चीनबाट ल्याएको जहाज दुई महिनामा चौथोपटक बिग्रियो

भदौ २० । काठमाडौं, नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा प्रयोग गरेको चिनियाँ एमए ६० नामक ५६ सिट क्षमता भएको जहाज उडान सुरु गरेको दुई महिनाभित्रै चौथोपटक थन्किएको छ ।

निगमको यो जहाज दुई महिनामा ४० दिन ग्राउन्डेड भइसकेको छ । यो जहाज २० दिन लामो ग्राउन्डेडपछि बिहीबारबाट उडान सुरु गरेकी दिन टायर पन्चर भएर फेरि ग्राउन्डेड भएको निगमस्रोतले जनाएको छ । पछिल्लोपटक इन्धन भल्भमा समस्या देखिएर साउन ३० देखि ग्राउन्डेड भएको यो जहाजको २० दिनपछि उडान सुरु गरेको थियो ।

निगमस्रोतले दिएको जानकारीअनुसार बिहीबार बिहान काठमाडौं विराटनगर गएर आएको यो जहाजले काठमाडौं भैरहवाका लागि अर्को उडान गरेको थियो ।

भैरहवाबाट र्फकने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा यो जहाजको पांग्रा पन्चर भएको छ ।

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको बायाँतर्फको एउटा टायर पन्चर भएको हो । ‘पांग्रा पन्चर हुनु ठूलो कुरा होइन तर जगेडा नहुनु र मर्मत गर्नसक्ने क्षमतासमेत निगमसँग नभएकाले जहाज थन्किएको छ,’ निगमका एक उच्च अधिकारीले भने । २० दिन लामो ग्राउन्डेडपछि सञ्चालनमा आएको यो जहाज फेरि कति दिन थन्किने भन्ने चिन्ता बढेको छ ।(अन्नपूर्ण पोस्टबाट साभार)

Comments

comments

सम्बन्धित शिर्षकहरु