सार्क सम्मेलनको तयारीको लागि राष्ट्रिय मूल समिति गठन

भदौ १ ।काठमाडौँ,सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलनको तयारीको लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सम्मेलन तयारी एवम् व्यवस्थापनका लागि नौ सदस्यीय राष्ट्रिय मूल समिति गठन गरेको छ ।

आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने अठारौँ शिखर सम्मेलनको तयारीका लागि यसका अतिरिक्त सरकारले विषयगत समिति, अन्य उपसमितिका साथै सल्लाहकार समिति पनि गठन गरेको छ ।

राष्ट्रिय मूल समितिले शिखर सम्मेलनसम्बन्धी नीतिनिर्माण गरी सोहीअनुसार विषयगत समिति तथा उपसमितिलाई निर्देशन दिन तथा तिनको समयबद्ध कार्ययोजना तर्जुमा गराई कार्यान्वयन गर्न र तिनले सम्पादन गरेका कार्यप्रगतिको सुपरीवेक्षण एवम् समीक्षा गरी आवश्यक निर्देशन दिनेछ ।

राष्ट्रिय मूल समितिका सदस्यमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, सहरी विकासमन्त्री डा नारायण खड्का, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुख्यसचिव लीलामणि पौड्याल हुनुहुन्छ । समितिको सदस्यसचिवमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी हुनुहुन्छ ।

त्यसैगरी सरकारले परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव, प्रधानसेनापति, सशस्त्र प्रहरी र नेपाल प्रहरीका महानिरीक्षकसहितको २७ सदस्यीय सम्मेलन तयारी तथा समन्वय समिति, उपप्रधान एवम् गृहमन्त्रीको संयोजकत्वमा १० सदस्यीय सुरक्षा परिवहन तथा यातायात व्यवस्था समित गठन गरेको छ ।

सरकारले सुरक्षा परिवहन तथा यातायात व्यवस्था समितिलाई शिखर सम्मेलनमा भाग लिन आउनेुहुने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत सबै सहभागीको सुरक्षाका विषयमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने गराउने तथा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत सबै सहभागीको आगमन, प्रस्थान, आवास, दृश्यावलोकन, सम्मेलनस्थलमा सुरक्षा प्रदानजस्ता सुरक्षासम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिएको छ ।

उक्त समितिले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत विदेशमन्त्रीलाई उपलब्ध गराउने सवारीसाधनबाहेक अन्य सहभागीलाई सवारीसाधनको प्रबन्ध गर्नुका साथै अति विशिष्ट अतिथिका साथ आउने सामानको सुरक्षा तथा दाखिलासम्बन्धी व्यवस्था मिलाउनुपर्नेछ ।
त्यस्तै शिखर सम्मेलनको समयमा सञ्चार व्यवस्थापन तथा सञ्चारसम्बन्धी सुविधाको प्रबन्ध गर्न सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा १० सदस्यीय सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार समिति गठन भएको छ । समितिका सदस्यमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारी, सूचना विभागका महानिर्देशक, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशक, गोरखापत्र संस्थानका अध्यक्ष, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल पत्रकार महासङ्घका सभापति रहनुभएको छ ।
सरकारले उक्त समितिलाई शिखर सम्मेलनमा आउने प्रेस प्रतिनिधिको रेखदेख एवम् निजलाई आवश्यक सहयोग, प्रेसपास, प्रेस बुलेटिन, प्रेस सम्मेलन तथा प्रचारप्रसारसम्बन्धी प्रबन्ध मिलानउनका साथै भूउपग्रहबाट प्रसारणको व्यवस्था गर्ने कार्यभार तोकेको छ ।

काठमाडौँ उपत्यकाका सडक निर्माण र मर्मतसम्भारसम्बन्धी काम, खानेपानी, ढलनिकास, बिजुली तथा टेलिफोनको अवस्था दुरुस्त राख्ने, सम्मेलनको समयमा अतिथिको आवागमन हुनसक्ने सम्भावितस्थल, विदेशी राजदूतको निवास र राजदूतावास रहेका स्थानसम्म पुग्ने सडक मर्मतसम्भार, सम्मेलनस्थल राष्ट्रिय सभागृह भवनको मर्मतसम्भार एवम् आवश्यक उपकरण जडान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको संयोजकत्वमा १४ सदस्यीय भौतिक पूर्वाधार व्यवस्था समिति गठन भएको छ ।

राजधानीको सरसफाइ एवम् सजावट, महानगर क्षेत्रमा जथाभावी पोस्टर, पम्प्लेट टाँस्न, पेन्टिङ गर्न, पसल तथा टहरा राख्न नदिने र

सडकमा अशोभनीयरूपमा रहेका घरपर्खाल दुरुस्त राख्न तथा सरकारी एवम् गैरसरकारी घरमा आवश्यकतानुसार रङरोगन गर्न उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा १७ सदस्यीय सरसफाइ तथा नगर सजावट समिति गठन भएको छ ।
उक्त समितिमा काठमाडौँ उपत्यकाका सबै स्थानीय निकाय, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य महासङ्घ, होटल सङ्घ नेपाललगायत सदस्य छन् ।
त्यसैगरी सारभूत विषय, समारोह, शिष्टाचार तथा साधन व्यवस्था उपसमिति, पर्यटन, हवाई उड्डयन व्यवस्थापन तथा संस्कृति,स्वास्थ्य ‘साइड इभेन्टस्’ आयोजक उपसमिति पनि गठन भएका छन् ।

सबै उपसमितिका संयोजकमा सम्बन्धित मन्त्रालयका सचिवलाई तोकिएको छ भने ‘साइड इभेन्टस्’ आयोजक उपसमिति संयोजनको जिम्मेवारी राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई दिइएको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाको संयोजकत्वमा गठित सल्लाहकार समितिले शिखर सम्मेलनको शीर्ष विषयवस्तु, घोषणापत्रमा समावेश गर्नुपर्ने सारभूत सामग्री तयार पारिसकेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु