जर्मनी र ब्राजिल सेमीफाइनलमा

असार २१ । काठमाडौँ, विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

ब्राजिलको फार्तालेजामा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो ।

ब्राजिलको जितका लागि कप्तान थिएगो सिल्भा र डेविड लुइजले गोल गरे ।

कप्तान सिल्भाले खेल सुरुवाती सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । उनले नेयमारले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै बायाँ खुट्टाले प्रहार गरेको बलले सिधै जाली चुम्मेको थियो ।

यस्तै खेलको दोस्रो हाफमा ब्राजिलका अर्का खेलाडी लुइजले एक गोल थपे । उनले खेलको ६९ औँ मिनेटमा प्रहार गरेको सान्दार फ्रिकिक बलले सिधै जाली चुमेपछि ब्राजिलको जित सुनिश्चित भयो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल जारी प्रतियोगितामा १० गोल गरेको छ भने चार गोलमात्र खाएको छ ।

प्रिक्वाटरफाइनल खेलमा ब्राजिलले चिल्लीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइलन प्रवेश गरेको थियो ।

यस जितसँगै ब्राजिलका स्ट्राइकर नेयमारले ढाडमा चोटग्रस्त भएपछि आगामी सेमिफाइनलको खेल नखेल्ने भएका छन् । खेलको ८७ औँ मिनेटमा कोलम्बियाका खेलाडी क्विन्टेरोले मैदानमा लडाएपछि नेयमारलाई स्टेचरमा राखेर अस्पताल पु¥याएको थियो ।
खेल अवधिभर कोलम्बियाले खासै राम्रो प्रदर्शन गर्न सकेन । कोलम्बियाका खेलाडी जेम्स रेड्रिगेजले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । ब्राजिलका गोलकिपर जुलियो सिजरले फल गरेपछि कोलम्बियाले पाएको पेनाल्टीलाई रेड्रिगेलले खेलको ८० औँ मिनेटमा गोल फर्काएका थिए । उनी जारी विश्वकपमा हालसम्म सबैभन्दा धेरै गोल गर्दै गोल्डेनबुटको दाबेदार बनेका छन् । उनले प्रतियोगितामा छ गोल गरिसकेका छन् । विश्व फुटबल इतिहासमा लगातार पाँचवटा खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
कोलम्बियाले प्रिक्वाटरफाइनल खेलमा उरुग्वेलाई पन्छाउँदै विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरे पनि अघिल्लो चरण प्रवेशको सपना भने चक्नाचुर हुन पुग्यो ।
जारी प्रतियोगितामा नेयमारले चार गोल गरेका छन् । विश्व वरियतामा तेस्रो स्थानमा रहेको ब्राजिलले सेमिफाइनल भिडन्तमा जर्मनीको सामना गर्नेछ । सबै संस्करणको विश्वकपमा सहभागी ब्राजिल लगातार छैटौ पटक सेमिफाइनलमा पुगेको हो ।
लगातार छैटौपटकसम्म क्वाटरफाइनल खेलको ब्राजिलले यसअघि सन् २००६ र २०१० मा भएको क्वाटरफाइनल खेलमा क्रमश फ्रान्स र नेदरल्याण्डसँग मात्र पराजित भएको थियो ।
घरेलु मैदान र दर्शक साथ रहेको ब्राजिल छैटौ पटक उपाधि जित्ने होडमा छ । ब्राजिलले पछिल्लो समयमा खेलेको २५ खेलमध्ये गत अगष्टमा भएको स्विट्जरल्यान्डविरुद्वको खेलमा मात्र हार भोगेको थियो ।
यस्तै घरेलु मैदानमा भएको ४१ खेलमा अपराजित रहेको ब्राजिल सन् २००२ मा प्यारागुइनसँग मात्र हार भोगेको थियो ।
जर्मनी विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
ब्राजिलको रियो दि जेनेरियो मैदानमा गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
जर्मनीको जितका लागि म्याट्स हुमेल्सले खेलको १३ औँ मिनेट गरेको एक गोल नै निर्णायक गोल सावित भयो । जर्मनीका खेलाडी टोनी क्रुसको फ्रिकिकलाई सदुपयोग गर्दै हुमेल्सले हेड गोल गरे ।
जितसँगै जर्मनीले विश्पकप प्रतियोगितामा लगातार चार पटक सेमिफाइनलमा प्रवेश गर्दै नयाँ किर्तिमानसमेत कायम ग¥यो । जर्मनी सन् २००३ को विश्वकपमा उपविजेता बनेको थियो भने सन् २००६ र २०१० मा तेस्रो स्थान हासिल गरेको थियो । जर्मनीले हालसम्म तीनपटकको विश्वकपको उपाधि हासिल गरेको छ ।
सन् १९९० को विश्वकपमा उपाधि हासिल गरेयता जर्मनीले उपाधि जित्न सकेको छैन भने यो जितसँगै जर्मनी उपाधि जित्ने दाउमा छ ।
खेलको विभिन्न समयमा फ्रान्सले निकै सुनौला अवसर प्राप्त गरे पनि त्यसको सदुपयोग भने गर्न सकेन । खेलको पहिलो हाफ र दोस्रो हाफको अत्तिरिक्त समयमा फ्रान्सका करिम बेन्जीमाले प्रहार गरेको बललाई जर्मनीका गोलकिपरले विफल बनाइदिएपछि फ्रान्सको सेमिफाइनलमा प्रवेश गर्ने सपना चक्नाचुर बन्न पुग्यो ।
यसअघि फ्रान्सले सन् १९५८, १९८२, १९८५, १९९८ र २००६ मा सेमिफाइनल पुगेको थियो भने सन् १९९८ मा भने विश्वकपको उपाधि हासिल गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु