनको राँको दन्कियो । परिणामस्वरुप पाकिस्तानी सरकारले शैक्षिक अधिकार सम्बन्धि बिधेयक नै अनुमोदन गर्यो । त्यसपछि मलाला दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइन् ।

यिनै साहसी किशोरी मलालालाई भर्खरैमात्र ‘नोबेल शान्ति पुरस्कार’ प्रदान गर्ने घोषणा गरिएको छ । विश्वकै सबैभन्दा कान्छी नोबेल पुरस्कार बिजेता मलालाले यो पुरस्कार पाएपछि ‘अब उनले पाउन बाँकी केही नभएको’ चर्चा चल्न थालेको छ । तर त्यस्ती साहसी र दृढ किशोरी जसले गोलीको सामना गरिकन मृत्युलाई जितेर मानवाधिकारका लागि लडिरहिन्, उनैलाई हतियारको उत्पादन र बिक्री गर्ने व्यक्तिको नाममा स्थापित ‘शान्ति’ पुरस्कारले मलालाको व्यक्तित्वलाई होचो पारेको छ । उनलाई पुरस्कृत गरेर नोबेल फाउन्डेसन गौरवान्वित भयो होला तर मलालाको लागि यो पुरस्कार उचित थिएन ।

एक त यति कलिलो उमेरमै पुरस्कार दिंदा उनको अझैं अगाडि बढ्न चाहने पाईलालाई कुण्ठित पार्न सक्नेछ भने उनी स्वयममा अहमताको भावना नआउला भन्न सकिन्न । सोचनीय कुरा त के छ भने तालिबानी आतंककारी समूह र तिनको निकृष्ट कदमको विरोध गर्ने मलालालाई हतियारकै अर्को कारोबारीले नै पुरस्कारको लागि योग्य ठान्यो । उनको टाउकोमा लागेको गोलीसंग नोबेलको पनि कतै न कतै सम्बन्ध छ र उनको रगतबाट नोबेल फाउन्डेसन पनि रक्ताम्मे भएको छ । अनि यो पुरस्कार दिएर नोबेल फाउन्डेसनले नौटँकी गर्दै उनको हुर्मत लिएको छ भने यसलाई अस्विकार नगरेर मलालाले पनि गल्ती गरेकी छिन् ।

यतिखेर सामाजिक संजालहरुमा मलालालाई बधाई दिने लहर चलेको छ । पुरस्कारको यो घोषणाप्रति खुलेआम वा मौन असहमति शून्यप्राय देखिन्छ । पुरस्कारको रुपमा दिईने मोटो धनराशीले मलालाको संघर्ष, इज्जत र टाउकामा गोली दागिएपछिको अवस्थाको खरिद गरेको छ । किनकि नोबेल पुरस्कारको इतिहास नै रक्तरञ्जित छ ।

अल्फ्रेड बर्नार्ड नोबेल, जसले यो पुरस्कारको स्थापना गरे, उनलाई ‘मृत्युको ब्यापारी’ नामले चिनिन्थ्यो । कारण उनी तिनै नोबेल हुन् जसले डाइनामाइट, बलिस्टाइट जस्ता खतरनाक बिष्फोटक पदार्थहरुको आविष्कार गरे । तोप बनाउने बोफोर्स कम्पनीका मालिक थिए उनी | कैयौं देशमा युद्ध भड्काउन उनले आफ्नो हतियार बेचे र अकुत सम्पत्ति थुपारे । आजसम्म उनकै आविष्कारले संसारभर करोडौंको ज्यान लिइसकेको छ ।

१८८८ मा भाई नोबेल लद्विगको मृत्युपछि आफ्नो सम्पत्ति तह लगाउन उनले भाईको नाममा नोबेल पुरस्कारको स्थापना गरे | एउटा फ्रेन्च पत्रिकाले भूलवश बैज्ञानिक (दाई) अल्फ्रेड नोबेलकै मृत्यु भएको ठान्यो र “The Merchant of Death is Dead” शिर्षकमा मृत्युलेख नै छाप्यो | जसमा लेखिएको थियो – “Dr. Alfred Nobel, who became rich by finding ways to kill more people faster than ever before, died yesterday.”

यो पढिसकेपछि नोबेलले तोरीको फूल देखे | आफ्नो मृत्युपछि संसारलाई आफ्नो छवि उँचो भएको देखाउने अनेक तौरतरिकाको खोजीमा तल्लिन नोबेलले त्यो पुरस्कार आफ्नै नाममा राखे । मानव जगतमा उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई सम्मान गर्ने हेतुले आफ्ना चाखका विषयहरु भौतिक शास्त्र, रसायनशास्त्र, औषधीविज्ञान, अर्थशास्त्र र साहित्य विधामा पुरस्कार घोषणा गरे । ‘नोबेल शान्ति पुरस्कार’ चाहिं नोबेलकी पुर्वप्रेमिका तथा निजी सचिव बर्थाको आग्रहमा स्थापित तथा प्रवर्धित पुरस्कार थियो र १९०५ मा यो पुरस्कार उनैले हात पारिन् ।

यसरी, संसारले चिनेको आफ्नो ‘युद्ध बिक्रेता’को छवि धुमिल पार्न उनले नोबेल पुरस्कारको स्थापना गरेका थिए । उदेकलाग्दो कुरो त के छ भने सोही पुरस्कार एकपटक उनकै प्रेमिकाले हत्याइन् र अर्को टिठ लाग्दो कुरा १९३९ ताका अडोल्फ हिटलर जस्ता इतिहासमै क्रुर शासक भनेर चिनिएका व्यक्ति समेत नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका थिए । यसले देखाउंछ पुरस्कारको नाम नोबेल भएपनि यो पुरस्कारका लागि जस्तोसुकै कद र बिचारका मान्छे पनि मनोनित हुन सक्दारहेछन् |

मलालाजस्ती प्रगतिशील छोरी वा किशोरी कुनैपनि समाजकालागि आदर्श हुन् । निश्चय पनि मलाला सम्मानित हुनु गर्वको कुरा हो तर सम्मान कसले गरिरहेछ र कुन विधामा गरिरहेछ त्यो विश्लेषण गर्न लायकको विषय हो । म सम्झिरहेछु २०१२ अक्टोबरताका मलालाको टाउकोमा दागिएको गोली र तिनै हतियारका आविष्कारकको नामबाट मलालालाई दिइएको यो ‘शान्ति पुरस्कार’ । हतियारका व्यापारीहरु शान्तिका नाममा गोहीको आँशु बगाउंछन् । पुरस्कार बाँड्नेहरू आफैं बोक्सी आफैं झाँक्रीको भेषमा नाटक गरिरहेको देख्दा उदेक लागेर आउँछ । यो पुरस्कार होइन, मलालालाई दागिएको अर्को गोली वा ‘मिठो चक्कु’ जस्तो लागिरहेछ । मलाला अर्थात् होनाहार अधिकारकर्मी किशोरीलाई यो हतियार र बारुद बेचेर कमाएको पैसाले सम्मान दियो वा उनको अपमान गर्यो यो एउटा नयाँ बहसको विषय बनेर आएको छ |

Comments

comments

सम्बन्धित शीर्षकहरु