सामाजिक सुरक्षा ऐन ल्याउन गरिएको सङ्कल्प प्रस्तावलाई संसदद्वारा पारित

साउन २० ।काठमाडौँ, सामाजिक सुरक्षासम्बन्धी ऐन यसै अधिवेशनमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिनेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको छ ।

व्यवस्थापिका-संसद्को आजको बैठकमा नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले प्रस्तुत गरेको सामाजिक सुरक्षासम्बन्धी ऐन प्रस्ताव पारित भएको हो ।

प्रस्तावमा ‘श्रमिकहरूको सामाजिक सुरक्षा हक प्रत्याभूति गर्न २०६७\०६८ देखि नै हरेक कर्मचारी-श्रमिकबाट एक प्रतिशतका दरले सामाजिक सुरक्षा कर लागू गर्दै सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने सम्बन्धमा कार्यदल गठन गरी कार्य प्रारम्भ भइसकेको अवस्थामा तत्काल विभिन्न प्रकारका रोजगारीमा रहेका सबै श्रमिकलाई समावेश गर्न सकिने गरी सामाजिक सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयन गर्न सामाजिक सुरक्षा ऐन यसै अधिवेशनमा संसदमा पेस गर्न नेपाल सरकारलाई निर्देश गर्दछ’ भनिएको छ ।

सांसद पाण्डेले सो प्रस्ताव प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषमा हाल सरकारी तथा निजी क्षेत्रमा कार्यरत दश लाख कर्मचारीले मासिक एक प्रतिशतका दरले योगदान दिन थालेको जानकारी दिँदै सो कोषबाट उन्नाइस किसिमका सुविधा प्राप्त गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो ।

उहाँले कोष व्यवस्थित गर्न सामाजिक सुरक्षा ऐन ल्याउने र डिजिटल परिचयपत्र बनाउने कार्यविधि बनाउने कार्य भइरहेको बताउनुभयो ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सामाजिक सुरक्षासम्बन्धी एकीकृत कानुन यसै अधिवेशनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्तरिम संविधानमा सामाजिक सुरक्षाको हकको व्यवस्था भएअनुसार सरकारले सोसम्बन्धी एकीकृत र प्रभावकारी कार्य गर्दै आएको बताउनुभयो । सो कार्यक्रम सम्बन्धमा अर्थ मन्त्रालयबाट रकम निकासामा ढिलाइ भएको छ भन्दै उहाँले १९ प्रकारका सामाजिक कार्यक्रम र सेवा सञ्चालन भएकामा यससँग सम्बन्धित कार्यक्रममा दोहोरोपन हटाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका गगनकुमार थापाले सरकारले प्रस्तुत गर्नुपर्ने ११ महत्वपूर्ण विधेयकमध्ये प्रस्तुत विधेयक उच्च महत्वपूर्ण हो भन्दै सामाजिक सुरक्षाका सन्दर्भमा कुनै पनि वादको झन्डा बोक्नु नपर्ने जनाउनुभयो ।

काँग्रेसकै बद्रीप्रसाद पाण्डे र एकीकृत नेकपा माओवादीका भक्ति पाण्डेले सो प्रस्तावको समर्थन गर्दै यसै अधिवेशनमा सामाजिक सुरक्षा ऐन
ल्याउन आवश्यक छ भन्नुभयो ।

छलफलमा काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना र धनराज गुरुङ, एमालेका गङ्गालाल तुलाधर, शेरबहादुर तामाङ, केदारप्रसाद सञ्जेल र रामहरि सुवेदी तथा सभासद् रेवतीरमण भण्डारी, रामनारायण बिंडारी, कमलप्रसाद पङ्गेनी, विनोद श्रेष्ठ, चण्डिप्रसाद राई, पेम्बा लामा, तारादेवी राई, सूर्यप्रकाशबाला राई, तुलबहादुर गुरूङ, शिवकुमार मण्डल, अनुराधा थापा मगर, शान्ता मानवी, जयन्त चन्द, गुरूप्रसाद बुर्लाबोटीले भाग लिनुभयो ।

 

 

सम्बन्धित शिर्षकहरु