हातहतियारसहित तीन लुटेरा पक्राउ

भदौ ३१ ।गौशाला,सर्वसाधारणलाई लुटपाट गरिरहेको क्रममा महोत्तरीको गौशालाबाट प्रहरीले हातहतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश सुवेदीले गएराति गौशाला-८ स्थित मरहाखोला किनारबाट नलकटुवा थान–एक र खुकुरी अन्य घरेलु हतियारसहित गएराति लुटेरालाई पक्राउ गरेको बताउनुभयो ।

प्रहरीले सो घटनामा संलग्न अन्यको पनि खोजी भइरहेकाले तत्काल पक्राउ परेकाको नाम खुलाउन चाहेको छैन ।

गएराति करिब ८ बजे गौशालाबजारबाट ज.३ प २४५८ र ज.२प २१३९ नम्बरको मोटरसाइकलमा महोत्तरी भरतपुर–९ बस्ने ईश्वर मगर, सचित सिंह र सर्लाहीको गौरीशङ्कर–४ बस्ने भीमबहादुर बस्नेत तीनैजना साथी घर गइरहेको बेला गौशाला–८ स्थित मरहा खोला तर्ने बेलामा हातहतियारसहित ढुकेर बसेका पाँचजनाले उनीहरूमाथि आक्रमण गरेर लुटपाट गरेका थिए ।
लुटेराले उनीहरूलाई पहिला मोटरसाइकलमा लाट्ठी प्रहार गरी रोकेर पछि हतियार देखाउँदै उनीहरूसँग भएको दुईवटा झोला, चारवटा मोबाइल लुटपाट गरेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।
लुटेराले ईश्वर मगरलाई घाँटीनजिकै खुकुरीसमेत प्रहार गरी गम्भीर घाइते बनाएका छन् भने उनको उपचार गौशालास्थित नवीन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । यसै क्रममा अन्य साथी सचित सिंह र भीमबहादुर बस्नेत पनि लुटेराको कुटाइबाट सामान्य घाइते भई उनीहरू सामान्य उपचार गराई प्रहरीको सहयोगमा राति नै घर फर्किसकेका छन् ।
लुटेराबाट कुटपिट गरी लुटिएपछि ज्यान जोगाउने उद्देश्यले भागेका पीडित तीनै जनाले इलाका प्रहरी कार्यालय गौशालामा घटनाबारे जानकारी गराएलगत्तै तत्काल प्रहरी निरीक्षक रमेश सुवेदीको नेतृत्वमा सो क्षेत्रमा लुटेराको व्यापक खोजी गर्दा लुटेरामध्ये तीन जना पक्राउ परेको र दुईजना अझै फरार रहेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

 

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु