सुनकोसी पहिरोमा बेपत्ता १ सय २३ जनालाई मृत घोषणा

साउन २१ ।सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको मांखा स्थित सुनकोसी पहिरोमा परेर बेपत्ता भएका तर शव नभिटेका सबै १ सय २३ जनालाई सरकारले मृत घोषणा गरेको छ ।

खोजविनका क्रममा जिवितै भेटिने संभावना लगभग समाप्त भएका कारण बेपत्ता भएका सबैलाई मृत घोषणा गरी राहत वितरण सुरु गरिएको हो ।
शनिार बिहान ३ बजे गएको पहिरोमा १ सय ५६ जना हराएका थिए ।

हराइरहेका मध्ये खोजबिनका क्रममा ३३ जनाको शव भेटिएको थियो । दुई सय जति घर डुवानमा परेका छन् ।

सुनकोसी आसपास गाविसका झण्डै ५ हजारजना विस्थापित भएका छन् । प्रशासनले हराएकाहरु नभेटिने भन्दै मरिसकेको घोषणा गरेपछि बेपत्ताका परिवारजनले अहिले हिन्दु धर्मसंस्कार अनुसार अहिले कुशको शव बनाइ सामूहिक दाहसंस्कार गरी काजकिरिया गर्न थालेका छन् ।

मृतका आफन्तहरुले राहत बुझ्ने काम पनि भइरहेको छ । प्रशासनले अहिलेसम्म घटनापछि विस्थापित भएकाहरुलाई ६२ बोरा चामल, १७ बोरा दाल, ९ बोरा नुन, पाउरोटी र दुनोटलगायत खाद्यन्न सामाग्री वितरण गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

सुनकोसीमा पहिरोले थुनिएको बाँध फुटालेर पानीको वहाव घटाउन नेपाली सेनाले केहि जलश्रोत विज्ञहरुको सहयोगमा आज पनि ठूलठुला विष्फोट गराउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

हिजो सेनाले हेलिकोप्टरको सहायतामा दुईओटा विस्फोट गराएपनि पछि बर्षा भएका कारण काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।

नदीमा अहिले प्रतिसेकेण्ड १ सय ८० क्यूसेकको दरले पानी भोटेकोसी र सुनकोसीबाट आइरहेकामा २ सय ५ क्यूसेक पानी प्रतिसेकेण्ड ओभरफ्लो भएर गइरहेको छ । आज सेनाले हेलिकोप्टरद्धारा बिष्फोट गराएपछि थप २ सय ५० क्यूसेक पानी निकास खुलेर जानेछ ।
तलाउमा पानीको सतह घटेर साबिककै अवस्थामा फर्कन ५ देखि ६ दिनसम्म लाग्नसक्ने जलश्रोत बिज्ञहरुले अनुमान लगाएका छन् । नेपाली सेनाले भारतका जलश्रोत बिज्ञहरुको सहयोगमा नदिको बाँध फोडेर तालको पानी सुरक्षित रुपमा कटाउने पहल गरेको छ ।

आज पनि उद्धारकर्मीहरुले दुइ ओटा स्काभेटर साथै डोजरको सहयतामा हराएकाहरुको खोजी कार्य जारी राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु