डन ‘चरी’ प्रहरीसंगको इन्काउन्टरमा मारिए

असनेपाल न्युज सम्बाददाता/

साउन २२, काठमाडौँ-  हत्या प्रयासको अभियोगमा ६ महिनादेखि प्रहरीको फरार सुचिमा रहेका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएका छन्। प्रहरीसँगको दोहोरो भिडन्त (इन्काउन्टर) का क्रममा काठमाडौंको भीमढुंगामा उनको मृत्यु भएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीसँगको दोहोरो फायरिङका क्रममा चरीलाई गोली लागेको हो। ‘हाम्रो टोलीले ६ महिनादेखि चरीलाई पछ्याइरहेको थियो। आज सीतापाइलादेखि पिछा गर्दागर्दै उनीहरूले प्रहरीमाथि गोली चलाए, जवाफी कारबाहीमा त्यो ग्याङको एक जनाको मृत्यु भयो,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताउनुभयो ।

प्रहरी स्रोतका अनुसार चरी केही समयदेखि ‘वान्टेड’ थिए। उनी पल्सर मोटरसाइकलमा सवार थिए। उनले सुरुमा फायर गरेपछि प्रहरीले जवाफी फायर खोलेको प्रहरी स्रोतले बतायो।

दिनेश अधिकारी ‘चरी’को शवलाई पोष्टमार्टमको लागि महाराजगंज शिक्षण अस्पताल लगिएको छ।  उनका समर्थक सहित आफन्तहरुको ठूलो भीडले अस्पताल परिसरमा जम्मा भएको छ।  त्यो भीडले अस्पतालको इमरजेन्सी तोडफोड गरेका छन्। सडकमा गुडिरहेको गाडी पनि क्षतविक्षत गरेका छन्। भीडले चरीलाई दोहोरो भीडन्तको नाटक रचेर हत्या गरिएको आरोप लगाएका छन्। टिचिङ् अस्पतालमा चरीकी आमा, दिदी, बहिनी, भान्जी लगायत उपस्थित छन्। कान्छो छोरो तीस वर्षको हाराहारीमै मारिएपछि आमा बेहोस भएकी छिन्।  चरीका आफन्त साथिभाइले उनी केहि दिनअघि मात्र काठमाडौं आएको र एक्लै हिँड्ने नगरेको बताइरहेका छन्। ‘फेक इनकाउन्टरको प्लट बनाएर हत्या भयो,’ चरीको काका बताउने एकजना भनिरहेका थिए। चरी छ महिनादेखि प्रहरीको वान्टेड सूचीमा थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु