गोरखामा बाबुराम पक्षको छुट्टै पार्टी कार्यालय स्थापना

भदौ २३ ।गोरखा बजार,एमाओवादी नेता बाबुराम भट्टराईका पक्षका कार्यकर्ताले गोरखामा छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् ।

प्रचण्ड पक्षले निषेध गरेको भन्दै गोरखामा पनि एमाओवादी भट्टराई पक्षको छुट्टै कार्यालय खोलेको हो ।

केही समयअघि समानान्तर जिल्ला कमिटी गठन गर्दै आएको नेता बाबुराम पक्षले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।
आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले प्रचण्ड विचार समूहका जिल्लास्तरीय नेताले आफूहरुलाई निषेधको राजनीति गरेकाले बाध्य भएर समानान्तर जिल्ला कमिटी गठन गरेको बताएको छ ।

भट्टराई विचार समूहले सोमबारदेखि विधिवत् रुपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बढेको वैचारिक मतभेद अन्त्य गर्ने सहमति भए पनि गोरखामा भने दुई पक्षबीच गहिरो मतभेद छ । केन्द्रमा पार्टी नफुटे पनि भट्टराईकै गृह जिल्ला गोरखामा भने छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा आएको छ ।

नेता भट्टराईले संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट विजयी हासिल गरेपछि संविधानसभा सदस्यको कार्यालयको नामले छुट्टै कार्यालय सञ्चालनमा थियो । एमाओवादी भट्टराई समूहले संविधानसभा सदस्यको सम्पर्क कार्यालय लेखेको बोर्डभन्दा माथि पार्टी कार्यालय लेखेर बोर्ड झुन्ड्याएको छ ।

भट्टराई विचार समूहका समानान्तर एमाओवादीका जिल्ला सचिव रमेश पोखरेलले केन्द्रमा पार्टी एक रहे पनि गोरखाको आवश्यकतालाई ध्यान दिएर छुट्टै पार्टी खोलेको बताउनुभयो ।

पोखरेललाई एमाओवादी प्रचण्ड विचार समूहले समानान्तरतर्फ लागेको भन्दै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको छ ।

पोखरेल प्रचण्ड विचार समूहले गठन गरेको जिल्ला कमिटीको सहसचिव हुनु हुन्थ्यो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु