नेपालमा पूर्वाधार विकासमा लगानी गर्न अष्ट्रेलियनहरु इच्छुक

साउन २२, काठमाडौं- नेपालका लागि अष्ट्रेलियाका राजदूत गेलेन ह्वाईटले अष्ट्रेलियाका उद्योगी व्यसायी नेपालको कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँ चेम्बर सचिवालयमा बुधबार भएको भेटमा उहाँले यस्तो बताउनु भएको हो।

‘नेपालमा लगानीको राम्रो वातावरण बन्दै गएको छ’ उहाँले भन्नुभयो – ‘अष्ट्रेलियाका लगानीकर्ताहरू नेपालको कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाशमा लगानी गर्न इच्छुक रहेको पाएको छु।’ नेपालमा अष्ट्रेलियाली लगानी भित्त्याउन आफूले पहल गर्ने समेत उहाँले बताउनु भयो। त्यस्तै, उहाँले अष्ट्रेलिया सरकारले उपलव्ध गराउदै आएको सहयोगलाई थप प्रभावकारी बनाउने समेत जानकारी दिनुभयो।

उक्त अवसरमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई विस्तार गर्न जोड दिनुभयो। यसका लागि अष्ट्रेलियाले कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रका आफ्ना पूजीं, सीप र अनुभवलाई नेपालमा उपयोग गर्नुपर्ने बताउनु भयो। साथै, नेपालको जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योगमा लगानी गरेर अष्ट्रेलियाका लगानीकर्ताहरूले प्रशस्त फाईदा लिन सक्ने सम्भावना रहेको जानकारी गराउनु भयो। त्यस्तै, चेम्वरका महासचिव मलेश कुभार अग्रवालले अष्ट्रेलिया, एशिया पेसिफिक क्षेत्रकै फाईनान्सियल केन्द्रको रूपमा विकास भईरहेकोले उसले हासिल गरेको अनुभवबाट नेपाल लाभान्वित हुनु पर्ने बताउनु भयो।

छलफलका अवसरमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, कोषाध्यक्ष राजेन्द्र प्रसाद अर्याललगायतको पनि उपस्थिती रहेको थियो। नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तारमा जोड यसअघि मंगलवार चेम्बरले नेपालका लागि बेलायतका राजदूत एन्ड्रिउ जेम्स स्पार्कसँग भेट गरेको थियो। उक्त अवसरमा राजदूत स्पार्कले संयुक्त अधिराज्य बेलायत र नेपाल बीचको आर्थिक तथा व्यापारिक सम्वन्ध विस्तारमा आफूले प्रयास गर्ने बताउनु भएको थियो। छलफलका अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योग लगायत क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताउंदै बेलायतका लगानीकर्ताहरूले यसबाट प्रशस्त फाईदा लिन सक्ने बताउनु भएको थियो। त्यस्तै, चेम्वरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्लले नेपाली उद्योगी व्यवसायीहरूलाई सहज तथा सरल रूपमा भिषा उपलव्ध हुनु पर्नेमा जोड दिनु भएको थियो।

साभार- नेपाल समाचारपत्र

Comments

comments

सम्बन्धित शिर्षकहरु