प्रमुखदलहरुबीच सहमति

काठमाडौँ,प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीबीच राजनीतिक सहमति गर्नको लागि पाँचबुँदे सहमति भएको छ ।

प्रमुख दलबीच सो सहमति भएपछि ३९ दिनदेखि अवरुद्ध रहेको व्यवस्थापिका संसदको बैठक बुधबारदेखि सन्चालनमा आएको छ ।

संविधानसभा भवनमा आज अपराह्न ती दलका शीर्ष नेताहरूबीच भएको बैठक शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग पु¥याउने र राजनीतिक दलहरूबीच पारस्परिक समझदारीको विकासमा सघाउन राजनीतिक समिति गठन गर्ने सहमति भएको हो ।

राजनीतिक समितिमा नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का तर्फबाट तीन–तीनजना रहने, तराई–मधेश केन्द्रित राजनीतिक दलहरूका तर्फबाट सोही सङ्ख्यामा र अन्य दलबाट तीनजना रहने सहमति भएको छ ।

अन्य दलबाट उक्त समितिमा रहने तीनजना सदस्यमध्ये राप्रपा र नेकपा (माले) बाट एक–एक जना रहने र अन्य एक दलको तर्फबाट पछि सहमति भएबमोजिम हुने जनाइएको छ ।

समितिको संयोजक पालैपालो हुने र पहिलो दुई महिनाका लागि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल रहने र समितिका निर्णय
सहमतिका आधारमा हुने बैठकमा सहभागी नेकपा (एमाले)का नेता माधवकुमार नेपालले बताउनुभयो ।
आज भएको सहमतिअनुसार सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेपत्ता व्यक्तिका परिवारलाई प्रत्येक व्यक्तिका आधारमा सरकारले निर्देशिका बनाएर चालु आर्थिक वर्षभित्रै रु दुई लाख दुई किस्तामा उपलब्ध गराउने छ ।

‘रुकुम, रोल्पा, जाजरकोट, सल्यान र प्यूठानमा जग्गा लेनदेन गर्दा विविध कारणले विधिवत रजिष्ट्रेसन पास हुन नसकेका जग्गाको हकमा दुवै पक्ष मञ्जुर भएमा चालु आर्थिक वर्षमा दुई प्रतिशत मात्र राजस्व लिनेगरी नेपाल सरकारले निर्देशिका बनाई रजिष्ट्रेसन गर्न आवश्यक व्यवस्था गर्ने’ बैठकपछि शीर्ष नेतात्रय सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा भनिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु