बागलुङका नौ गाविसलाई पूर्ण साक्षर घोषणा

असोज १ ।बागलुङ,सन् २०१५ भित्र मुलुकबाटै निरक्षरता उन्मूलन गर्ने सरकारी लक्ष्यअनुसार हालसम्म बागलुङका ११ गाविस साक्षरयुक्त घोषणा भएका छन ।
नौ गाविस पूर्ण साक्षर घोषणा भएका छन् भने दुई गाविस साक्षर घोषणा भएका छन् ।पूर्ण साक्षर तथा साक्षर घोषणा भएका गाविसमा हरिचौर, भकुण्डे, रेस, लेखानी, अर्जेवा, मल्म, काँडेवास, मालिका, पाला, रायडाँडा र दुदिलाभाटी रहेका छन् ।’साक्षर बागलुङ’को लक्ष्य पूरा गर्न यहाँका गाविस पूर्ण साक्षर तथा साक्षर घोषणा हुने क्रम बढेको छ ।हालसम्म बागलुङका ११ गाविस साक्षरयुक्त घोषणा भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।पन्ध्रदेखि ६० वर्ष उमेर समूहका सबै निरक्षर साक्षर बनेपछि ती गाविस साक्षर घोषणा भएका हुन् ।

पाला र रायडाँडा साक्षर र बाँकी सबै पूर्ण साक्षर गाविसका रुपमा घोषणा भएको सहायक जिल्ला शिक्षा अधिकारी कुस्मराज उपाध्यायले बताउनुभयो ।

गाविसभित्रको साक्षरता दर ९८ प्रतिशतभन्दा माथि पुगेको अवस्थामा पूर्ण साक्षर र ९५ प्रतिशतभन्दा माथि पुगेको अवस्थामा साक्षर घोषणा गर्ने गरिएको उहाँको भनाइ छ ।

त्यस्तै, नारायणस्थान, तित्याङ, ग्वालीचौरलगायतका गाविस पूर्ण साक्षर घोषणा हुने क्रममा रहेको जनाइएको छ ।

अघिल्ला दुई आवमा गरी जिल्लाभर साक्षरताका सघन कक्षाहरु सञ्चालन गरी सबै निरक्षरलाई साक्षर बनाउन अभियानै चलाइएको थियो ।
गत वर्ष ३८ गाविस र नगरपालिकाका ११ वटा वडामा साक्षरताका सघन कक्षाहरु सञ्चालन गरिएको थियो । अघिल्लो वर्षको तथ्याङ्कअनुसार जिल्लामा करिब २५ हजार जना निरक्षर रहेको पाइएको थियो ।

सबै निरक्षरलाई साक्षर बनाउने उद्देश्यले साक्षरता सघन कार्यक्रम चलाएर निरक्षरता शून्यमा पुर्याउने प्रयास गरिएको सहायक जिशिअ उपाध्यायले बताउनुभयो ।
सन् २०१५ भित्र जिल्लालाई पूर्ण साक्षर र निःशुल्क आधारभूत शिक्षायुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

साक्षरता कक्षाका लागि यो वर्ष कुनै नयाँ कार्यक्रम नआएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । केन्द्रबाटै तोकेको विद्यार्थी परिचालन निर्देशिकाअनुसार अहिले साक्षरता स्थिति सर्वेक्षण, कक्षा सञ्चालन, अनुगमनजस्ता कार्य भइरहेका छन् ।
स्थानीयस्तरमा गाविस, सामुदायिक अध्ययन केन्द्र र नगरपालिकाका वडाले समेत साक्षर अभियानको अनुगमन गर्ने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले आवश्यक बजेट विनियोजन र अन्य समन्वयात्मक कार्य गर्ने गरेको छ । विभिन्न सामाजिक सङ्घसंस्थाले पनि पूर्ण साक्षर घोषणा अभियानमा सघाइरहेका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु