नारी निकुञ्जको सिड्निमा दर खाने कार्यक्रम

सिड्नी। हरेक वर्ष झै अस्ट्रेलियामा नेपाली महिलहरूले आपसमा मिलेर दर खाने कार्यक्रम राखेका छन। आगामी शनिबार सिड्नीमा रहेका नेपाली महिलाहरुको निम्ति विशेष हुने भएको छ । गैरआवासीय नेपाली संघमा आबद्ध महिलाहरुको फोरम नारी निकुञ्ज अष्ट्रेलियाले ग्रानभीलमा हरितालिका तीज २०१४, दर खाने कार्यक्रम आयोजना गर्दैछ । जमघट धेरै हुन्छन्, रमाइलो पनि हुन्छ तर रमाइलोसँगै केही सामाजिक कारण पनि जोडियो भने त्यो उत्कृष्ट बन्दछ । यही मन्त्रलाई आत्मसाथ गरेको नारी निकुञ्ज अष्ट्रेलियाले विगत वर्षझैं यस वर्ष पनि पाठेघरसम्बन्धी समस्या भोगिरहेका नेपाली महिलाहरुको सहयोगार्थ कार्यक्रमलाई समर्पित गरेको छ । कार्यक्रमबाट उठेको रकम पाठेघर खस्ने समस्याबाट पीडित बनेका महिलाहरुलाई निःशुल्क शल्यक्रिया उपलब्ध गराउनका निम्त खर्च गरिनेछ । उचित अवसर र सबैको साथ पाउने हो भने नेपाली नारीहरु विश्वमै उदाहरणीय काम गर्न सक्छन् भन्ने कुरालाई उजागर गर्ने उद्देश्यका साथ त्यस साँझ एक खुट्टाकै भरमा नृत्य गरेर चर्चा कमाउन सफल रोमा न्यौपानेको प्रस्तुति पनि समेटिनेछ । तीजको रमाइलोका साथै केही परोपकारी उद्देश्य समेतमा सहयोग पुग्ने भएपछि यसले नेपाली समूदायमा मात्र नभएर सिड्नीमा रहेका अन्य समूदायलाई पनि नेपालीप्रति राम्रो सन्देश दिएको प्रतिक्रिया व्यक्त भएको छ । साँझ ५ बजेबाट सुरु हुने कार्यक्रम राति ११ बजेसम्म सञ्चालन हुने र सबै टिकट बिक्री भइसकेको नारी निकुञ्ज अष्ट्रेलियाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु