गुआमलाई पराजित गर्दै नेपाल विजयी

साउन १९ ।काठमाडौँ,नर्वेमा सञ्चालन भइरहेको ४१ औँ चेस ओलम्पियाडमा नेपालले गुआमलाई पराजित गरेको छ ।

नर्वेस्थित ट्रोम्सो सहरमा आज भएको दोस्रो चरणको खेलमा नेपाली टोलीका फिडे मास्टर मनीष हमाल, रिजेन्द्र राजभण्डारी र केशव श्रेष्ठले गुआमका खेलाडीलाई पराजित गर्दै जित हासिल गरेको नेपाल बुद्विचाल सङ्घले जनाएको छ ।

विश्वका १८१ राष्ट्रले भाग लिएको प्रतियोगितामानेपालका अर्का खेलाडी सुरेन्द्रप्रसाद श्रेष्ठले गुआमकै खेलाडीलाई बराबरीमा रोकेका छन् ।

जितसँगै नेपालले पुरुषतर्फको खेलमा तीन दशमलव पाँच अङ्क जोडेको छ । सन् २०१२ मा इस्तानबुलमा भएको ४० औँ ओलम्पियाडमा पनि नेपालले गुआमलाई नै पराजित गरेको थियो ।

आजै भएको महिलातर्फको अर्को खेलमा नेपालकी सुरुचि थिङले जित हासिल गरेकी छिन् । उनले पाराग्वेकी मोन्तसेरात रोजासलाई पराजित गरेकी हुन् । सो जितसँगै नेपाली महिला टोलीले एक अङ्क जोडेको छ ।

बीना जैसवाल, सङ्गीता जैसवाल र अस्मिता अधिकारीले भने प्रतियोगितामा हार बेहोरे । तीनै जना पाराग्वेका खेलाडीसँग पराजित भएका हुन् । चेस ओलम्पियाडमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

आइतबार भएको पहिलो चरणको पुरुष स्पर्धामा नेपाल बोस्निया हर्जगोभिनासँग तथा महिला टोली टर्कीसँग पराजित भएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु