साहित्यकार ब्राजकी र आख्यानकार गौतमलाई साहित्य सम्मान

काठमाडौ,यस वर्षको पद्मश्री साहित्य सम्मान र पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार मनु ब्राजकीको कथा संग्रह ‘अन्नपूर्णाको खोज’ र वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ ।

२०६३ सालदेखि वितरण गरिँदै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशन भएकामध्ये उत्कृष्ट कृतिलाई अर्पण गर्दै आएको छ ।

ब्राजकीको कथा सङ्ग्रहका कथाहरूमा जीवनको भित्री तहसम्म पुगेर जीवनका विसङ्गत पक्षहरूलाई अत्यन्त सुक्ष्म रूपमा प्रस्तुत गरिएको छ ।

आञ्चलिकता, प्रयोग, बहुलता, व्यङ्ग्यचेत र मनोवैज्ञानिक पक्ष गहिरो रूपमा प्रस्तुत भएको छ । साथै यस पुस्तकमा जीवनका निर्मम पक्षहरूलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । त्यसैले यो वर्ष यो कृतिलाई प्रतिष्ठानले उत्कृष्ट कृति ठहर गर्दै पुरस्कृत गरेको हो । यो पुरस्कारको राशी दुई लाख रुपैयाँको रहेको छ । ब्राजाकी देश बाहिर रहेकाले उहाँका छोरा अमितसिंह भण्डारीलाई सो सम्मान उपलब्ध गराइएको थियो । । ब्राजाकीका छोरा भण्डारीले आफ्ना पिताको सन्देश पढेर सुनाउँदै कथाले जीवन, जगत् तथा समाजको समस्त जटिलतालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने बताउनुभयो ।
यो सम्मान यसअघि गणेश रसिकको ‘दशगजामा उभिएर’,भानुभक्त पोखरेलको ‘हिमवत्’ खण्ड, कृष्ण बरालको ‘समय हराएको बेला’, धु्रव सापकोटाको ‘अकल्पनीय’ र अमर न्यौपानेको ‘पानीको घाम’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ र रवीन्द्र समीरको ‘अर्जुनदृष्टि’, खगेन्द्र सङ्ग्रौलाको ‘आफ्नै आँखाको लयमा’ र शारदा शर्माको ‘ताप’लाई अर्पण गरिएको थियो । यस्तै पदमपुरकै नाममा दिइँदै आएको पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ ।
वरिष्ठ आख्यानकार गौतमले झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरणका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका छन् । उहाका कृतिहरूमा आञ्चलिकता र प्रयोगका विभिन्न आयामहरू पाइन्छन् । विशेषगरी तराई र मधेसको जीवनशैली उनको आख्यानमा पाइन्छ । श्याम ब्यङ्ग्य र सहज तरिकाले कथा भन्ने उहाको आफ्नै विशिष्ट प्रकारको शैली छ । उहालाई सम्मानसहित एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित र संस्कृतिविद् सत्यमोहन जोशीलाई अर्पण गरिएको थियो । सम्मान ग्रहण गर्दै वरिष्ठ आख्यानकार गौतमले विगत ६ दशकदेखि लेख्दै आए पनि आफ्नो ऊर्जामा कुनै कमी नआएको बताउनुभयो । आफूबिना साहित्य चले पनि साहित्यबिना आफू चल्न नसक्ने भन्दै गौतमले लेखन समाजसँग जोडिने बाटो भएको बताउनुभयो ।

गौतमले लेखन आफ्नो प्राथमिकतामा सधैँ रहने बताउँदै साहित्य लेखनमा इमान्दारी, कल्पना र विद्रोह आवश्यक छ भन्नुभयो
आफू विदेशमा रहे पनि नेपालको आर्थिकदेखि साहित्यिक विकासमा सक्रिय गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षसमेत रहनु भएका प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले सत्ता र सम्पत्ति क्षणिक भए पनि साहित्य कालजयी भएको बताउनुभयो । स्रष्टाहरू त्यागी र तपस्वी हुन् भन्दै लामिछानेले युवापुस्तालाई देशको कला, संस्कृति र साहित्यको समृद्धिमा लाग्न आग्रह गर्नुभयो । साहित्य सिर्जनामा लागेकाहरूका लागि आफूले थोरै भए पनि ऊर्जा थप्ने प्रयास गरेको उहाँको भनाइ छ ।
संरक्षक लामिछानेले उहाँहरुलाई सम्मान गर्दै नेपालको जनजीवन तथा संस्कृतिमा कालजयी साहित्य सिर्जना गरेमा त्यसलाई युगौयुगसम्म संसार पढ्ने विश्वास व्यक्त गर्नुभयो ।
पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा समालोचक कृष्ण गौतमले दुवै साहित्यकारको सिर्जनामाथि टिप्पणी गर्नु भएको थियो । समालोचक गौतमले आखयनपुरुष डा गौतम मानवीय समस्या र सूचना प्रविधि क्षेत्रलाई केन्द्रविन्दु बनाई लेख्ने साहित्यकार भएको र ब्राजाकी नारी पुरुष सम्बन्ध र समस्यालाई चित्रण गर्न खप्पिस भएको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष धनराज गिरीले प्रतिष्ठानले साहित्यिक विकासका साथै चितवनमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासको काममा पनि भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
साहित्यकारहरूको बाक्लो जमघट रहेको कार्यक्रममा नयाँ र पुरानो पुस्ताका स्रष्टाहरू सहभागी थिए । लामिछाने परिवार यही वर्ष शोकमा परेको थियो । तीन महिनाअघि मात्र खेमलाल लामिछानेको निधन भएको थियो । त्यसैले कार्यक्रममा स्वर्गीय लामिछानेप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु